close

बढ्यो टेलिकमको आम्दानी, ३ महिनाको कमाई झन्डै ११ अर्ब

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ ८:२२

बढ्यो टेलिकमको आम्दानी, ३ महिनाको कमाई झन्डै ११ अर्ब

काठमाडौं । नेपाल टेलिकमको आम्दानी बढेको छ । पछिल्लो समय लगातार रुपमा ओरालो लागिरहेको कम्पनीको आम्दानी चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक अवधिमा भने बढेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले मङ्गलबार मात्रै चालु आर्थिक वर्षका लागि आफ्नो पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी गत वर्षको पहिलो त्रैमासिकमा १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको आम्दानी यस वर्षको सोही अवधिमा बढेर १० अर्ब ९५ करोड ७४ लाख ५६ हजार पुगेको छ ।

यसबाट कम्पनीको आम्दानी पहिलो तीन महिनामा ८५ करोड ९ लाख ८१ हजार रुपैयाँले बढेको देखिन्छ । प्रतिवेदन अनुसार गत आवको सुरु तीन महिनामा कम्पनीले ग्राहकबाट आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा त्यस्तो आम्दानी बढाएर नौ अर्ब ७७ करोड, ५३ लाख ६२ हजार रुपैयाँ पुर्‍याएको छ ।

जुन एक अर्ब १४ करोड २२ हजार रुपैयाँले बढी हो ।  तर कम्पनीको अन्य स्रोतको आम्दानी भने ओरालो लागेको छ । गत आवको सुरु तीन महिनामा एक अर्ब ४६ करोड ९१ लाख ३५ हजार रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्षको सोही अवधिमा घटेर एक अर्ब १८ करोड २० लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ ।

यसरी अन्य स्रोतबाट हुने कम्पनीको आम्दानी पहिलो त्रैमासिक अवधिमै २८ करोड ७० लाख ४१ हजार रुपैयाँले घटेको छ । कर्मचारीको सुविधा, सञ्चालन तथा मर्मत सम्भार, नियमनकारी शुल्क तथा नवीकरण आदि जस्ता शीर्षकमा कम्पनीको खर्च बढेको छ भने बिक्री संयन्त्र, मार्केटिङ तथा प्रवर्द्धन, विदेशी विनिमय, प्रशासनिक खर्च आदि जस्ता शीर्षकको खर्च घटेको छ ।

आम्दानी बढ्दा कम्पनीको नाफामा समेत सुधार देखिएको छ । समग्रमा कर तथा अन्य खर्च कटाएर टेलिकमले गत आवको पहिलो तीन महिनाको तुलनामा टेलिकमको नाफा ७३ करोड ४८ लाख ४४ हजार रुपैयाँले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्मको करपछिको नाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ रुपैयाँ रहेकोमा यस वर्षको सोही अवधिमा यस्तो नाफा बढेर दुई अर्ब २५ करोड २६ लाख १३ हजार रुपैयाँ पुगेको छ । फोरजी सेवाको विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार बृद्धि भएको र त्यसबाट मोबाइल डेटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य देखिएको टेलिकमले जनाएको छ ।

यसैगरी टुजी तथा थ्रीजी सेवाको पहुँच नपुगेका स्थानमा समेत टुजी/थ्रीजी/फोरजी सेवाको पहुँच बिस्तार गरिएका कारणले समेत ग्राहक आधार वृद्धि हुन गएको बताइएको छ । त्यस्तै कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भएको छ । जसको प्रभाव कम्पनीको आम्दानी तथा नाफामा देखिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३