सेवा विस्तारमा क्लासिक टेकको छलाङ, एक वर्षमै ग्राहक बृद्धि १५६ प्रतिशत

Classic-tech-data-center

काठमाडौं । विगत एक वर्षको अवधिमा इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले २०७६ को भदौ यताको एक वर्षमा मात्रै १५६ प्रतिशतभन्दा बढी ग्राहक थपेको हो ।

दोस्रो धेरै ग्राहक बढाउने कम्पनी सुबिसुको तुलनामा क्लासिक टेकको बृद्धि दोब्बरभन्दा बढी रहेको छ । यस अवधिमा दोस्रो धेरै ग्राहक विस्तार गर्न सफल सुबिसुको बृद्धि ७७.०३ प्रतिशत रहेको छ ।

सुबिसुले विगत एक वर्षमा ६६ हजार ७४२ ग्राहक थप्दै आफ्नो कुल ग्राहक आधार विस्तार गरेर एक लाख ५३ हजार ३८९ पुर्‍याएको छ । जब कि क्लासिक टेकले यस अवधिमा ६९ हजार ५७ ग्राहक बढाउँदै आफ्नो कूल ग्राहक आधार एक लाख १३ हजार २५० बनाएको छ ।

ग्राहक विस्तार तीव्र रुपमा गरे पनि क्लासिक टेक नेपालमा ठूला इन्टरनेट सेवाप्रदायकको सूचीमा पाँचौं स्थानमै सीमित छ । ठूला पाँच वटा इन्टरनेट कम्पनीमा आफ्नो ग्राहक आधार विस्तारमा नेपाल टेलिकम सबैभन्दा कमजोर देखिएको छ ।

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

२०७६ भदौंदेखि २०७७ भदौसम्मको अवधिमा टेलिकमले केवल ८.८३ प्रतिशतले मात्रै आफ्नो ग्राहक आधार बढाउन सकेको छ । हाल कम्पनीका कूल इन्टरनेट प्रयोगकर्ताको संख्या दुई लाख ५६ हजार ५६० रहेको छ ।

ग्राहक विस्तारमा भायनेट र वर्ल्डलिङ्क क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । उनीहरुले क्रमशः ५८.६६ प्रतिशत र २३.२७ प्रतिशतले ग्राहक बढाएका छन् ।

ग्राहक संख्या बृद्धिमा भने वर्ल्डलिंक नै नम्बर वान

तर संख्यात्मक ग्राहक बृद्धिको अवस्था भने फरक छ । सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले नै यस अवधिमा सबैभन्दा धेरै ग्राहक थपेको छ ।

कम्पनीले यस अवधिमा ७६ हजार ३६३ ग्राहक थप्दै आफ्नो कूल ग्राहक संख्या चार लाख चार हजार ५४७ पुर्‍याएको हो । संख्यात्मक रुपमा ग्राहक बृद्धिमा क्लासिक टेक दोस्रो र सुबिसु तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानमा रहेको भायनेटले यस अवधिमा ४३ हजार ३५१ ग्राहक बढाउँदै आफ्नो ग्राहक आधार एक लाख १७ हजार २५३ पुर्‍याएको छ । ग्राहक संख्या बढाउनेमा समेत अन्तिम स्थानमा रहेको नेपाल टेलिकमले भने यस अवधिमा २० हजार ८१६ ग्राहक थप गरेको छ ।

समग्रमा २०७६ भदौमा आठ लाख ९६ हजार ७२१ रहेका इन्टरनेट सब्सक्राइबर २०७७ भदौसम्म आइपुग्दा ३७.६४ प्रतिशतले बढेर १२ लाख ३४ हजार २८९ पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team