close

ह्वाट्सएपमा लुकेका १३ फिचर, जुन धेरैलाई थाहा छैन

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १२:४५

ह्वाट्सएपमा लुकेका १३ फिचर, जुन धेरैलाई थाहा छैन

काठमाडौं । विश्वभर चर्चित च्याट एप ‘ह्वाट्सएप’ ले प्रयोगकर्ताका लागि केही आकर्षक फिचर ल्याएकाे छ । हुन त ह्वाट्सएपले आफ्ना सबै फिचर सामान्य रुपमा प्रस्तुत गर्ने गर्छ ।

यद्यपि च्याट, ग्रुप च्याट, कलजस्ता विभिन्न फिचरभित्र पनि थुप्रै फिचर लुकेर बसेका छन्, जुन उपलब्ध त छन्, तर हामीमध्ये धेरैलाई यो विषयमा थाहा नहुन पनि सक्छ ।

यहाँ ह्वाट्सएपले उपलब्ध गराएका गोपनीयता, स्टोरेज लगायत अन्य फिचरका बारेमा चर्चा गर्नेछौं ।

१. पुराना म्यासेज स्वतः हराउने फिचर 

यस्तो च्याट प्लेटफर्ममा आफ्ना पुराना च्याटहरू के भएका छन् भन्ने विषयमा हामीमध्ये कसैले त्यति ख्याल गरेका हुँदैनौं । कहिले काहिँ लामो समयसम्म प्रयोग नभएको च्याटबक्स पनि त्यत्तिकै बसिरहेको हुन्छ ।

अनि प्राय हामी फुर्सदमा बसेर यस्तो पुराना च्याट डिलिट गर्ने गर्छौं । यद्यपि यसको समाधान भने ह्वाट्सएपसँगै छ । ह्वाट्सएपमा भएको ‘disappearing post’ भन्ने अप्सनलाई इनेबल गरेर तपाईंले सात दिनभन्दा पुराना च्याट स्वतः हराउने व्यवस्था गर्न सक्नुहुन्छ । 

– यसका लागि सबैभन्दा सुरुमा तपाईंले चाहेको ग्रुप च्याट वा व्यक्तिगत च्याटमा जानुहोस् ।

– त्यसपछि च्याटको नाममा गएर क्लिक गर्नुहोस् ।

– मोबाइलको स्क्रिनमा विभिन्न अप्सनमध्ये ‘disappearing post’ भन्ने अप्सन पनि देख्नुहुनेछ । त्यहाँ क्लिक गरेर यो फिचर इनेबल गर्न सक्नुहुनेछ । 

२. फोटो भिडिओ स्वत: डिभाइसमा सेभ नहुने फिचर 

ह्वाट्सएपमा आएका सबै फोटो र भिडिओ हामीलाई आवश्यक हुन्छ भन्ने जरुरी छैन । तर प्रायजसो ह्वाट्सएपमा आएका फोटो र भिडिओ स्वत: सेभ हुन्छन् ।

यदि तपाईं यसरी च्याटमा आएका फोटो र भिडिओ आफैं डिभाइसमा सेभ नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंले साधारण सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ । 

– यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने स्क्रिनको दाहिनेतिर माथि भएको तीनवटा डटमा क्लिक गरेर सेटिङमा जानुहोस् । यदि तपाईं आई‌ओएस प्रयोगकर्ता हुनुहुन्छ भने स्क्रिनको दाहिनेतिर तल भएको ‘सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस् ।

– त्यहाँ च्याट अप्सनमा जानुहोस् ।

– सेभ टु क्यामेरा रोलमा गएर क्लिक गर्नुहोस् । अथवा कोही एक जनाको च्याटमा यो फिचर इनेबल गर्न चाहनुहुन्छ भने सो व्यक्तिको च्याट अन गर्नुहोस् र नाममा क्लिक गर्नुहोस् ।

– सेभ टु क्यामेरा रोल अप्सनलाई आफ्नो आवश्यकता अनुसार सधैंका लागि अफ गर्न सक्नुहुन्छ । 

