close

पुसदेखि मोबाइल ब्यालेन्सबाटै सामान किन्न मिल्ने सेवा थाल्दै टेलिकम

टेकपाना टेकपाना

असोज १२, २०७७ १५:८

पुसदेखि मोबाइल ब्यालेन्सबाटै सामान किन्न मिल्ने सेवा थाल्दै टेलिकम

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आगामी पुसभित्र मोबाइलको ब्यालेन्स प्रयोग गरी सामान खरिदको भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याउने भएको छ ।

याे सिस्टमको लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार पुस महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कम्पनीले तयारी अघि बढाएको छ । जसअनुसार शुक्रबार ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ ।

यसअघि गएको साउन २० गते टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन असोज २ गतेसम्मको समय अवधि दिएर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो ।

जसमा भारतका तीन कम्पनी सिक्सडी, कमभिभा, वान नाइन्टी सेभेन, अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी र चिनियाँ कम्पनी सेन्जेन किङ्डम रहेको स्राेतले जानकारी दिएकाे छ । उनिहरुले आर्थिक प्रस्ताव खोलिएको शुक्रबार खाेलिएकाे हाे ।

अब यसैका आधारमा ती कम्पनीहरुले हालेको प्राविधिक प्रस्ताव खोलिने छ । प्राविधिक प्रस्तावको मूल्यांकनपछि ठेक्काको नतिजा सार्वजनिक हुनेछ । यसका लागि बढीमा १० दिन लाग्न सक्नेछ।

उक्त नतिजापछि कम्पनीसँग सम्झौता भएको मितिले ३ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी सम्झौता हुनेछ ।

यसअघि भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले दिएको अनुमति अनुसार पनि टेलिकमले माघको पहिलो हप्ताभित्र सेवा सञ्चालनमा ल्याइसक्नु पर्नेछ ।

राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।

त्यसअघि टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा कम्पनीको मोबाइल मनी सेवा सुरु गर्न अनुमति दिएको थियो ।

त्यसपश्चात नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच मोबाइलमा रहेको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा सुरु गर्ने र त्यसका लागि छुट्टै कम्पनी स्थापना गर्ने गरी सम्झौता भएको थियो ।

जस अनुसार डिजिटल पेमेन्ट कम्पनी लिमिटेड खडा भइसकेको छ । टेलिकमले यसअघि नै टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०