close

काठमाडौंले नपत्याएको एप, मोफसलमा यसरी दिँदै छ आपतकालीन सेवा

युजु खालिङ युजु खालिङ

भदौ २८, २०७७ १८:४३

काठमाडौंले नपत्याएको एप, मोफसलमा यसरी दिँदै छ आपतकालीन सेवा

काठमाडौं । समाजमा विभिन्न किसिमका दुर्घटना, हिंसा, प्राकृतिक प्रकोप जस्ता कारणबाट अनाहकमा मानिसहरुले ज्यान गुमाइरहेका छन् । कसैकाे अस्मिता लुटिएकाे छ, कति अंगभंग भएका छन् । अनि कतिको घरबार नै उठिबास लागेको छ ।

तर घटनाले दुःखद मोड लिँदासम्म प्रशासन मौन बसिदिन्छ । अर्कोतर्फ पीडित न्याय र राहतका लागि भौतिरहन्छन् । त्यसपछिका कथा अझ दु:खदायी लाग्न सक्छ । वास्तवमा कुनै अप्रिय घटना हुनुअघि नै सही सूचना सम्बन्धित निकायले पाए सबै कुरा ठीकठाक नै हुन्थ्याे कि ?

वास्तवमा सूचना निकै संवेदनशील कुरा हो । सही समयमा सम्बन्धित निकायले सूचना पायाे भने कसैले जीवन दान पाउन सक्छन् । कसैको अस्मिता बचाउन सकिन्छ । तर दुर्भाग्य यो सूचनालाई समयमा सही ठाउँमा पुर्‍याउने हामीसँग त्यस्ताे उपकरण के हाेला र ?

भाग्यलाई मात्रै दाेष दिएर पनि त भएन । हाम्रै देशका युवाले यस्ता उपकरण बनाइरहन्छन्, तर सरकारी निकाय र उच्च ओहोदामा बसेकाहरु यस्ता आविष्कारलाई फक्रिनै दिँदैनन् ।

प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेका सुमन पौडेलले सूचना प्रचारको एउटा छिटो र भरपर्दो प्रणाली स्मार्ट सिटिजन सिस्टम ल्याए । अनि काठमाडाैंका सरकारी कार्यालय धाए, प्रहरी प्रशासनमा देखाउन गए । सबैले प्रविधि मन पराए तर प्रयाेग गर्न हिच्किचाए ।

लकडाउन हुनु दुई महिनाअघि सुमनले यो एप सार्वजनिक गरे । काठमाडाैंले नपत्याए के भाे त ? उनकाे एप अहिले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका र त्यहाँका जनताले प्रयोग गरिरहेका छन् । 

स्मार्ट सिटिजन एप आपतकालीन अवस्थाको लागि प्रयोग गरिने एप्लिकेसन भएको सुमन बताउँछन् । यो एप्लिकेसन ‘सफ्टवेयर प्लस हार्डवेयर’ सिस्टम हो । 

घोडाघोडी नगरपालिकाका तीन हजार नागरिकहरुले स्मार्ट सिटिजन एप प्रयोग गरिरहेका छन् ।

नगरपालिका भित्रका जनताले यो एप्लिकेसनलाई डाउनलाेड गर्न सक्छन् । साइनअप गर्नुअघि नगरपालिकाको बासिन्दा हो भनेर प्रमाणित हुने दस्तावेज जस्तै नागरिकता, प्यान, सवारी चालक प्रमाणपत्र तथा नगरवासीको परिचय सिस्टमभित्र सब्मिट गर्नुपर्छ ।

त्यसलाई नगरपालिकाले प्रमाणित गरिसकेपछि नागरिकले एपमा साइनअप गरेर सिस्टम प्रयोग गर्न पाउँछन् । त्यो सबै प्रक्रिया सब्मिट भइसकेपछि सिस्टम एक्टिभेट हुन्छ ।

सिस्टमभित्र प्रहरी, बारुद नियन्त्रक दमकल, एम्बुलेन्स गरी तीन अप्सन छन् । त्यसभित्र रहेको ग्याम्बलिङ अप्सन भने अहिलेलाई हाइड गरिएको छ । 

‘कुनै व्यक्ति दूर्घटनामा पर्‍यो, महिलालाई दुर्व्यवहार भयो वा कुनै नराम्रो घटना भयाे भने अटोमेटिकल्ली एप्लिकेसन थिचेपछि जीपीएस अन भएर नगरपालिकामा राखिएको हार्डवेयर सिस्टममा प्रयोगकर्ताको नम्बर, नाम र एक्ज्याक्ट लोकेसन सहित ट्रयाक भएर नोटिफिकेसन आउँछ,’ सुमन भन्छन् ।

