close

नेपालमा बढ्दै छ ओपन सोर्स संस्कृति

युजु खालिङ युजु खालिङ

कात्तिक १५, २०७७ १५:४०

नेपालमा बढ्दै छ ओपन सोर्स संस्कृति

काठमाडौं । डिजिटल युगमा सबै संघसंस्थाहरु डिजिटाइज भइरहेका छन् । चाहे त्यो कुनै सरकारी निकाय होस् वा निजी संस्था । टेक कम्पनी होस् वा गैरटेक कम्पनी । कार्य सम्पादन तथा सेवा प्रवाहका लागि यी सबै कम्पनीहरुले कुनै न कुनै किसिमका सफ्टवेयर तथा प्राविधिक टुलहरु प्रयोग गरिरहेका हुन्छन् । 

सफ्टवेयरको खरिद तथा सब्सक्रिप्सनका लागि वर्षेनी लाखौं डलर लगानी भइरहेकाे छ । कतिपय सफ्टवेयर नि:शुल्क पनि उपलब्ध हुन्छन् । कतिपयलाई पैसा तिरेर सब्सक्रिप्सन गर्नुपर्छ । तपाईंले प्रयोग गरिरहनु भएको नि:शुल्क वा सशुल्क सफ्वेयरको सुरक्षा प्रत्याभूति के हो त ?

१९९० को दशकमा विण्डोज एकल सशुल्क अपरेटिङ सिस्टमको रुपमा रहेको बेला सफ्टवेयर इन्जिनियिर लिनक्स टोरभल्ड्स र विश्वविद्यालयका एक विद्यार्थीले लिनक्स अपरेटिङ सिस्टम बनाए ।

पछि त्यो सफ्टवेयरलाई विश्वभर नि:शुल्क वितरण गरेपछि ओपन सोर्स सफ्टवेयरको संस्कृति विकास भयो । अहिले ओपन सोर्स यति तीव्र गतिमा विकास भइरहेको छ । यसले आफ्नो प्रभावलाई पनि वृहत्तर बनाउँदै लगिरहेको छ । 

तथ्याङ्क विश्लेषण तथा सेवाको क्षेत्रमा काम गर्दै आइरहेको न्युमेरिक माइन्ड्सले आफ्नो कार्य सम्पादनका लागि अधिकांश ओपन सोर्स टुल नै प्रयोग गर्दछ । कम्पनीले आफ्नो ओपन सोर्स स्टाटिस्टिकल डेटा साइन्स प्रोग्रामिङ ल्याङ्ग्वेज ‘आर’ प्रयोग गर्ने गरेको डेटा वैज्ञानिक बिनोदजंङ्ग बोगटी बताउँछन् । 

यसैगरी टेकक्राफ्ट कम्पनीमा मल्टिप्लग प्लेटफर्म एरोबेस र अजुरमा काम गरिरहेका अजु तामाङ नेपाली ओपन सोर्स कम्युनिटीका एक सक्रिय सदस्य हुन् । उनी पनि आफ्नो कम्पनीले ओपन सोर्स सफ्टवेयर तथा टुल प्रयोग गरेर काम गर्ने गरेकाे बताउँछन् । साथै ओपन सोर्स सम्बन्धी अजुले विभिन्न ब्लग पनि लेख्दै आइरहेका छन् ।  

ओपन सोर्सको कुरा गरिरहँदा तपाईंको मनमा यसलाई लिएर धेरै किसिमका प्रश्नहरु उठ्न सक्छन् । ओपन सोर्स र ओपन सोर्स सफ्टवेयर के हो ?

ओपन सोर्सलाई बुझ्न सबैभन्दा पहिले तपाईंले सफ्टवेयर डेभलपमेन्टको प्रक्रियालाई बुझ्नु पर्दछ । तपाईं हामीले प्रयोग गर्ने सफ्टवेयरहरुलाई बनाउन डेभलपरहरुले कोड प्रयोग गर्दछन्, जसलाई कुनै पनि निश्चित प्रोग्रामिङ ल्याङ्ग्वेजमा लेखिएको हुन्छ । 

यदि डेभलपर वा सो कोड प्रोजेक्टको स्वामित्वकर्ता कम्पनीले कोडलाई खुला गरिदिने हो, त्यसको लाइसेन्स खुला रुपमा राखिदिने हो भने त्यसलाई कोड ओपन सोर्स गरिएको बुझ्नु पर्दछ ।

