close

राष्ट्र बैंकको तथ्याङ्कमा समेटियो ईकमर्सको कारोबार, पहिलो महिनामै १ अर्ब २० करोडको व्यापार

टेकपाना टेकपाना

असोज १०, २०७७ ८:११

राष्ट्र बैंकको तथ्याङ्कमा समेटियो ईकमर्सको कारोबार, पहिलो महिनामै १ अर्ब २० करोडको व्यापार

काठमाडौं । गएको साउनमा ईकमर्स मार्फत नेपालमा कुल एक अर्ब २० करोड १० लाख रुपैयाँको कारबार भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा पहिलो पटक ईकमर्सको कारोबार समेटिएको हो । 

साउन महिनादेखि नै प्रतिवेदनमा क्यूआरमार्फत हुने कारोबार, पीओएसमार्फत हुने कारोबार र पीओएसबाट हुने कारोबार पहिलो पटक समेटिएको छ । जसअनुसार गएको साउनमा १ लाख ९५ हजार १६ पटकमा गरी कुल ५८ करोड ९० लाख रुपैयाँको विद्युतीय भुक्तानी क्यूआरमार्फत भएको छ ।

त्यस्तै सोही अवधिमा पाँच लाख ३२ हजार ९११ पटक भएको पीओएस मसिनको प्रयोगमार्फत एक अर्ब ८५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । 

राष्ट्र बैंकले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख रुपमा बढेको जनाएको छ ।

तर तथ्याङ्कमा भने डेबिट तथा क्रेडिट कार्ड र प्रिपेड कार्ड बाहेकका अन्य विद्युतीय भुक्तानीका माध्यमको प्रयोग र कारोबार दुवै घटेको देखिएको छ ।

गएको असारमा ३३ लाख ५५४ पटक डेबिट कार्ड प्रयोग भएकोमा साउनमा बढेर त्यस्तो कारोबार संख्या ५४ लाख २६ हजार ३६८ पुगेको छ । कारोबार संख्या बढेसँगै यसमार्फत हुने कारोबार समेत उल्लेख रुपमा बढेको छ ।

जसअनुसार असारमा २५ अर्ब ८९ लाख ४० हजार रुपैयाँको कारोबार भएकोमा साउनमा डेबिट कार्डमार्फत ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै क्रेडिट कार्डको कारोबार समेत यस अवधिमा बढेको छ ।

श्रोतः नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका अनुसार असारमा ५८ करोड ४० लाख रुपैयाँ रहेकोमा साउनमा क्रेडिट कार्डमार्फत ७० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । प्रिपेड कार्डमार्फत हुने भुक्तानी समेत यस अवधिमा तीन करोड ६० लाख बाट बढेर पाँच करोड ७० लाख रुपैयाँ पुगेको छ । 

तर यस अवधिमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट लगायतका विद्युतीय भुक्तानीमार्फत हुने कारोबारमा भारी मात्राले गिरावट आएको छ । तथ्याङ्क अनुसार असारमा १० अर्ब २२ करोड २० लाख रुपैयाँको कारोबार भएकोमा साउनमा घटेर सात अर्ब ५७ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ ।

त्यस्तै मोबाइल बैंकिङमार्फत हुने कारोबार समेत यस अवधिमा घटेको छ । असारमा यसमार्फत १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा साउनमा घटेर १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार मात्रै भएको छ ।

विद्युतीय भुक्तानीतर्फ कनेक्ट आईपीएसमार्फत हुने कारोबारमा समेत गिरावट देखिएको छ । राष्ट्र बैंकका अनुसार असारमा ५१ अर्ब ३० लाख ६० हजार रुपैयाँको कारोबार भएकोमा साउनमा कनेक्ट आईपीएसको कारोबार घटेर ४७ अर्ब ३६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०