close

अनुसन्धान र विकास गर्न स्टार्टअपलाई आविष्कार केन्द्रमा स्वागत छः महावीर पुन

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १९:२८

अनुसन्धान र विकास गर्न स्टार्टअपलाई आविष्कार केन्द्रमा स्वागत छः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले अनुसन्धान र विकास गर्न चाहने स्टार्टअप कम्पनीलाई स्वागत गर्ने घोषणा गरेका छन् । ट्वीटर पोस्ट मार्फत उनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।

राम्रोसँग अनुसन्धान र परीक्षण नगरी स्टार्टअप खोल्दा सफल हुने सम्भावना कम रहने पुनको भनाई छ । ‘यस्तोमा सरकार र दात्री निकायहरूले अनुदान र बैंकहरूले ऋण दिने सम्भावना पनि कम रहन्छ,’ उनले भनेका छन्, ‘त्यसैले स्टार्टअप सुरु गर्न चाहनेहरूलाई राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धान र विकासका लागि स्वागत छ ।’

तर स्टार्टअप गर्छु भनेकै भरमा स्टार्टअप मान्न नसकिने पुनको तर्क छ । ‘कस्तो किसिमको स्टार्टअप हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ उनले अगाडि भने, ‘स्टार्टअप भन्ने कुरा अनुसन्धान र विकास नभई हुँदैन । कोही म स्टार्टप गर्छु भनेर आउँछ भने त्यसलाई मान्दैनौँ ।’

स्टार्टअपको परिभाषा नै बेग्लै रहेको भन्दै पुनले सुरुवाती व्यवसायको रुपमा गर्न चाहेको काम सम्बन्धी अनुसन्धान गर्नुपर्नेमा जोड दिए । त्यसपछि परीक्षणको कुरा आउँछ ।

‘अनुसन्धान र विकासको चरणमा राम्रो नतिजा देखियो र व्यावसायिक रुपमा अगाडि जाने सम्भावना रहेछ भने त्यस्तो आइडियालाई हामीले स्वागत गर्ने हो,’ पुनले अगाडि भने, ‘आइडियाको लेभलमा नभएर अनुसन्धान र विकासका लागि हाम्रो सहयोग हुन्छ ।’

कुनै पनि आइडियालाई स्टार्टअपको तहमा विकास गर्न छ देखि एक वर्षको अवधि लाग्ने भन्दै उनले अनुसन्धान र विकाससँगै लगानी जुटाउने तहसम्म आविष्कार केन्द्रले सहयोग गर्न सक्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२