close

मोबाइल एप बनाउनेमा नेपाल ३९ औँ स्थानमा, तर जीआईआई इन्डेक्समा २३ अङ्कले खस्कियो

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ २१:५२

मोबाइल एप बनाउनेमा नेपाल ३९ औँ स्थानमा, तर जीआईआई इन्डेक्समा २३ अङ्कले खस्कियो

काठमाडौं । ग्लोबल इनोभेसन इन्डेक्स (जीआईआई) मा नेपालको स्थान २३ अङ्कले खस्किएको छ । सन् २०२० मा १३१ मुलुकमध्ये ८८ औँ नम्बरमा रहेको नेपाल यस वर्ष समावेश भएका १३२ मुलुकबीचमा खस्किएर १११ औँ स्थानमा पुगेको हो ।

ग्लोबल इनोभेसन इन्डेक्समा विश्वभरका अर्थतन्त्रलाई इनोभेसन (नव प्रवर्तन) को क्षमताको आधारमा ‘र्‍याङ्किङ’ गर्ने गरिन्छ । जसमा ८० ओटा सूचकलाई नव प्रवर्तनका लागि ‘इनपुट’ र ‘आउटपुट’ गरि वर्गीकरण गरिन्छ ।

सन् २०१९ मा नेपाल यो इन्डेक्समा ११९ मुलुक मध्ये १०९ स्थानमा परेको थियो ।  नेपालको इनोभेसन आउटपुट भन्दा इनपुटमा राम्रो प्रदर्शन गरेको छ । तर सन् २०१९ र २०२० को तुलनामा नेपालको इनोभेसन इनपुट यस वर्ष घटेको छ ।

त्यस्तै इनोभेसन आउटपुटमा नेपाल यस वर्ष ११६ औँ स्थानमा छ, जुन सन् २०२० को तुलनामा कम र २०१९ को तुलनामा बढी हो । यस हिसाबले नेपाल मध्य तथा दक्षिण एसियाली मुलुकमा नवौँ स्थानमा छ ।

जीआईआई २०२१ अनुसार नेपालको व्यवसायिक क्षेत्रमा सुधार देखिएको छ भने ज्ञान तथा प्रविधिको नतिजाको क्षेत्रमा कमजोर पाइएको छ । इन्डेक्स अनुसार व्यवसायको क्षेत्रमा नेपाल ५९ औँ स्थानमा, बजारको क्षेत्रमा ६९ औँ स्थानमा, पूर्वाधारको क्षेत्रमा ९८ औँ स्थानमा र सिर्जनशीलताको क्षेत्रमा १०८ औँ स्थानमा छ ।

तर मानव पूँजी तथा अनुसन्धान र संस्थागत क्षेत्रमा समान ११५ औँ स्थानमा र ज्ञान तथा प्रविधिको प्रतिफलको क्षेत्रमा १२१ औँ स्थानमा छ ।

संस्थागत क्षेत्रमा नेपाल पछाडि पर्नुमा अस्थिर राजनीतिक तथा सञ्चालन प्रणाली, सरकारको कमजोर प्रभावकारिता, अप्रभावकारी नियमन व्यवस्था र अनावश्यक लागत जस्ता कारणहरू रहेका छन् । त्यस्तै मानव पूँजीको क्षेत्रमा शैक्षिक स्तर सन्तोषजनक (९६ औँ) भए पनि उच्च शिक्षाको क्षेत्रमा भने नेपाल कमजोर (१२३ औँ) छ ।

यद्यपि अनुसन्धान र विकासको क्षेत्रमा भने अवस्था केही सकारात्मक (९६ औँ) देखिएको छ । यसैगरी पूर्वाधारको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिमा नेपाल निकै कमजोर (११८ औँ) देखिएको छ । जसमा आईसीटीको पहुँच (१०४ औँ), आईसीटीको प्रयोग (१०९ औँ), सरकारको अनलाइन सेवा (१०९ औँ) र अनलाइन सहभागिता (११६ औँ) रहेको छ ।

यद्यपि सामान्य पूर्वाधारको क्षेत्रमा भने नेपालको अवस्था राम्रो (२८ औँ) देखिएको छ । जसमा जीडीपी प्रतिशतको आधारमा ग्रस क्यापिटल फर्मेसनमा निकै उत्कृष्ट (दोस्रो) रहेको छ ।

यद्यपि सामान्य पूर्वाधार अन्तर्गतकै विद्युत (११८ औँ) र लजिस्टिक (१०७ औँ) मा भने नेपाल निकै पछाडि छ । यसैगरी प्रति युनिट विद्युत खपत (१०९ औँ), वातावरणीय क्षेत्र (११३ औँ) र आईएसओ १४००१ वातावरणीय सर्टिफिकेट (११० औँ) मा पनि नेपाल कमजोर देखिएको छ ।