३. टेक्स्ट मोडिफायर 

माइक्रोसफ्ट वर्डमा जस्तै ह्वाट्सएपमा पनि टेक्स्ट अथवा अक्षरहरूको फन्ट परिवर्तन गर्न सकिन्छ । जस्तो कि तपाईंले प्रयोग गर्ने फन्टलाई तपाईंले बोल्ड, इटालिक, काटिएको अथवा मोनोस्पेस फन्ट बनाउन सकिन्छ ।

ह्वाट्सएपमा उपलब्ध अन्य फन्टहरू प्रयोग गर्नका लागि चारवटा संकेतहरू प्रयोग गर्न सकिन्छ । 

-फन्टलाई बोल्ड गर्न (*): दुईवटा एस्ट्रिक चिन्हमा आफूले चाहेको शब्द राखेर सेन्ड गर्नुहोस् । जस्तै *Hello*

-फन्टलाई इटालिक गर्न (_): दुई वटा अन्डरस्कोर चिन्हमा आफूले चाहेको शब्द राखेर सेन्ड गर्नुहोस् । जस्तै _Hello_ 

-अक्षरको बीचमा धर्का तान्न (~): दुई वटा टिल्ड चिन्हमा आफूले चाहेको शब्द राखेर सेन्ड गर्नुहोस् । जस्तै ~hello~ 

-मोनोस्पस फन्ट बनाउन (“`): डेक्सटपमा तीन वटा ब्याकटिक्स अगाडि र तीन वटा ब्याकटिक्स पछाडि राखेर आफूले चाहेको शब्द राख्नुहोस् । “`hello“` ।

मोबाइलमा भने शब्द टाइप गरेर त्यसलाई सेलेक्ट गरेर पपअप म्यासेजको तीनवटा डटमा क्लिक गर्नुहोस् । अथवा तपाईं आईओएस प्रयोग गर्नुहुन्छ भने शब्दलाई सेलेक्ट गर्नुहोस् र पपअप म्यासेजमा ‘BIU’ मा क्लिक गरेर फन्ट परिवर्तन गर्न सक्नुहुन्छ ।   

४. म्यासेज सेभ गर्नका लागि ‘स्टार’ चिन्ह प्रयोग गर्नुहोस् 

कहिले काहिँ केही म्यासेजहरू एकदमै महत्त्वपूर्ण हुन्छन् । यस्तो बेलामा ह्वाट्सएपमा भएको ‘स्टार’ वाला फिचरले तपाईंलाई मद्धत गर्न सक्छ ।

यसका लागि आफूलाई महत्त्वपूर्ण म्यासेज सेलेक्ट गर्नुहोस् र पपअप म्यासेजमा आउने ‘स्टार’ अप्सनमा क्लिक गर्नुहोस् ।

यसरी सेलेक्ट गरेको म्यासेज ह्वाटस्एपमा ‘स्टार्ड म्यासेज’ भन्ने अप्सनमा गएर बस्छ । जसले गर्दा तपाईंले आफ्नो महत्त्वपूर्ण म्यासेज सेभ गरेर आवश्यक समयमा हेर्न सक्नुहुन्छ ।

आईफोनमा सेभ भएको म्यासेज हेर्नका लागि सेटिङमा गएर ‘स्टार्ड म्यासेज’ मा र एन्ड्रोइडमा मोर अप्सनमा गएर ‘स्टार्ड म्यासेज’ हेर्न सकिन्छ ।    

५. ग्रुप कन्भरसेसन म्युट गर्नुहोस् 

केही ग्रुप च्याटहरू हाम्रा लागि अनावश्यक पनि हुनसक्छ, अथवा ग्रुप च्याटको म्यासेज नोटिफिकेशन नआओस् भन्ने चाहनुहुन्छ भने ह्वाट्सएपले तपाईंका लागि ग्रप च्याट म्युट गर्ने फिचर पनि दिएको छ ।

किनभने कतिपय अवस्थामा हामीहरू केही ग्रुपच्याट ब्लक अथवा ‘लिभ’ गर्न सक्दैनौं । यस्तो अवस्थामा सो ग्रुपलाई म्युट गर्न सकिन्छ ।

