close

सावधान ! हानिकारक हुनसक्छ स्मार्टफोनको डार्क मोड

टेकपाना टेकपाना

असोज १०, २०७७ २२:४७

सावधान ! हानिकारक हुनसक्छ स्मार्टफोनको डार्क मोड

काठमाडौं । अचेलका स्मार्टफोनका साथै एप तथा ब्राउजरहरुमा डार्कमोड निकै चल्तिको ट्रेण्ड बनेको छ । ह्वाट्सएप, फेसबुक, म्यासेञ्जर, ट्वीटर जस्ता विश्वप्रशिद्ध एपमात्र होइन, ईसेवा, हाम्रो पात्रो जस्ता स्थानीय एपहरुमा समेत डार्क मोड आएको छ ।

यति मात्र होइन, एन्ड्रोइड टेनमा गुगलले समेत सिस्टम वाइड डार्क मोडको अप्सन समेत उपलब्ध गराएको छ । डार्क मोड हेर्दा त राम्रो देखिन्छ ।

स्मार्टफोन तथा ल्यापटपमा डार्क मोड प्रयोगको वैज्ञानिक आधार आँखाको सहजताका लागि भन्दा पनि ऊर्जा खपत कम गर्नु हो ।

तर स्मार्टफोन निर्माता कम्पनीहरुले डार्क मोडले भिजिबिलिटी बढाउने, आँखाको दबाब घटाउने र कम प्रकाश भएको स्थानमा डिभाइसको प्रयोग सहज बनाउने दाबी गर्दै आएका छन् । तर सधैं र सबैका लागि यो दाबी उपयोगी हुन्छ भन्ने छैन ।

धेरै जसो मानिसहरुले डिम लाइट भएको अवस्थामा डार्क मोडले थप सहजता दिलाएको महसुस गरिरहेका हुन्छन् । यसको अर्थ डार्क मोड जुनसुकै समयमा उपयोगी ठहरिन्छ भन्ने पनि हुँदैन ।

प्राकृतिक रुपमा मानिसको आँखाले रातमाभन्दा दिनको उज्यालोमा राम्रोसँग देख्न सक्छ । हाम्रो विकास नै उज्यालो प्रकाशमा अँध्यारो हेर्दै भएको हो । चाहे त्यो दिनको उज्यालोमा हाम्रो वरिपरी रहेको प्राकृतिक वातावरण होस् वा कागजमा लेखिएको अक्षर ।

त्यसैले हाम्रो मौलिकता र राम्रो कन्ट्रास्टको लागि उज्यालोमा अँध्यारो हेर्नु नै अन्य तौरतरिकाभन्दा उत्तम हो । त्यसैले स्पष्ट हेराइको हिसाबले सबैका लागि (विशेषगरी अक्षरका लागि) अँधारो पृष्ठभूमीमा उज्यालो सबैका लागि राम्रो हुन्छ भन्ने कुनै आधार छैन ।

अमेरिकी अप्टोमेट्रिक एसोसियसनका अनुसार अस्टिग्माटिज्म नामक रोग धेरैमा देखिन थालेको छ । शेफर आई सेन्टरले यस किसिमको बिमारी करिब ३० प्रतिशत मानिसमा बिभिन्न स्तरमा हुने उल्लेख गरेको छ ।

अस्टिग्माटिज्मको स्थिति पैदा हुनु भनेको दृष्टी अर्थात हेराई धमिलो हुनु हो । जुन एउटा वा दुवै आँखाको आकार अनियमित हुँदा यस किसिमको समस्या निम्तिने गर्दछ ।

Astigmatism graphic showing difference between normal and astigmatic eye

जसले अँधारो पृष्ठभूमीमा (डार्क मोडमा) चहकिलो अक्षर पढ्न कठिन बनाउँछ । सन् २०१४ मा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया स्थित सेन्सरी प्रसेप्सन एन्ड इन्टरएक्सन रिसर्च ग्रुपले गिजमोडोमा छापेको लेखमा समेत यो विषय उल्लेख छ ।

जसमा भनिएको छ, ‘अस्टिग्माटिज्म भएका मानिसहरु (जनसंख्याको करिब ५० प्रतिशत) मा सेतो पृष्ठभूमीको तुलनामा कालो पृष्ठभूमिमा सेता अक्षर पढ्न गाह्रो महसुस गर्नेगरेको पाइएको छ ।