बजारको क्षेत्रमा भने नेपालको अवस्था राम्रो छ ।  जसमा ऋण प्राप्ति (३४ औँ) तथा भेन्चर क्यापिटल (७५ औँ) मा नेपालको अवस्था राम्रो देखिन्छ । तर सेवा शुल्क, औसत तलबमानमा भने नेपाल निकै कमजोर (१२९ औँ) छ ।

यद्यपि बजार अन्तर्गतकै उद्योगको विविधिकरण (६५ औँ) र आन्तरिक बजारको आकारमा भने नेपालको अवस्था ठीकठीकै (८२) अवस्थामा छ । नेपालको सबैभन्दा राम्रो अवस्था भने व्यावसायिक सुधारको क्षेत्रमा रहेको छ ।

जसमा ज्ञानमा आधारित कामदार (९० औँ) र औपचारिक तालिम प्रदायक (४८ औँ) को अवस्था राम्रो देखिन्छ । तर यसै अन्तर्गत उच्च शिक्षा हासिल गरेका महिला कामदारको हकमा भने नेपाल कमजोर (१०१ औँ) छ ।

त्यस्तै विश्वविद्यालय तथा उद्योग क्षेत्र बीच अनुसन्धान र विकासमा सहकार्य (१०० औँ), क्लस्टर विकास (१०९) र ज्वाइन्ट भेन्चर तथा रणनीतिक साझेदारी (७३ औँ) मा नेपालको अवस्था सन्तोषजनक नै छ । यसैगरी ज्ञान प्राप्तिमा मध्यम (५६ औँ) देखिएको नेपालको यस अन्तर्गत कूल व्यापारमा ‘हाई टेक’ आयातमा सबैभन्दा राम्रो (२१ औँ) अवस्था छ ।

तर कूल व्यापारमा आईसीटी सेवा आयात (१२४ औँ) र प्रत्यक्ष वैदेशिक लगानी (११७) मा भने कमजोर देखिएको छ । नेपाल सबैभन्दा कमजोर (१२१) रहेको क्षेत्र ज्ञान र प्रविधिको उपादेयतामा हो ।

जसमा ज्ञानको प्रभाव अन्तर्गत श्रम उत्पादकत्व बृद्धि, व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने जनसङ्ख्या, सफ्टवेयरमा गर्ने खर्च, आईएसओ ९००१ सर्टिफिकेट, हाई-टेक उत्पादनमा नेपालको अवस्था निकै कमजोर (१२९ औँ) देखिएको छ । तर पेटेन्ट (९२ औँ), युटिलिटी मोडेल, वैज्ञानिक तथा प्राविधिक लेखरचना (६४ औँ) र साइट गर्न लायक प्रतिवेदन (८६ औँ) मा नेपालको औवस्था औसत (७८ औँ) रहेको छ ।

यसैगरी बौद्धिक सम्पत्ति, उत्पादन तथा निर्यातको जटिलता), हाई-टेक निर्यात (१२२ औँ) र आईसीटी सेवाको निर्यात (४० औँ) गरी ज्ञानको प्रसारमा पनि नेपालको अवस्था सन्तोषजनक (८४ औँ) छ ।

यस्तै रचनात्मक उपलब्धीको क्षेत्रमा पनि नेपालको अवस्था कमजोर (१०८ औँ) छ । जसमा सांस्कृतिक तथा सिर्जनात्मक सेवाको निर्यात, राष्ट्रिय फिचर फिल्म, मनोरञ्जन तथा सञ्चारको बजार, प्रिन्टिक तथा अन्य मिडिया (९२ औँ) र सिर्जनात्मक उत्पादन निर्यात (७३ औँ) मा नेपाल सबैभन्दा कमजोर (१०९ औँ) देखिन्छ ।

यस्तै ट्रेडमार्क तयार (४९ औँ), ग्लोबल ब्रान्ड भ्यालु (८० औँ), औद्योगिक डिजाइन (१०२) र आईसीटी सङ्गठनको मोडेल (११८) जस्ता अमूर्त सम्पत्तिको क्षेत्रमा नेपालको अवस्था सन्तोषजनक (९३ औँ) नै छ । साथै मुख्य स्तरका डोमेन (११० औँ), कन्ट्री कोड (८६ औँ), विकिपिडिया एडिट (१०६ औँ) र मोबाइल एप तयार पार्ने (३९ औँ) मा गरी अनलाइन सिर्जनाको क्षेत्रमा नेपालको अवस्था समग्रमा सन्तोषजनक (९१ औँ) छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३