close

सरकारले फ्रिक्वेन्सी दिए देशभर निःशुल्क वाईफाई दिन तयार छौंः वर्ल्डलिङ्क

टेकपाना टेकपाना

असोज २२, २०७७ १५:३९

सरकारले फ्रिक्वेन्सी दिए देशभर निःशुल्क वाईफाई दिन तयार छौंः वर्ल्डलिङ्क

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने बताएको छ । एक्सप्रेस वाईफाईका लागि फेसबुकसँग भएको सहकार्यको विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार फ्रिक्वेन्सी उपलब्ध भएमा निःशुल्क इन्टरनेट हरेक डिभाइसमा दैनिक दुई घण्टासम्म निःशुल्क इन्टरनेट दिइनेछ । निम्न वर्गका प्रयोगकर्तासम्म पुग्ने कम्पनीको लक्ष्य अनुरुप नै आफूहरुले फ्री वाईफाई परियोजना सुरु गरेको अध्यक्ष अग्रवालको भनाई छ ।

‘हामीलाई भ्वाइस सेवामा कुनै चाँसो छैन,’ उनले भने, ‘फ्रिक्वेन्सी प्राप्त भएको खण्डमा त्यो नितान्त इन्टरनेट सेवामा प्रयोग गर्छौं ।’

त्यस्तै कम्पनीले आगामी तीन वर्षमा देशका ३० हजार स्थानमा फ्री वाईफाई सेवा विस्तार गर्ने घोषणा समेत गरेको छ । कम्पनीको वाईफाई परियोजनाका म्यानेजर पुनित मानन्धरले हाल १० हजार स्थानमा उपलब्ध भइरहेको कम्पनीको फ्री वाईफाई सेवा आगामी दिनमा थप विस्तार गरिने बताए ।

उनका अनुसार हाल फ्री वाईफाई उपलब्ध भइरहेका १० हजारमध्ये सात हजार ५०० स्थानमा फेसबुकको एक्सप्रेस वाईफाई उपलब्ध भइसकेको छ । वर्ल्डलिङ्कका प्रबन्ध निर्देशक तथा अध्यक्ष दीलिप अग्रवालले आगामी दिनमा समेत एक्सप्रेस वाईफाई निःशुल्क रुपमा उपलब्ध हुने जानकारी दिए ।

‘अहिले पनि यो सेवा निःशुल्क छ, भोलिको दिनमा पनि यसरी नै निःशुल्क हुन्छ,’ उनले भने, ‘निःशुल्कको अर्थ सीमित समयका लागि निःशुल्क हुने भन्ने हो । यो सेवा दिनभर चलाउन मिल्ने किसिमको सेवा भने होइन । दिनमा निश्चित सीमासम्म यसमा फ्री हुन्छ ।’ 

नियामकको निर्देशिका अनुरुप वाईफाई सेवा सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । वर्डलिङ्कले टाइम र भोलुमको आधारमा फ्री वाईफाई उपलब्ध गराउँदै आएको छ ।  कम्पनीका प्रमुख प्राविधिक अधिकृत समित जनले यो परियोजनाले नेपालमा डिजिटल डिभाइडलाई कम गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०