close

टिकटकले उत्पन्न वर्ल्डलिङ्कको इन्टरनेट स्पीडको समस्या सल्टियो

टेकपाना टेकपाना

भदौ १९, २०७७ ९:१९

टिकटकले उत्पन्न वर्ल्डलिङ्कको इन्टरनेट स्पीडको समस्या सल्टियो

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदाय कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडको इन्टरनेट स्पीडको समस्या समाधान भएको छ । टिकटकका कारण केही सातादेखि उपत्पन्न समस्या केही दिनको प्रयास पछि समाधान भएको हो ।

कम्पनीले टिकटक र अकामाईसँगको सहकार्यमा ब्याण्डविथ सम्बन्धी समस्यया समाधान गरिएको जनाएको छ । टिकटकले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै एचटीटीपी प्रोटोकल परिवर्तन गर्दै एचटीटीपीएसमा सिफ्ट गरेको थियो ।

जसले गर्दा अकामाईको लोकल सर्भरमा क्यास बस्न नसक्ने अवस्था उत्पन्न भएपछि नेपालको समग्र इन्टरनेट स्पीड नै बिग्रेको थियो । टिकटकले कूल अन्तर्राष्ट्रिय ब्याण्डविथको २५ प्रतिशतभन्दा बढि ब्याण्डविथ खपत गरिदिँदा सेवाप्रदायकहरुको टाउको दुखेको थियो ।

खास गरी इन्टरनेट प्रयोगकर्ताले पिक आवरमा इन्टरनेट स्पीडको समस्या झेल्दै आएका थिए । आफ्नो टिमले लगातारको प्रयासपछि सफलतापूर्वक सर्भर इम्पोर्ट गरेको र १०० भन्दा बढी सर्भर फार्म गरिएको वर्ल्डलिङ्कले जनाएको छ ।

‘यो नयाँ बनाइएको क्यास नोडले ३३५ जीबीपीएस ट्राफिकलाई सर्भ गर्न सक्नेछ,’ कम्पनीले भनेको छ, ‘यसबाट हाम्रा प्रयोगकर्ताले झेल्दै आएको इन्टरनेट स्पीडको समस्यालाई समाधान गर्नेछ ।’

हाल कम्पनीले टिकटकका लागि ७० जीबीपीएस इन्टरनेट खपत भइरहेको जनाएको छ, जुन उसको कुल इन्टरनेट ट्राफिकको छ प्रतिशत जति हो । वर्ल्डलिङ्कले टिकटकका कारण उत्पन्न इन्टरनेट स्पीडको समस्याबाट भएको असहजता प्रति आफ्ना प्रयोगकर्तासँ क्षमायाचना समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०