close

नविल बैंकका ग्राहकले अब एटीएमबाटै डेविट, क्रेडिट र प्रिपेड कार्डको नयाँ पिन सेट गर्न सक्ने

टेकपाना टेकपाना

असोज ९, २०७७ ११:२४

नविल बैंकका ग्राहकले अब एटीएमबाटै डेविट, क्रेडिट र प्रिपेड कार्डको नयाँ पिन सेट गर्न सक्ने

काठमाडाैं । नविल बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न ‘नविल ग्रिन पिन’ सेवा ल्याएकाे छ ।

बैंकले याे सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहकलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ।

‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । ग्राहकले नजिकैको नविल बैंकको एटीएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नविल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर ‘ग्रिन ओपीटी फर पिन’ मेनु छान्नु पर्नेछ।

त्यसपछि ग्राहकहरुले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ‘ओपिटी’ प्राप्त हुनेछ। त्यस पश्चात ग्राहकहरुले ‘इन्टर ओपिटी टु चेन्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ‘ओपीटी’ राखेर पिन सेट अथवा रिसेट गर्न सकिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ।

देशको पहिलाे डिजिटल बैंक बन्ने उद्देश्यले हालै नविल बैंकले नविल डिजी बैंकको स्थापना गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०