दशैँ नजिकिँदै गर्दा मोबाइल आयात बढ्यो, एक महिनामै भित्रियो साढे ८ लाख फोन

mobiles

काठमाडौं । दशैं नजिकिएसँगै नेपालमा भित्रिने मोबाइलको संख्या बढेको छ । भदौमा मात्रै साढे ८ लाख फोन आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा १० अर्ब ३६ करोड ३५ लाख भन्दा बढी मू्ल्यको कूल १४ लाख ९८ हजार ७ सय ६५ वटा मोबाइल आयात भएको छ ।

त्यसमध्ये ८ लाख ३१ हजार २ सय ४७ वटा मोबाइल सेट भदौ महिनामा मात्रै आयात भएको विभागको तथ्यांक छ । भदाैं महिनामा मात्रै ५ अर्ब ५३ करोड ६७ लाख मूल्य बराबरको माेबाइल आयात भएको हो ।

विभागको तथ्यांक अनुसार गएको साउन महिनामा चार अर्ब ८२ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको ६ लाख ६७ हजार ५१८ सेट मोबाइल नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्षको सोही अवधि (साउन र भदौं) मा नेपालमा कूल ७ अर्ब ९४ करोड बराबरको कूल ९ लाख ९५ हजार मोबाइल आयात भएको थियो ।

साउन र भदाैमा आयात भएको माेबाइलको संख्या बढेको भए पनि पछिल्लो समय बजारमा मोबाइलको अभाव भएको व्यवसायीहरु बताउँ५न् ।

सामसङ मोबाइलको आयातकर्ता आईएमएस ग्रुपका निर्देशक तथा मोबाइल फोन आयात संघका अध्यक्ष दीपक मल्होत्राले भने, ‘विश्व बजारमा चिपको अभाव देखिँदा नेपालमा त्यसको असर देखिएको छ । जसले गर्दा मोबाइल आयात हुने वित्तिकै सकिने खालको अवस्था सिर्जना भएको छ ।’ विशेषगरी: सस्तो मूल्य (लो–रेन्ज) का स्मार्टफोन बजारमा अभाव रहेको उनले बताए ।

साओमी मोबाइलको आधिकारिक बिक्रेता टेलिडाइरेक्ट प्रालि तथा मोबाइल फोन आयात संघका उपाध्यक्ष सञ्जय अग्रवालले पनि बजारमा सस्तो मूल्यका स्मार्टफोन अभाव रहेको बताए । 

‘२० हजार मुनीका मोबाइल अभाव देखिएको हो,’ अग्रवालले भने, ‘नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन नै यही मूल्यका छन् ।’

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team