यसका लागि ग्रुप च्याट ओपन गर्नुहोस् र ग्रपको नाममा क्लिक गर्नुहोस् । त्यसपछि म्युट अप्सनमा क्लिक गर्नुहोस् । यसरी तपाईंले सो ग्रुपलाई कति समयका लागि म्युट गर्ने भनेर पनि छनौट गर्न सक्नुहुन्छ ।    

६. कन्भर्सेसन आर्काइभ गर्ने फिचर 

कुनै पनि कन्भर्सेसनलाई म्युट गरेपछि गर्नुपर्ने अर्को काम हो, आर्काइभ । यसले म्यासेज बक्सलाई च्याट लिस्टबाट हटाउने काम गर्छ ।

यसका लागि एन्ड्रोइड प्रयोगकर्ताले च्याट बक्समा लामो समय सम्म ट्याप गरेर पपअप म्यासेजमा आर्काइभ बटनमा क्लिक गर्नुहाेस् ।

त्यस्तै आईफोन प्रयोग गर्नुहुन्छ भने म्यासेज बक्समा दाहिनेतिर स्वाइप गर्नुहोस् र मोरमा ट्याप गर्नुहोस् । त्यसपछि आर्काइभ अप्सनमा क्लिक गरेर म्यासेज आर्काइभ गर्न सकिन्छ ।

७. लास्ट सिन

लास्ट सिन (Last Seen) सेटिङले प्रयोगकर्तालाई अर्को कुनै व्यक्तिलाई आफू पछिल्लो पटक अनलाइन आएको जानकारी देखाउने वा लुकाउने भन्ने कुरा रोज्ने सुविधा दिन्छ ।

तपाईंले सेटिङमार्फत आफ्नो लास्ट सिनलाई सम्पूर्ण रुपमा लुकाउन सक्नुहुन्छ । साथै आफ्नो कन्ट्याक्ट लिस्टमा भएका नम्बरहरुले मात्रै देख्न सक्नेगरी मिलाउन पनि सक्नुहुन्छ । 

– सेटिङमा गएर अकाउन्टमा क्लिक गर्नुहोस् ।

– प्राइभेसीमा गएर लास्ट सिनमा क्लिक गर्नुहोस् ।

– त्यहाँ गएर आफ्नो इच्छाअनुसार ‘एभ्रिवान’, ‘माई कन्ट्याक्ट’ अथवा ‘नोबडी’ मा क्लिक गर्नुहोस् ।              

८. ग्रुपमा जोड्ने अनुमति कसलाई दिने ?

ह्वाट्सएपको प्राइभेसी सेटिङले प्रयोगकर्तालाई उनीहरु कुन ग्रुपमा जोडिन चाहने वा नचाहने भन्ने कुरा रोज्ने सुविधा दिन्छ । एपमा यसका लागि तीनवटा अप्सन दिइएको छ, जसमध्ये कुनैले कुनै ग्रुपमा एड गर्नका लागि अनुमति दिन्छन् ।

यो सेटिङबाट तपाईं आफ्नो मोबाइलमा सेभ भएका नम्बर वा कुनै निश्चित नम्बरलाई मात्र ग्रुपमा जोड्ने अनुमति दिन सक्नुहुन्छ ।

– यसका लागि ‘सेटिङ’ मा जानुहोस् र ‘अकाउन्ट’ मा क्लिक गर्नुहोस्  ।

– प्राइभेसीमा गएर ‘ग्रुप्स’ मा क्लिक गर्नुहोस् । यहाँबाट ‘माई कन्ट्याक्ट’ मा गएर आफूले चाहेको सबै कन्ट्याक्ट आफूलाई इन्भाइट गर्न रोक्न सक्नुहुन्छ । 

९. अनावश्यक डेटा डिलिट गर्नुहोस्   

यदि तपाईं ह्वाट्सएपमा धेरै ग्रुपको सदस्य हुनुहुन्छ भने अटो डाउनलोड फिचरका कारण ह्वाट्सएपले धेरै स्टोरेज लिइरहेको हुनसक्छ । यस्ता अनावश्यक कन्भर्सेसन, फोटो तथा भिडिओ डिलिट गर्नका लागि स्टोरेज म्यानेज गर्न सक्नुहुन्छ ।

