close

‘हाई-टेक’ कक्षा कोठा निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्र

टेकपाना टेकपाना

पुस १६, २०७८ १३:४५

‘हाई-टेक’ कक्षा कोठा निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं । गुणस्तरीय शिक्षालाई ध्यानमा राख्दै राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक (उच्च प्रविधियुक्त) कक्षा कोठा विकासको काम गरिरहेको छ । हाल बनिरहेको यो ‘हाई टेक’ कक्षाकोठालाई विभिन्न प्रविधिहरू प्रयोग गरेर एउटा नमूना कक्षाकोठाको रुपमा विकास गर्न लागिएको केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बताए ।

पढ्ने र पढाउने शैलीमा नयाँ अनुसन्धान तथा विषय वस्तुहरूको परीक्षण गर्न समेत यो कक्षाकोठाले सहयोग गर्ने उनको भनाई छ । कक्षाकोठाको बारेमा बताउँदै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निरन्तर रुपमा विकास भएर बजारमा उपलब्ध हुने बिभिन्न किसिमका प्रविधिहरू ल्याएर पठन पाठनको लागि परीक्षण गर्न र पढाउनको लागी चाहिने शैक्षिक विषयवस्तुहरूको विकास गर्न र शिक्षण र सिकाइको व्यवस्थापन गर्ने सिस्टमको अनुसन्धान र विकास यस केन्द्रमा गरिने छ ।’

कक्षाकोठामा ल्यापटप, प्रोजेक्टर, भिआर हेडसेट लगायतका सामग्रीहरू राखिएका छन् । आगामी दिनमा थप पठनपाठनको लागि आवश्यक प्राविधिक उपकरणहरू थप गर्दै जाने समेत उनले बताए ।

‘हामी अहिले पहिलो चरणमै छौँ । यो सुरुवात हो र यसलाई थप विकसित गर्नको लागि थप अनुसन्धान आवश्यक छ । यदि कोही व्यक्ति वा संस्थासँग यो कक्षाकोठाको विकास गर्ने नयाँ छ भने हामी स्वागत गर्न चाहन्छौँ,’ उनले बताए ।

कक्षाकोठा बने पनि यसलाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न विज्ञहरूको आइडिया र थप अनुसन्धानहरू गर्नुपर्ने उनको भनाई छ । कक्षाकोठा तयार भइसकेपछि विद्यालयहरू र स्थानीय सरकारहरूले पनि यस्तै किसिमका कक्षा कोठा आफ्नो क्षेत्रमा निर्माण गर्न चाहेमा केन्द्रले आवश्यक प्राविधिक सहयोग गर्ने उनले बताए ।

हाल यस कक्षा कोठाको आन्तरिक सजावट गर्न र फर्निचर सहितका केही सामानहरू खरिद गर्न इजरायली दुतावासले सहयोग गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२