close

आफ्ना महत्वपूर्ण सूचनाको भौतिक सुरक्षा गर्न जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

भदौ २८, २०७८ १३:३५

आफ्ना महत्वपूर्ण सूचनाको भौतिक सुरक्षा गर्न जान्नैपर्ने कुरा

काठमाडौं । प्रविधिको विकासले पक्कै पनि मानिसको जीवनयापन सहज बनाएको छ । तर, सँगै चुनौती पनि भित्रिएका छन् । साइबर आक्रमणका घटना निरन्तर बढेका छन् । जसले विश्वलाई नै आतंकित तुल्याइरहेको छ । 

यस्तोमा पछिल्लाे समय साइबर सुरक्षामा ठूलाे लगानी हुन थालेको छ । सँगै त्यस्ता सूचना प्रणालीको भौतिक सुरक्षा (Physical Security) पनि आवश्यक हुन्छ ।

त्यसैले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रणालीको भौतिक सुरक्षाका लागि ध्यान दिनुपर्ने विषयलाई केलाएको छ ।

त्यसका आधारमा यहाँ हामी तपाईंलाई सूचना प्रणालीको भौतिक सुरक्षा के हो र कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।

सूचना प्रणालीको भौतिक सुरक्षा के हो ?

सूचना प्रणाली अर्थात् इन्फर्मेशन सिस्टमको भौतिक सुरक्षा भन्नाले सूचना प्रणाली राखिएको भवनसहित हार्डवेयर, सफ्टवेयर, नेटवर्क र डेटामा अनधिकृत भौतिक पहुँच, उच्च तापक्रम, हाई भोल्टेज, चट्याङ, चोरी, तोडफोड, दुर्घटना, आगलागी, प्राकृतिक प्रकोपहरू जस्तै: भूकम्प, बाढी आदिबाट सुरक्षा गर्नु भन्ने बुझिन्छ ।

भौतिक सुरक्षा कसरी गर्ने ?

सूचना प्रणालीको भौतिक सुरक्षाका लागि निम्न उपाय अपनाऔं:

१‍‍. सूचना प्रणाली राख्नका लागि स्थान पहिचान गर्दा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूको जोखिम न्यून रहेको स्थान चयन गरौं ।

२‍. भूकम्प आइरहने भए भूकम्प प्रतिरोधी भवनमा र बाढी आइरहने स्थान भए भवनको माथिल्लो तल्लामा सूचना प्रणाली राखौं ।

३‍. आधिकारिक व्यक्तिको मात्र प्रवेशको लागि एक्सेस कार्ड/एक्सेस कन्ट्राेल जस्ता प्रणाली र गार्डको व्यवस्था गरौं ।

४. उच्च तापक्रम/आद्रतालाई नियन्त्रण गर्न उपयुक्त कुलिङ सिस्टम, एयर फ्लो सर्कुलेसन र उचित भ्यान्टिलेसन आईटी एचभीएसी (हिटिङ, भेन्टिलेटर र एयर कन्डिसनर) को व्यवस्था गरौं ।

५. सूचना प्रणाली भएको भवनको सुरक्षाका लागि त्यसको वरपर बलियो तारबार वा पर्खाल तथा पर्याप्त प्रकाशको व्यवस्था गरौं ।

६. सूचना प्रणाली भएको भवनमा आउने-जाने व्यक्तिको निगरानी गर्न भवनबाहिर तथा भित्र सीसीटिभीको व्यवस्था गरौं । साथै जानकारीका लागि ‘तपाईं सीसीटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ जस्ता सूचना लेखिएको नोटिस बोर्डको व्यवस्था गरौं ।

७. चोरी तथा शंकास्पद गतिविधिबाट जोगाउन मोसन डिटेक्टर, साउण्ड अलार्म सिस्टम जस्ता सुरक्षा प्रणालीको व्यवस्था गरौं ।

८. सूचना प्रणाली राख्नका लागि पर्याप्त उचाइ भएको र आगो प्रतिरोधी भवन र कक्ष को व्यवस्था गरौं ।

९. भोल्टेज तल-माथि हुने तथा सर्ट हुन जस्ता समस्याको सुरक्षाका लागि भोल्टेज रेगुलेटर/सर्ज प्रोटेक्टर, यूपीएस जस्ता प्रणालीको व्यवस्था गरौं ।

१‍०. अटोमेटिक फायर फाइटिङ सिस्टम तथा म्यानुअल फायर फाइटिङ इक्युपमेन्टको व्यवस्था गरौं ।

११. सूचना प्रणालीले प्रदान गर्ने सेवालाई भरपर्दो बनाउन पावर ब्याकअप (जेनरेटर, सोलार सिस्टम, युपीएस) को व्यवस्था गरौं ।

१२. सूचना प्रणालीको स्थापना गर्दा प्रयाप्त Current Rating तथा Insulation भएको इलेक्ट्रिकल केबल, उपकरणहरूको ग्राउण्डिङ र सेल्डिङ लाइटबाट बच्न Lightning Arrester को व्यवस्था गरौं ।

१३. मुसाहरू आउनबाट जोगाउन सूचना प्रणाली भएको कक्षमा खानेकुरा लग्ने नगरौं । साथै अप्टिकल फाइबर लगायतका तारहरू काटिनबाट जोगाउन एन्टि रोडेन्ट फाइबर अप्टिक केबल, मेटल सिटिङ अथवा पीभीसी डक्ट आदिको प्रयोग गरौं ।

१४. उपकरण तथा प्रणालीहरुको अभिलेख राखी नियमित रुपमा निगरानी गरौं ।

१५. संस्थाको सेक्युरिटी नीति तथा आपतकालीन रेस्पोन्स योजना तर्जुमा गरी कार्यान्वयन गरौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१