यो प्रकाशको स्तरले पैदा गरेको समस्या हो । चहकिलो डिस्प्ले (सेतो पृष्ठभूमी) मा आइरिस केही बढी मात्रामा बन्द हुने गर्दछ र ‘डिफोर्म’ लेन्सको असरलाई कम गर्दछ । डार्क डिस्प्ले (कालो पृष्ठभूमी) मा आइरिस धेरै प्रकाश ग्रहण गर्नका लागि बढी खुल्ने हुने गर्दछ र लेन्सको डेफोर्मेसनले आँखामा बढी धमिलोपन पैदा गर्दछ ।’

यसर्थ तपाईंमा पनि अस्टिग्माटिज्मको समस्या हुन सक्दछ, जुन तपाईंलाई थाहा नभएको पनि हुनसक्छ । यदि तपाईंले आँखा रोग विशेषज्ञकहाँ यसको जाँच गराउनु भयो भने यसको यकिन जानकारी थाहा हुनसक्छ ।

सेतो पृष्ठभूमीमा कालो अक्षर नै पढाइका लागि उपयुक्त हुन्छ । किन भने सेतो रंगले भिजिबल स्पेक्ट्रमका सबै वेभलेन्थलाई परावर्तन गरिदिन्छ । जसले गर्दा आइरिसलाई धेरै प्रकाश ग्रहण गर्न धेरै फराकिलो हुनुपर्ने आवश्यकता पर्दैन ।

जसै सेतो स्क्रिनमा हेर्दा आइरिसलाई फराकिलो हुनुपर्दैन, त्यसले पुपिललाई साँघुरो बनाइराख्छ र तपाईंलाई कुनै वस्तुमा केन्द्रीत हुन थोरै मात्र बल गरे पुग्छ । जब तपाईं सेतो पृष्ठभूमीमा कालो अक्षर देख्नुहुन्छ, त्यसमा तपाईं तत्कालै केन्द्रीत हुन सक्नुहुन्छ ।

तर डार्क मोडमा धेरै प्रकाश प्रवेश गराउन पुपिल बढी फराकिलो हुने गर्छ । यस्तोमा जब तपाईं कालो पृष्ठभूमीमा सेतो अक्षर देख्नुहुन्छ, त्यतिखेर पृष्ठभीमा त्यसको धार अर्थात छेउ मिसिएजस्तो भान हुन्छ ।

यसलाई ह्यालेसन इफेक्ट (प्रकाश आफ्नो सीमाभन्दा बाहिर गएको देखिने अवस्था) भनिन्छ । जसले पढाइको सहजतालाई कमजोर बनाउने गर्दछ । आँखा मांसपेसीले नै बनेको हुन्छ ।

जब तपाईं कुनै कुरा पढ्नका लागि जति एकाग्र बन्न खोज्नहुन्छ, त्यति नै खराब बन्दै जान्छ । त्यसैले यदि तपाईं डार्क मोडमा चहकिला अक्षर पढ्न सहज महसुस गर्नुहुन्न भने त्यसमा जबरजस्ती नगर्नुहोस् । किन भने यसले आँखालाई झन कमजोर बनाउँदै लैजाने गर्दछ ।

ब्राइट बर्न अर्थात चकमन्न स्थिति

पक्कै पनि तपाईं अँधारो कोठामा निदाउन सहज महसुस गर्नुहुन्छ । कसैले एक्कासी झ्यालको पर्दा खोलिदियो भने कोठामा सूर्यको प्रकाशको बाढी पस्छ । एक छिन तपाईंको आँखामा चकमन्न स्थिति पैदा हुने गर्छ ।

यस्तो अनुभव पक्कै पनि तपाईंले गरेकै हुनुपर्छ । यस्तो हुनुको कारण तपाईंको आइरिसले आवश्यकता अनुसार प्रकाशको मात्रालाई व्यवस्थापन गरिसकेको हुँदैन ।

यदि तपाईं केही लामो समयसम्म डार्क मोडमा कुनै चिज हेरिबस्नुहुन्छ (मानौं यस्तो समय केही महिना नै छ), तपाईंको आँखामा कम प्रकाशमा अभ्यस्त भइसकेको हुन्छ ।

यस्तो अवस्थामा जब तपाईं चहकिलो स्क्रिनमा हेर्नुहुन्छ, त्यसपछि तपाईंलाई असहज महसुस हुन थाल्छ । यदि तपाईंमा पनि यस किसिमको समस्या देखिन थालेको छ भने सेतो स्क्रिन प्रयोग गर्ने पुरानै बानीतिर फर्किनु उचित हुनेछ ।

यस्तोमा डार्क मोडको साटो स्क्रिनको ब्राइटनेस कम गरेर प्रयोग गर्नु सही विकल्प हुनेछ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०