close

साओमीलाई लाग्यो चिप अभावको झट्का, बजारमा धकेलियो एक स्थान पछाडि

टेकपाना टेकपाना

मंसिर ९, २०७८ १२:१९

साओमीलाई लाग्यो चिप अभावको झट्का, बजारमा धकेलियो एक स्थान पछाडि

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीलाई विश्वव्यापी रुपमा रहेको चिप अभावको झट्का लागेको छ । जसका कारण सन् २०२१ को तेस्रो त्रैमासिकमा कम्पनीको वृद्धि कम भएपछि तेस्रो नम्बरमा धकेलिएको छ ।

यस्तोमा तेस्रो नम्बरमा रहेको एप्पल दोस्रो नम्बरमा उक्लिएको छ । त्यसो त साओमीले हालै मात्रै अमेरिकी प्रविधिको दिग्गज कम्पनी एप्पललाई पछाडि पार्दै विश्व बजारमा दोस्रो स्थान हात पारेको थियो ।

तर अब भने कम्पनी एक स्थान तल झर्दै तेस्रो बनेको हो । कम्पनीले यसका लागि चिप अभाव जिम्मेवार रहेको बताएको छ । स्मार्टफोनको विश्व बजारमा सामसङ भने पहिलो नम्बरमा कायम छ । स्मार्टफोन सेग्मेन्टमा सामसङको बजार हिस्सा सबैभन्दा धेरै छ ।

साओमीले यस वर्ष आफूलाई चिप अभावका कारण निकै ठूलो चुनौती झेल्नु परेको बताएको छ । यद्यपि कम्पनीले चिप अभावका बावजुद सन् २०२१ को अन्त्यसम्म करिब १९ करोड डिभाइस (मोबाइल तथा उपकरण) बिक्री गर्ने लक्ष्य राखेको छ ।

गत वर्षको तुलनमा यो आँकडा २९ प्रतिशतले बढी हो । कम्पनीका अनुसार साओमीको मुख्य व्यवसाय अगाडि बढिरहेको छ । तर विश्वव्यापी चिप अभावको चुनौतीका कारण स्मार्टफोन शिपमेन्टमा समेत गिरावट देखिएको छ ।

आगामी वर्षको मध्य सम्म चिप अभावको समस्या कायम रहने अनुमान छ । तर पछिल्ला वर्षहरूमा सामसङ र एप्पललाई चुनौती दिने अवस्थामा पुगेको ह्वावे भने यस अघि नै शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचीबाट समेत बाहिरिसकेको छ ।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा २० प्रतिशत रहेको ह्वावेको बजार हिस्सा अमेरिकी व्यापारिक प्रतिबन्धका कारण खस्किँदै गएको हो । सन् २०२१ को दोस्रो त्रैमासिक अवधिमा सामसङले पाँच करोड ९० लाख युनिट स्मार्टफोन शिपमेन्ट गरेको थियो ।

यस अवधिमा एप्पलले भने चार करोड ४२ लाख स्मार्टफोन बिक्री गरेको छ । ‘ग्राहकको उच्च मागका बावजुत उत्पादन सार्वजनिक हुनमा भएको ढिलाइ, डेलिभरी हुन लागेको लामो समय आदिका कारण स्मार्टफोनको बिक्री घटेको हो,’ गार्टनरका सिनियर रिसर्च डाइरेक्टर अनशुल गुप्ताले भनेका छन् ।

बजार अनुसन्धान प्रतिवेदन अनुसार प्रिमियम स्मार्टफोनको तुलनामा आधारभूत स्मार्टफोनहरू बढी प्रभावित भएका छन् । जसका कारण समग्र रुपमा स्मार्टफोनको बिक्री घट्दा समेत यस अवधिमा प्रिमियम स्मार्टफोनको बिक्री भने बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२