– सेटिङमा जानुहोस् र ‘स्टोरेज एन्ड डेटा’ मा क्लिक गर्नुहोस्  ।

– त्यहाँ गएर ५ एमबीभन्दा ठूलो अट्याचमेन्ट सेलेक्ट गरेर डिलिट गर्न सक्नुहुन्छ ।           

१०. लाइभ लोकेसन शेयर गर्नुहोस् 

तपाईंले ह्वाट्सएपबाट जोकोहीलाई पनि आफ्नो लाइभ लोकेसन. अर्थात् तपाईं कहाँ हुनुहुन्छ भनेर आफू भएको ठाउँको लोकेसन पठाउन सक्नुहुन्छ ।

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने च्याटबक्सको देब्रेतिर तल भएको प्लस (+) चिन्हमा क्लिक गरेर र यदि तपाईं एन्ड्रोइड प्रयोग गर्नुहुन्छ भने च्याटबक्सको सँगै भएको ‘यु’ पिन चिन्हमा क्लिक गरेर आफ्नो लोकेसन शेयर गर्न सक्नुहुन्छ ।     

११. महत्त्वपूर्ण च्याटलाई पिन गर्नुहोस् 

ह्वाट्सएपमा हरेक दिन थुप्रै म्यासेज आइरहेका हुन्छन् । कहिले काहिँ यस्तै धेरै म्यासेज आउनाले आफ्नो महत्त्वपूर्ण म्यासेज तल गएर लुक्न सक्छ । यस्तोमा तपाईंले त्यस्ता महत्त्वपूर्ण म्यासेजहरू पिन गरेर स्क्रिनको माथि नै राख्न सक्नुहुन्छ ।

यसका लागि आईफोन प्रयोगकर्ताले च्याटलाई दाहिनेतिर स्वाइप गरेर ‘पिन’ भन्ने अप्सनमा क्लिक गर्ने र एन्ड्रोइड प्रयोगकर्ताले च्याटलाई लामो समयसम्म होल्ड गरेर पपअप म्यासेजमा आउने ‘पिन’ अप्सनमा क्लिक गरेर आफ्ना महत्त्वपूर्ण म्यासेज स्क्रिनको माथि राखिरहन सकिन्छ । 

१२. कन्भर्सेसन ब्याकग्राउण्ड परिवर्तन गर्नुहोस् 

तपाईं आफ्नो च्याटबक्स अलि फरक र आकर्षित बनाउन चाहनुहुन्छ भने आफ्नो कन्भर्सेसन अर्थात आफ्नो च्याटबक्सको ब्याकग्राउण्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

‘सेटिङ’ मा गएर च्याट अप्सनमा क्लिक गरेर च्याट वालपेपरमा क्लिक गरेर नयाँ वालपेपर राख्न सक्नुहुन्छ ।

योसँगै तपाईंले फरक-फरक च्याटका लागि फरक-फरक वालपेपर पनि राख्न सक्नुहुन्छ ।

आईफोन प्रयोग गर्नुहुन्छ भने आफूले चाहेको च्याटबक्समा गएर नाममा क्लिक गरेर ‘वालपेपर एन्ड साउन्ड’ अप्सनमा क्लिक गर्नुहोस् ।

यदि तपाईं एन्ड्रोइड प्रयोग गर्नुहुन्छ भने च्याटको छेउमा भएको तीनवटा डटमा क्लिक गर्नुहोस् र ‘वालपेपर’ अप्सनमा क्लिक गरेर वालपेपर परिवर्तन गर्नुहोस् । 

१३. आफ्नो च्याट ब्याकअप गर्नुहोस् 

हामीले च्याटमा गरेका कुरा र च्याटमा शेयर गरेका फाइल महत्त्वपूर्ण हुन्छन् । तर कहिले काहिँ ब्याकअप नराख्नाले त्यो हराउन सक्छ । त्यस‍ैले आफ्ना फाइल ब्याकअप गर्न जरुरी छ ।

यसका लागि सेटिङमा गएर च्याट अप्सनमा भएको ‘च्याट ब्याकअप’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । आईफोन यो डेटा आईक्लाउडमा सेभ हुनेछ भने एन्ड्रोइडमा गरेको ब्याकअप गुगल ड्राइभमा सेभ हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२