close

कार्यकालपछि टेलिकम प्रमुख तल्लो पदमा फर्किने, नयाँलाई स्वतः अवकाश

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ १५:५०

कार्यकालपछि टेलिकम प्रमुख तल्लो पदमा फर्किने, नयाँलाई स्वतः अवकाश

काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको जागिर सुरक्षित गरिदिएको छ । ‘नेपाल टेलिकमको कर्मचारी विनियमावली, २०७८’ को पहिलो संशोधन पास गर्दै लोक सेवा आयोगले हाल कार्यरत प्रबन्ध निर्देशकले आफ्नो कार्यकालपश्चात् पनि टेलिकममै काम गर्न पाउने व्यवस्था गरिदिएको हो ।

तर, यो व्यवस्था टेलिकमका आगामी प्रबन्ध निर्देशकको हकमा लागू हुनेछैन । यसको अर्थ आगामी दिनमा टेलिकम भित्रैबाट कम्पनीको प्रबन्ध निर्देशक नियुक्त हुनेहरूले स्वतः अवकाश पाउनेछन् ।

मूल विनियमावलीको विनियम १३७ मा संशोधन गर्दै कम्पनीका कुनैपनि कर्मचारीलाई सरकारले प्रबन्ध निर्देशकमा नियुक्त गरेको खण्डमा कार्यकालपछि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्था गरिएकाे हो ।

यसअघि मूल विनियममा कर्मचारीबाटै कम्पनीको प्रबन्ध निर्देशक भएको खण्डमा प्रबन्ध निर्देशकको कार्यकालपछि कम्पनीमा स्वतः पुरानै तहमा फिर्ता हुने प्रावधान थियो ।

कार्यलय अवधि लामो समय बाँकी हुँदै कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त भएपछि अधिकारीले आफू तथा आगामी दिनमा कम्पनीबाटै प्रबन्ध निर्देशक हुनेहरुलाई लक्षित गर्दै प्रबन्ध निर्देशककाे कार्यकालपछि पनि कम्पनीमै काम गर्न मिल्नेगरी विनियमावलीमा व्यवस्था गरेका थिए ।

तर, त्यसउपर कम्पनीका कर्मचारी युनियन पुरानै व्यवस्था कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिए । झण्डै ३९ दिन चलेको उक्त आन्दोलन अन्त्यमा विनियम संशोधन गर्ने सर्तसहित सम्झौता गरेर रोकिएको थियो ।

त्यही सम्झौताका आधारमा विनियमावली संशोधनका लागि लोक सेवा आयोग पठाइएको थियो ।

हुन त अघिकारीकाे हकमा याे व्यवस्था २०७५ मंसिर ३ गेत बसेकाे मन्त्रिपरिषद्काे निर्णयबाटै लागू भएकाे थियाे ।

अधिकारीलाई कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका (दोस्रो संशोधन) गर्ने क्रममा कम्पनीमा कार्यरत कर्मचारी प्रबन्ध निर्देशक पदमा नियुक्त भएमा निजकाे साविककाे पदाधिकार कायमै रहने व्यवस्था गरेकाे थियाे ।

साथै प्रबन्ध निर्देशकको अवधि समाप्त भएपश्चात निजले आफ्नो पदाधिकार रहेकाे पदमा काम गर्नसक्ने व्यवस्था गरेकाे थियाे ।

त्याे हिसाबले पनि प्रबन्ध निर्देशकमा अधिकारीको जागिर सुरक्षित थियो । त्यसमा पनि नयाँ संशोधित विनियमावलीले उनलाई अझ सहज बनाइदिएको छ ।

नयाँ संशोधित विनियमले पनि अधिकारीलाई प्रबन्ध निर्देशकको कार्यकालपछि पनि कार्यलयमा काम गर्ने सुविधा प्रदान गरेको छ । संशोधित विनियमावली लागू भएपछि नियुक्त हुने प्रबन्ध निर्देशकको हकमा मात्र याे व्यवस्था लागू हुनेछ ।

यसले प्रबन्ध निर्देशक अधिकारीलाई पुनः कम्पनीमा कर्मचारीको रुपमा काम गर्ने व्यवस्था गरेको छ । साथै कम्पनीमा ११औं तहमा पाँच वर्ष सेवा अवधि र १०औं तहमा आठ वर्ष सेवा अवधि पुरा गर्ने कर्मचारी पनि स्वतः अवकाश हुने व्यवस्था संशाेधित विनियमावलीमा गरिएको छ ।

यसअघि कर्मचारीहरूको हकमा उमेर हद ५८ वर्ष पुगेसँगै अनिवार्य अवकाश हुने प्रावधान थियो ।

यस्तो छ नेपाल टेलिकमको कर्मचारी विनियमावली २०७८ को पहिलो संशोधन पूर्णपाठ:

NTC-biniyamabali

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२