close

मोबाइलमैत्री छैन सरकारको लर्निङ पोर्टल

टेकपाना टेकपाना

मंसिर ६, २०७८ ९:५

मोबाइलमैत्री छैन सरकारको लर्निङ पोर्टल

काठमाडौं । विद्यार्थीलाई अनलाइनबाटै पढ्न सजिलाे बनाउने उद्देश्यसहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘लर्निङ पोर्टल’ वेबसाइट विकास गरेको छ ।

सुरुमा कक्षा १ देखि कक्षा १० सम्मको मात्र पाठ्यक्रम उपलब्ध भएको यो साइटमा यही वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम पनि जोडिएको छ । यद्यपि यो पोर्टल मोबाइल र ट्याब्लेटमैत्री भने छैन ।

अडियो-भिडिओसहित अन्य सन्दर्भ सामग्री समावेश भएको यो पोर्टल डेस्कटपमा राम्रै भएपनि मोबाइल र ट्याब्लेटमैत्री छैन ।

मोबाइलमा यो साइट ओपन गर्दा अक्षरहरू ठूला देखिने, काटिने लगायतका समस्या छन् । यही विषयको बारेमा टेकपानाले केन्द्रसँग कुरा गर्दा यो समस्यालाई समाधान गर्ने प्रयास सुरू भएकाे जानकारी दिइएकाे छ ।

‘प्रयोगकर्ताको हिसाबले हेर्ने हो भने वेबभन्दा मोबाइल प्रयोगकर्ता धेरै छन् । विद्यार्थीहरू मोबाइलमा बढी अभ्यस्त भएका कारण पनि हामीले मोबाइल एपको आवश्यकतालाई महसुस गरेका छौं,’ केन्द्रको श्रव्य दृश्य शाखाका इन्जिनियर सन्तकुमार महर्जनले बताए ।

प्राविधिक टोलीले आन्तरिक रुपमा मोबाइल एपका लागि काम गरिरहेको र व्यवस्थापन पक्षलाई यस विषयमा जानकारी गराएको पनि उनले जनाए ।

‘यो विषयमा प्राविधिक टोलीले आन्तरिक काम गरिरहेको छ । साथै हामीले व्यवस्थापन पक्षलाई जानकारी पनि गराएका छौं । माथिबाट यस विषयमा निर्णय हुने वित्तिकै हामी केही समयमा नै मोबाइल एप सार्वजनिक गर्नेछौं,’ उनले थपे ।

हाल भने वेबसाइट नै नयाँ भएका कारण पनि यसको प्रचारप्रसारमा लागेको उनकाे भनाइ छ ।

केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले वेबसाइट नयाँ र परीक्षणकै क्रममा रहेको हुँदा यसलाई थप अपग्रेड गर्दै लैजानुपर्नेमा जाेड दिए ।

‘यो साइटलाई थप अपग्रेड गर्नुपर्ने छ । हाम्रो प्राविधिक टोलीले यस विषयमा काम पनि गरिरहेकाे छ । यद्यपि हामी अहिले भने प्रचार गर्ने र प्रतिक्रिया लिने काम गरिरहेका छौं,’ उनले भने, ‘प्रतिक्रियाको आधारमा यसलाई कसरी अगाडि लैजाने भन्ने विषयमा काम गर्नेछौं ।’

मोबाइल एपको विषयमा भने ठोस निर्णय केही पनि हुन नसके पनि दिगो रुपमा यसलाई कसरी विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने कुरालाई आधार मानेर लर्निङ पोर्टल अपग्रेड गरिने उनले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२