close

वाईफाईमा २० वर्ष यताकै ठूलो परिवर्तन आउँदै

टेकपाना टेकपाना

पुस २६, २०७७ १८:१३

वाईफाईमा २० वर्ष यताकै ठूलो परिवर्तन आउँदै

काठमाडौं । वाईफाई अझ धेरै प्रभावकारी हुँदैछ । यो वर्ष बजारमा आउने धेरै फोन तथा ल्यापटप पनि वाईफाईको अपग्रेडेड भर्सन वाईफाई सिक्स ई सपोर्ट गर्ने गरी आउनेछन् । हालसम्म २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाईफाई अब भने ६ गिगाहर्जमा उपलब्ध हुनेछ ।

योसँगै तपाईंको वायरलेस कनेक्सनको अनुभवलाई २ लेनको बाटोबाट एकै पटक ८ लेनको बाटोमा हिँडेजस्तै बनाउने छ । वाईफाईमा आएको यो अपग्रेड पछिल्लो २० वर्षयताकै ठूलो अपग्रेड हो ।

यसका कारण इन्टरनेटको गति ठूलो मात्रामा वृद्धि हुने बताइएकाे छ । त्यस्तै वाईफाई कनेक्सन पनि अझ विश्वसनीय हुनेछ र वाईफाई वेभको दूरी पनि निकै फराकिलो हुने उल्लेख गरिएको छ ।

यसका लागि वाईफाई एलाइन्सले हाल वाईफाई सिक्स ईको वेभलाई सपोर्ट गर्ने ल्यापटप, मोबाइल लगायतका डिभाइसलाई प्रमाणीकरण गर्ने काम अघि बढाएको छ । भने, कतिपय डिभाइस यही महिना विश्व बजारमा सार्वजनिक हुँदैछन् ।

यसअन्तर्गत सामसङले यही बिहीबार सार्वजनिक गर्ने सामसङ ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनमा पनि यसकाे सपाेर्ट रहनेछ ।

त्यसका अलावा भोलिबाट सुरु हुने कन्जुमर इलेक्ट्रोनिक्स शोमार्फत वाईफाई सिक्स ई सपोर्ट गर्ने धेरै डिभाइस सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

रिसर्च ग्रुप आईडीसीका अनुसार टिभी र भीआर डिभाइसमा पनि वाईफाई सिक्स ई सन् २०२१ काे मध्यतिर उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१