उनले अगाडि थपे, ‘नगरपालिकामा जति पनि प्रहरी प्रशासन छन्, सबैमा डिस्प्ले सिस्टम राखिएको छ । त्यसमा अलार्म आउँछ र ड्युटीमा खटिएका प्रहरीलाई पनि लोकेसन सहित म्यासेज आउँछ र सजिलै ट्रयाक गर्न सकिन्छ ।’

स्मार्ट सिटिजन एप अफलाइन र अनलाइन दुवै मोडमा चल्छ । नेट नभएको अवस्थामा पनि एपको सर्भरबाट दश सेकेण्डै अप्ठ्यारो परेको ठाउँको जीपीएस सहित एसएमएस जाने उनी बताउँछन् ।

विभिन्न संस्था, बैंक तथा पसलहरुमा पनि हार्डवेयर इन्स्टल गर्न सकिन्छ । आपतकालीन वा अप्ठ्यारो परेको अवस्थामा त्यो हार्डवेयरमा रहेको ट्रबल स्वीचलाई क्लिक गर्‍यो भने सिधै नोटिफिकेसन प्रहरीकहाँ पुग्ने उनले बताए । 

‘आगलागी भयो भने फायर अलार्म र नोटिफिकेसन बारुद नियन्त्रक र नगरपलिकामा पुग्छ,’ उनले भने, ‘बारुद नियन्त्रक ड्युटीमा बसेका कर्मचारीहरुको मोबाइलमा एउटा एसएमएस एपीआई इन्टरफेस हुन्छ त्यसले गर्दा नोटिफिकेसन पुग्छ,’ उनले सुनाए । 

उनी भन्छन्, ‘हाम्रो सानो मोबाइल सिस्टम पनि छ, जुन प्रहरीको भ्यान, बारुद नियन्त्रक गाडी र एम्बुलेन्समा इन्स्टल हुन्छ । यसले चाहिँ घटनास्थल ट्रयाक गर्न सहयोग गर्दछ ।’ 

सफ्टवेयर मात्र छ भने त्यसले मेनुअल तरिकाबाट नोटिफिकेसन दिन्छ, तर हार्डवेयरले अटोमेटिक नोटिफिकेसन दिने उनले सुनाए । 

प्रारम्भिक चरणमा आन्तरिक व्यवस्थापन धेरै झन्झटिलो भएको उनले सुनाए ।

‘समन्वय गर्न गार्हाे थियो । अस्पतालहरुसँग समन्वय गर्नुपर्ने थियो । एम्बुलेन्स चाहियो भने अलर्ट अस्पताललाई दिने कि नगरपालिकाको एम्बुलेन्सलाई दिने हो त्यो दुविधा थियो,’ उनले भने, ‘लोकल ठाउँमा सरकारी अस्पताल थिएन । दुई/चारवटा एम्बुलेन्स थिए । कसलाई अलर्ट दिने भनेर आन्तरिक व्यवस्थापन गर्न निकै गाह्रो भयाे ।’

तर अहिले ती समस्याहरु समाधान भइसकेको र एपको राम्रोसँग प्रयोग भइरहेको उनले बताए । 

देशमा डिजिटल नेपाल र स्मार्ट सिटी अवधारणाले प्रमुखता पाइरहेको बेला सुमनले स्मार्ट सिटिजन एप बजारमा ल्याए । तर स्मार्ट सिटीको नारा बोकेको काठमाडौं महानगरपालिकाले नै यस्तो अवधारणामा बनेको प्रविधिलाई कदर नगरेको दु:खद अनुभव उनले टेकपानालाई सुनाए । 

कैलालीको घोडाघोडीमा एपलाई सार्वजनिक गर्नुअघि काठमाडौं उपत्यकामा आफ्नो सेवालाई प्रयोग गर्ने प्रयास उनले नगरेका होइनन् । उनको एप अन्य एप जस्तो सिधै प्रयाेगर्कतासँग मात्र जोडिएको थिएन । याे त प्रशासन, स्थानीय तह र नियामकसँग् जाेडिएकाे थियाे ।

सरकारी निकायको संलग्नताबिना एप अधुरो रहने हुँदा‍ उनले एपको डेमो काठमाडौं महानगरपालिका र शहरी योजना विभाग दुवैमा देखाए । दुई/चार पटक सकरात्मक कुरा पनि भयो कुरा गर्न पनि बोलाइयो । तर अन्तत: २५ वर्षीय युवाको नवीन सोचलाई यत्तिकै तुहाउन खाेजियाे । 