त्यसरी खुला रुपमा राखिएका कोडहरुलाई विश्वभरका जुनसुकै डेभलपर, प्रोग्रामर, सफ्टवेयर इन्जिनियर तथा यस क्षेत्रमा रुची राख्ने बिगिनर्सहरुले एक्सेस गर्न सक्छन् ।

उनीहरुले त्यो कोडलाई तलमाथि गरेर, त्यसमा सम्पादन गरेर त्यसैबाट छुट्टै सफ्टवेयर बनाउन सक्छन् । उदाहरणका लागि तपाईंले प्रयोग गर्ने क्रोम ब्राउजर पनि ओपन सोर्स क्रोमियम ब्राउजरबाट बनाइएको हो । 

यसैगरी माइक्रोसफ्ट एज र ओपेरा पनि क्रोमियम ब्राउजरबाटै बनेको ब्राउजरहरु हुन् । आफ्नो अभिभावक क्रोमियम ब्राउजर ओपन सोर्स भएपनि यी अन्य ब्राउजर भने ओपन सोर्स होइनन् । यी निशुल्क प्रयोग गर्न  सकिन्छ। तर यिनीहरुको कोड खुला उपलब्ध छैन । 

ओपन सोर्स एउटा आधार हो । त्यसको कोडलाई प्रयोग गरेर नयाँ सफ्टवेयर बनाउन सकिन्छ । त्यसरी बन्ने नयाँ सफ्टवेयरलाई समेत ओपन सोर्स गर्न सकिन्छ । तर कतिपय कम्पनीहरुले निजी प्रयोगका लागि कोड गोप्य राख्ने गर्छन् । 

यदि कम्पनीले निजी प्रयोजनका लागि प्रडक्ट वा प्रोजेक्टलाई ओपन सोर्स नगरी गोप्य राख्यो भने त्यसलाई कम्पनीभित्रका डेभलपर वा होस्ट कम्पनीले मात्र सम्पादन तथा अद्यावधिक गर्न सक्छ । तर त्यसलाई ओपन सोर्स गर्ने हो भने यसभित्रको कोड हरेकले देख्न सक्छन् ।

विश्वभरका सफ्टवेयर इन्जिनियर, डेभलपर तथा प्रोग्रामरहरुले यसमा एक्सेस पाउन सक्छन् । यो पारदर्शी बनिदिन्छ । यो ठीक छ वा छैन, जोकसैले यसमा प्रतिक्रिया दिन सक्छन् । जिकज्याग लेखिएका कोडलाई सच्याउन सक्छन् ।

उपयुक्त कोडिङ थपघट गरी यसलाई सम्पादन गरेर यसलाई अझ राम्रो बनाउन तथा सुधार गर्न सक्छन् । जब एउटा सफ्टवेयरमा हजारौं मानिसहरुले दिमाग खियाउँछन्, तब त्यो ओपन सोर्स प्रडक्ट सुध्रिन्छ ।

त्यसमा कुनै सुरक्षा कमजोरी वा बग फेला परे भने त्यसको पनि तत्क्षण् सम्बोधन हुन सक्छ वा रिपोर्ट सब्मिट हुन सक्छ । यिनै कारण आजभोली धेरै कम्पनीहरुको आकर्षण ओपन सोर्सतिर बढिरहेको बिनोद बताउँछन् । 

‘मैले गिटहबमा कुनै प्रोजेक्ट ओपन सोर्स गरेर राखेको छु भने जोकसैले आएर मेरो प्रोजेक्ट हेरेर यो ठाँउमा इरर छ । यो फिचर म थप्न चाहान्छु भनेर थपघट गर्न सक्छन्’ बिनोद भन्छन् ।

उनले अगाडि भने, ‘एन्ड्रोइडमा हुने अपडेटहरु पनि यस्तै किसिमका योगदान, सुझाव र फिडब्याककै कारणले भएको हो । दशौं हजार मानिसहरुले ओपन सोर्समा भोल्युनटियर गरिरहेका हुन्छन् ।

उनले अगाडि भने, ‘तर पेड सफ्टवेयरमा भने सिमित मानिसहरुले काम गर्छन् । यसैकारणले ठूला टेक कम्पनीहरुले ओपन सोर्समै काम गरिरहेका हुन्छन्, ताकि आफ्नो प्रोजेक्टलाई अझ राम्रो बनाउन सकियोस् ।’

गिटहब पनि एउटा ओपन सोर्स प्लेटफर्म हो । एउटा टेक्स्ट शेयर भएको छ र त्यसमा एकैपटक चार पाँच जनाले सम्पादन गर्दैछन् भने त्यसमा समस्या आई दिन्छ । कुनै कोडलाई हामीले काम गर्दा डिजिट गर्यौं तर त्यो भोलि चाहियो भने त्यसलाई फेरि रिकभर गर्न पर्छ । हरेक डेभलपरले तयार गरेको कोडलाई मर्ज गर्न पर्दछ । 

