close

एप्पलको बग बाउन्टीसँग किन सन्तुष्ट छैनन् इथिकल ह्याकर ?

टेकपाना टेकपाना

भदौ २६, २०७८ २०:५८

एप्पलको बग बाउन्टीसँग किन सन्तुष्ट छैनन् इथिकल ह्याकर ?

काठमाडौं । एप्पलका अपरेटिङ सिस्टममा भएका बगहरू पत्ता लगाउन कम्पनीले सुरक्षा अनुसन्धानकर्ताकर्मीलाई बग बाउन्टी कार्यक्रमको व्यवस्था गरेको छ ।

यद्यपि अनुसन्धानकर्मीहरू भने एप्पलको बग बाउन्टी कार्यक्रमसँग खुशी छैनन् । एक त कम्पनीले बग समाधान गर्न समय लगाउँछ, अर्कोतिर अनुसन्धानकर्तालाई दिनुपर्ने जति बाउन्टी नदिने गुनासाे बढेकाे छ ।

सन् २०२० मा एप्पलले अनुसन्धानकर्मीलाई ३७ लाख अमेरिकी डलर बग बाउन्टीको रुपमा दिएको थियो । जब कि गुगलले ६७ लाख अमेरिकी डलर र माइक्रोसफ्टले एक करोड ३६ लाख अमेरिकी डलर बग बाउन्टीको रुपमा वितरण गरेका थिए ।

दि वासिङटन पोष्टमा प्रकाशित एक रिपोर्टका अनुसार फेसबुक, माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरूले सुरक्षा अनुसन्धानकर्मीलाई प्राथमिकता दिएजस्तो एप्पलले दिएकाे छैन ।

अनुसन्धानकर्मीहरूका अनुसार बाउन्टी पाउने बगहरूको रिपोर्टमा एप्पलले एकदमै कम प्रतिक्रिया दिने गरेको छ भने एक्नलेज भएका कतिपय बगहरू अहिलेसम्म पनि समाधान भइसकेका छैनन् ।

यसले गर्दा एप्पलमा भेटिएका समस्याहरू पनि रिपोर्ट गर्नको लागि अनुसन्धानकर्मीलाई प्रोत्साहन नगरेको उनीहरूको भनाइ छ ।

यद्यपि एप्पलको सेक्युरिटी इन्जिनियरिङ एण्ड आर्किटेक्चर प्रमुख इभान क्रिस्टिकले भने वासिङटन पोस्टलाई कम्पनीले बग बाउन्टी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको दाबी गरेका छन् ।

त्यस्तै सन् २०१९ भन्दा २०२० मा बग बाउन्टीको रकम पनि दोब्बर गरेको र आउने दिनमा नयाँ नयाँ अफर पनि ल्याउने उनले बताएका छन् ।

यद्यपि सुरक्षा अनुसन्धानकर्मीसँगको कमजोर सम्बन्धले एप्पललाई भविष्यमा अप्ठ्याराे पर्न सक्ने सरोकारवालाहरुको धारणा छ ।

एप्पलको बग बाउन्टी कार्यक्रम अन्तर्गत बाउन्टीको रकम एक लाख अमेरिकी डलरदेखि १० लाख अमेरिकी डलरसम्म रहेको छ । त्यसैगरी केही अनुसन्धाकर्मीलाई कम्पनीले आईफोन नै दिने गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५