close

कृषि विकास बैंकबाट अब सोझै खल्तीमा पैसा लोड गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १६:३७

कृषि विकास बैंकबाट अब सोझै खल्तीमा पैसा लोड गर्न सकिने

काठमाडाैं । कृषि विकास बैंकले इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयाेग गर्ने ग्राहकलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।

बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने  र खल्तीका निर्देशक अमित अग्रवालले बैंककाे मुख्य कार्यालयमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

खल्तीसँगकाे सम्झाैतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् ।

खल्तीमा लाेड गरिएकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयाेग गर्न सक्नेछन् । 

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा कृषि विकास बैंकले गरेकाे छ ।  ग्राहकहरूले डिजिटल डिजिटल बैंकिङमा अझ धेरै सुविधा पाउने बैंकले जनाएकाे छ।

सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्।

कृषि विकास बैंकका ग्राहकले ई-बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् । खल्ती सन् २०१७ जनवरीमा सुरू भएकाे मोबाइल भुक्तानी सेवा प्रदायक हाे ।

यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवा, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानकाे टिकट बुकिङ, चलचित्र टिकट बुकिङ, विभिन्न कार्यक्रमकाे टिकट बुकिङ, होटल बुकिङ, अखबारकाे ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेकाे बिल तिर्न सकिन्छ ।

खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हाे । खल्तीका अनुसार यसकाे वालेट प्रयाेग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३