ओपन सोर्सको यही समस्यालाई समाधान गर्न लिनक्स टोरभल्ड्सले नै २००० को दशकमा गिट बनाए । यो एउटा भर्सन कन्ट्रोल थियो । धेरैले मिलेर एउटै सफ्टवेयरमा काम गरिरहँदा त्यहाँ देखा पर्ने समन्वयको कमीलाई समाधान गर्न गिटले मद्दत गर्दछ ।

यसले भर्सन कन्ट्रोल गर्न सहयोग गर्दछ । यसले सबै गतिविधिलाई ट्रयाकिङ गरी त्यसको रेकर्ड राख्दछ । कोडलाई अनलाइनमा अपलोड गर्न गिटको प्रयोग गरिन्छ ।

त्यहाँ कोड सुरक्षितरुपमा ब्याकअप भएर पनि बस्छ । यसरी गिटमा राखेको कोडलाई ओपन सोर्स गर्ने हो भने कम्पनीको अनुमति लिएर त्यसको लाइसेन्स बनाएर पब्लिक गर्न सकिन्छ साथै गोप्य पनि राख्न सकिन्छ ।

फेसबुक, गुगल तथा माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरुले पनि आफ्नो प्रडक्टलाई थप राम्रो बनाउन ओपन सोर्स गरिरहेका छन् । नेपालमा पनि ओपन सोर्सको अभ्यास भइरहेको अजु तामाङ बताउँछन् । 

२०११ तिर चितवनका टेक इन्थुजियास्टहरुले नेपाली अपरेटिङ सिस्टम चितवनिक्स बनाएका थिए । लिनक्सको कर्नल कोडलाई तलमाथि गरेर बनाइएको उक्त अपरेटिङ सिस्टम कतिपयले प्रयोग गरेको अजु बताउँछन् । 

‘चितवनिक्स बनेको ताका ओपन सोर्सको अभ्यासले गति लिइरहेको थियो, तर बीचमा केही समय यो रोक्कियो अहिले पुन: गति पकडेको छ । तीव्र गतिमा फड्को मारिरहेको छ,’ अजु भन्छन् । 

लिपफ्रग जस्ता कम्पनीहरुले पनि निकै सक्रियपूर्वक ओपन सोर्समा काम गरिरहेका छन् ।चितवनिक्स, लाइब्रेरी जियोइन्फोम्याटिक्स ओपन सोर्स प्रोजेक्ट जियोस्टेटका साथै नेपाली पेमेन्ट गेटवेहरुले पनि ओपन सोर्स सफ्टवेयर प्रयोग गरिरहेको उनीहरु बताउँछन् । 

तर ओपन सोर्सको यो सुविधालाई प्रयोग गर्न यसमा योगदान गर्न पनि अत्यावश्यक छ । विश्वभरका लाखौं डेभलपर, प्रोग्रामर्स तथा सफ्टवेयर इ‌‌जिनियरहरुले यसमा योगदान गरिरहेका हुन्छन् । ओपन सोर्सको मूल मर्म भनेकै कुनै पनि टुल तथा सफ्टवेयरहरु नि:शुल्क उपलब्ध गराउनु हाे ।

यस्ता ओपन सोर्समा योगदान गर्नेहरुको कम्युनिटीहरु नेपालमा कमै भएपनि विकास हुँदै गइरहेको अजु बताउँछन् । नेपालकाे पहिलाे ओपन सोर्स कम्युनिटी २०११ तिर सक्रिय रहे पनि दुई/तीन वर्षपछि असफल भएको अजुले बताए । 

यसरी कम्युनिटी नभइदिँदा विद्यार्थी, डेभलपर्स, सफ्टवेयर इन्जिनियरलाई ठूलो कमी महसुस भइरहेको उनी बताउँछन् । यद्यपि लिपफ्रग जस्ता कम्पनीहरुले आफ्ना सफ्टवेयर इन्जिनियरलाई यसतर्फ संलग्न हुन प्रेरित गरेपछि विद्यार्थीहरु पनि यसमा संलग्न हुन थालेकाे र यसको महत्व थप बाहिर आउन थालेको हो । 