उनले काठमाडौं, भक्तपुर र ललितपुर वृत्तका प्रमुखसँग पनि कुरा गरे । प्रहरी वृतमा इन्स्टल गरी यसलाई प्रयोग गरौं भनेर प्रस्ताव राखे । सिस्टम राम्रो लाग्यो भन्ने प्रतिक्रिया बाहेक अरू एक्सन सुमनले सुन्न पाएनन् । 

महानगरले आफ्नो सोचलाई बेवास्ता गरे पछि उनले मोफसलमा आफ्नै क्षेत्रतिर लगेर प्रयोग गर्ने सोच बनाए । उनसको सोचलाई कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाले साथ दियो ।

‘घोडाघोडीपछि अब हामीले यसलाई विराटनगरमा लाने योजना बनाएका छौं । त्यहाँ स्मार्ट सिटीका लागि एडीबीको प्रोजेक्ट पनि आएको रहेछ । त्यसपछि धनगढीमा एडीबीको यस्तै प्रोजेक्ट परेको हुनाले यी दुई ठाउँमा याे सिस्टम लग्ने योजना छ,’ सुमनले सुनाए ।  

थोरै जनसंख्या भएको ठाउँमा स्मार्ट सिटिजन एपले सकारात्मक प्रभाव पारिरहेकाे छ । यसलाई ठूलो जनघनत्व भएको ठाउँसम्म विस्तार गरेर शान्ति सुरक्षाको क्षेत्रमा योगदान दिने सुमनको सपना छ । 

सुमन अहिले २५ वर्षका भए । केही समय उनले  नास्टको रिसर्चरका रुपमा पनि काम गरिसकेका छन् । उनी राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७६ बाट पनि पुरस्कृत भइसकेका छन् । उनले ड्राइभर निदाए ब्रेक लाग्ने गाडी बनाएर २०७० सालमा सुदुरपश्चिममा परीक्षण गरेका थिए ।

काइचो टेक्नोलोजीका संस्थापक तथा अध्यक्ष सुमन पाैडेल

आफू र आफू जस्तै साथीहरुको साझा फोरम अर्थात् प्रविधिको क्षेत्रमा अनुसन्धान-अध्ययन गर्ने एक समूह छ, जसकाे नाम हाे काइचो ग्रुप । यस समूहले बनाएका प्रविधिको बजारीकरण तथा बिक्री गर्ने अर्को सँगैको फोरम काइचो टेक्नोलोजी पनि छ ।

सुमन काइचो टेक्नोलोजीकै संस्थापक तथा अध्यक्ष हुन् । स्मार्ट सिटिजन एप पनि काइचोकै प्रोडक्ट भएको उनले सुनाए ।  

सुमनले नगरपालिकाको हार्डवेयर रिक्वायरमेन्ट अनुसार वान टाइम इन्स्टलेसनको पेमेन्ट लिएर त्यसपछि वार्षिक रुपमा थाेरै शुल्क लिएर काम गरिरहेको बताए ।

‘एउटा नगरपालिकामा पाँचवटा प्रहरी कार्यलय छ भने प्रत्येक प्रहरी कार्यलयमा राडर जस्तै डिस्प्ले सिस्टम नै हुन्छ । प्रत्येक पुलिसलाई त्यस प्रकारको डिस्प्ले युनिट राख्ने भए त्यसको छुट्टै पैसा लाग्छ । मोबाइलमा मात्र राख्ने बनाउने हो कि त्यसको छुट्टै चार्ज हुन्छ,’ सुमन भन्छन् ।  

स्मार्ट सिटिजन एपको अवधारणा नेपालमै पहिलो भएको सुमनको दाबी छ । 

‘अलर्ट सिस्टम त महिलाको लागि नेपाल प्रहरीको पनि छ । त्यसमा सफ्टवेयर लेयर मात्र छ । कन्ट्रोल रुमाम कम्प्युटर खोलिन्छ । प्रयोग गर्न नेट चाहिन्छ । त्यसको लागि जीपीएस अन पनि गर्नुपर्छ ।

तर अहिले हामीले बनाएको नेपालको लागि एकदमै नयाँ हो । यसमा अफलाइन सिस्टम पनि छ, एमएमएस गेटवे पनि छ, ट्रयाकिङ सिस्टम, भेनमा पनि इन्स्टल गर्ने उपकरण छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘वान टाइम कस्टिङ खर्च हो । व्यवस्थापन र विकास सबै काम गरिसक्यौं । प्रविधिको युग छ । तर कम्युनिकेसन नभएर मात्र मान्छे मरिरहेका छन् । हाम्रो उद्देश्य भनेको कुनै पनि नराम्रो घटना भयो भने त्यसको सूचना छिट्टो पुगोस्, त्यो पनि घटना स्थलको सूचनासँगै ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०