‘कम्युनिटी एकदमै धेरै महत्वपूर्ण जसबाट धेरै कुरा सिक्न सकिन्छ’ अजु भन्छन्, ‘जस्तै कुनै नयाँ मान्छेलाई ओपन सोर्सको बारेमा केही थाहा छैन भने उसले ओपन सोर्स कम्युनिटीबाट धेरै कुरा सिक्न सक्छ । सफ्टवेयरहरु कसरी बनाउने, फ्री सफ्टवेयरहरुमा कसरी कोड गर्ने, अभ्यासहरु कस्तो हुन्छ र कम्युनिटीमा कसरी ह्याण्डल गर्ने भन्ने कुरा सिक्न सक्छ ।’

नेपालमा शैक्षिक र पेशागत अभ्यासमा धेरै फरक छ । यस्तोमा सफ्टवेयर डेभलपमेन्टको क्षेत्रमा आउन चाहने विद्यार्थीहरुले ओपन सोर्सबाट धेरै कुरा सिक्ने अजु बताउँछन् । 

‘ओपन सोर्स सफ्टवेयरले सेतुको काम गर्दछ । यसले धेरै कुरा सिकाउँछ । प्रोफेसनल करियरमा सफ्टवेयर उद्योगमा हामी कसरी कोडिङ गर्छौं, सपोर्ट कसरी गर्ने र कोडमा समस्या आउँदा कसरी समाधान गर्ने ती सबै कुरा ओपन सोर्सले सिकाइसकेको हुन्छ ।’

यसरी ओपन सोर्समा काम गरिसकेका विद्यार्थीहरुले सफ्टवेयर इन्डस्ट्रीमा करियर सुरुवात गर्नुअघि नै इन्डस्ट्रीसँग एक किसिमले अभ्यस्त बनिसक्ने बिनोद बताउँछन् । 

केही समयअघि डिजिटल ओसियनले सगरमाथा ह्याक टु बर्फेस्ट ओपन सोर्स अन्तरक्रियात्मक मिटअप आयोजना गरेको थियो । सो कार्यक्रम सम्पन्न भइसकेपछि सोही समूहले ह्याक टु बर्फेस्टको नामको ओपन सोर्स कम्युनिटी सुरु गरेको  अजुले टेकपानालाई सुनाए । 

‘ह्याक टु बर्फेस्ट नेपाल रन गरेपछि हामीले यसैको नाममा ओपन सोर्स कम्युनिटी जस्तै बनाएका छौं । जसमा फ्रन्टएण्ड ब्याकएण्ड एल्गोरिदममा विभिन्न किसिमका प्रोजेक्ट हुन्छन् । ती प्रोजेक्टमा कसैको गाइडमा प्रोजेक्टमा योगदान दिन सकिन्छ ।’

नेपालमा अहिले प्रोग्रामिङ ल्याङ्ग्वेज गोका लागि गोलयान नेपाल र आस्क बडीजस्ता ओपन सोर्स कम्युनिटी पनि छन् । 

ओपन सोर्समा योगदान गर्न कुनै व्यक्ति सफ्टवेयर इन्जिनियर वा डेभपर्स नै हुन आवश्यक छैन । प्रोग्रामिङ ल्याङ्ग्वेज बुझ्न सक्ने कोडिङमा रुची हुनेहरुले यसमा योगदान दिन सक्छन् । 

‘नयाँहरुका लागि ओपन सोर्स अत्यन्तै आवश्यक छ । कम्पनीहरुले भ्याकेन्सीहरु खोलिरहेका हुन्छ । अनुभव माग्छन् । तब तपाईंले कुनै ओपन सोर्समा योगदान दिनु भएको छ भने तपाईंले आफ्नो काम त्यहाँबाट देखाउन सक्नुहुन्छ । यसले व्यक्तिको पोर्टफोलियो बनाउन मद्दत गर्दछ । विश्वासनियता कायम गर्दछ ।’ बिनोद भन्छन् । +

ओपन सोर्समा योगदान दिनेले स्वेच्छाले भोल्युनटियर गर्दछन् । कसैले कोड लेख्न सक्छन् । तर कोडमा गाइड तथा डक्युमेन्ट लेख्नु पर्दछ । प्रोग्रामिङ ल्याङग्वेज थोरै जानेको र डक्युमेन्ट लेख्न जान्ने विद्यार्थीहरुले डक्युमेन्टेसनबाट सुरु गर्छन् ।

उदाहरणका लागि प्रोग्रामिङ ल्याङ्ग्वेज गोमा काम गरेको अनुभव छ भने उसले त्यही भाषामा योगदान दिन सक्छ । कसैको जाभामा राम्रो छ भने त्यसैमा गर्न सक्छ । कुनै कोड मिलेको छैन भने त्यसको रिक्वेस्ट पठाउन मिल्छ । रिभ्यू गर्न मिल्छ । त्यो पठाएको रिक्वेस्ट सम्बोधन भयो भने एउटा योगदान दिएको भनेर गणना हुने बिनोद बताउँछन् । 

ओपन सोर्सको प्रोग्राममा योगदान दिन प्रोत्साहनका लागि ठूलाठूला कम्पनीहरुले ग्रान्ट प्रोजेक्ट पनि ल्याउने गरेको अजु बताउँछन् । 

‘ओपन सोर्सको प्रोग्रामबाट ग्रान्ट पनि पाउन सकिन्छ । जस्तै गुगलले गुगल समर अफ कोड आयोजना गर्दछ । त्यो तीन महिनाको कार्यक्रम हो । त्यसमा ओपन सोर्स कम्युनिटीको प्रोजेक्टहरुमा हामीले योगदान गर्यौं भने रिवार्ड पाउन सकिन्छ ।

यसमा मेन्टरहरुसँग सिकेर विद्यार्थीहरुले योगदान दिन्छन् र पुरस्कार पाउन सक्छन् । त्यहाँबाट पाएको प्रमाणपत्र र हाम्रो सिपले हामी विश्वभर नै काम पाउन सक्छौं । त्यसको मान्यता पनि राम्रो हुन्छ । यस्तै एमएलएच फेल्लो भन्ने अर्को प्रोग्राम पनि छ ।’ अजु भन्छन् । 

ओपन सोर्स सँग सम्बन्धित जति पनि ठूला ठूला परियोजना छन्, ती सबैले विद्यार्थीहरुलाई प्रेरित गर्न एउटा न एउटा ओपन सोर्ससँग सम्बन्धित प्रोग्रामहरु ल्याउने र ती कार्यक्रममा योगदान गरेर मेन्टरसिप पाउनेदेखि पुरस्कार जित्न समेत सकिन्छ, अजुले सुनाए । 

यसरी ओपन सोर्स प्रोजेक्टहरुमा काम गर्दा अनुभवी तथा नयाँ डेभलपरहरुले आफ्नो सीप तिखार्नुका साथै गिट जस्ता विभिन्न प्लेटफर्ममा काम गर्दा कोडहरु साझा गरेर थप ज्ञान हासिल गर्न सक्छन् । तर सुरुवातकर्ताहरुले कोड हेर्दा सधै राम्रा प्रोग्रामरहरुको कोड हेरेर सिक्नुपर्ने अजु बताउँछन् । 

धेरै डलर खर्च गरेर विदेशी सफ्टवेयर खरिद गर्नुको सट्टा, कुनै पनि ओपन सोर्स प्रयोग गरी आफै सफ्टवेयर बनाउन सकिन्छ । यसका लागि प्रोग्रामिङ ल्याङ्ग्वेजको आवश्यक पर्छ । यसरी आफैं सफ्टवेयर बनाउन सके सुरक्षाको प्रत्याभूति पनि आफैमा निर्भर हुन्छ ।

विश्वभरका असंख्य मानिसहरुले एक्सेस पाएको ओपन सोर्स प्रोजेक्टमा बग इस्युहरु तत्काल सम्बोधन हुन सके पनि यसमा सुरक्षाको प्रश्न पनि स्वभाविक रुपमा उठ्ने गर्छन् । तर ओपन सोर्स सफ्टवेयरको सुरक्षा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निर्भर हुने बिनोद बताउँछन् । 

‘लिनक्स ओएस ओपन सोर्स हो । यसलाई लिनक्स फाउण्डेसनले नियमन गर्दछ,’ बिनोद भन्छन् ।

कुनै व्यक्तिले लिनक्सको सफ्टवेयर कोडलाई गोप्य इडिट पनि गर्न सक्छ । तर सम्पादन गर्ने व्यक्तिको अरुले प्रोफाइल रेटिङहरु हेर्छन् ।

यस्तो बेला लिनक्स फाउण्डेसनले नै यसलाई निरीक्षण गर्दछ । तर कुनै ओपन सोर्स कोड प्रयोग गरी कुनै कम्पनीले सफ्टवेयर बनाएर सेवा प्रदान गर्दैछ भने त्यसको सुरक्षाको जिम्मा उसैसँग हुन्छ । यसले इण्ड युजर्समा प्रत्यक्ष असर पार्न सक्दैन । 

यस किसिमको सफ्टवेयर प्रयोग गर्न सके देशमा उदाइरहेका विभिन्न कम्पनी तथा स्टार्टअपहरुलाई विशेष सहुलियत हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०