close

‘नागरिक एपका सबै त्रुटि हटोस् र निर्धक्कले सेवा लिन पाइयोस्’

टेकपाना टेकपाना

माघ ७, २०७७ १४:१८

‘नागरिक एपका सबै त्रुटि हटोस् र निर्धक्कले सेवा लिन पाइयोस्’

मिथुन अधिकारी/-
गएको शुक्रबार नेपाल सरकारले नागरिक एपको बेटा भर्जन सार्वजनिक गर्‍याे । नेपाल सरकारको डिजिटल नेपालको सपना साकार पार्न महत्त्वपूर्ण भूमिका खेल्न सहयोग पुग्ने विश्वास गरिएको याे एपले सुरुमै केही आलोचना बेहोर्नुपरेको छ ।

डिजिटल नेपालको दुरदृष्टि योजना राखेको सरकारले सार्वजनिक गरेको नागरिक एपमा केही त्रुटि देखिएकाे छ । गुगल प्ले स्टोरमा ‘प्याकेज नेम’ले एपलाई छुट्टै पहिचान दिन्छ र एपलाई वर्गीकरण गर्न मद्दत गर्छ ।

नागरिक एपको प्याकेज नेममा सरकारी नाम हुनुको सट्टा एप बनाउने निजी कम्पनीको नाम थियो । अर्को कुरा एपको सम्पूर्ण अधिकार सरकार अथवा सरकारी निकायको हुनपर्नेमा उही निजी कम्पनीको हुँदा एपमाथि विश्वासको संकट लाग्न सक्छ ।

बेटा भर्सन भएका कारण यसमा धेरै त्रुटि सुधार्दै जालान् भनेर धेरै प्रयोगकर्ताहरु एप प्रयोग गरिरहेका छन् । माथि उल्लेखित त्रुटिबाहेक मुख्य कुरा एप कत्तिको सुरक्षित छ भन्ने प्रश्न नै धेरैले गरिरहेको पाइन्छ ।

सोर्स कोडबाट एप रुपान्तरण गर्दा धेरै प्रविधिहरु छन्, जसले एपको सोर्स कोडलाई सुरक्षित बनाउँछ। यो चरण एप बनाउँदा र त्यसलाई सार्वजनिक गर्दा एकदम महत्त्वपूर्ण हुन्छ ।

किनभने यो कदम नअपनाई अगाडि बढेमा ‘अप्लाई रिभर्स ईन्जिनियरिङ्ग’ गरेर एपको सोर्स कोड सजिलै निकाल्न सकिन्छ । सोर्स कोड निकालेपछि ह्याकरहरुले आफूले चाहेको परिवर्तन गरी एपको सबै प्रमाणीकरण बाइपास गरी आफूले चाहेको जानकारी निकाल्न सक्छन् ।

यसको मतलब के हुन्छ भने कम्प्युटर र प्रोग्रामिङको जानकारी भएको व्यक्तिले सजिलैसँग अप्लाई रिभर्स ईन्जिनियरिङ्ग गरेर सोर्स कोड निकालेर आफू खुसी परिवर्तन गरी नयाँ एप बनाएर अति नै संवेदनशील जानकारी प्राप्त गर्न सक्छन् ।

यसरी जानकारी प्राप्त गर्नका लागि सर्भरसम्म एउटा अनुरोध पठाउनुपर्ने हुन्छ र सर्भरले त्यो अनुरोधलाई जाँच गरेर मात्र जानकारी फिर्ता पठाउने गर्छ ।

तापनि एपको प्रमाणीकरण बाइपास गरिसकेपछि जानकारी प्राप्त गर्न प्राविधिक व्यक्तिलाई त्यति धेरी समस्या हुँदैन । सोर्स कोडलाई रिभर्स इन्जिनियरिङ्ग गर्न जटिल बनाउने काम सामान्य प्रविधि जस्तै प्रोगार्डको प्रयोग गरेर एकै दिनमा गर्न सकिन्छ ।

बरु एकदिन ढिला गरेर सार्वजनिक गरेको भए खासै केही बिग्रने थिएन । कुरा नागरिक एपमा मात्रै होइन, सरकारका अन्य आईटी कार्यक्रमहरुमा पनि यस्तै त्रुटिहरु देखिन्छ ।

विस्तारमा योजना नबनाउनु, सबै प्रक्रिया पुरा नगर्नु लगायतका समस्या अन्य कार्यक्रममा पनि देखिन्छ । यी कुराले सरकार र सरकारी विभागको आईटी कार्यक्रममा अपरिपक्वता झल्काउँछ ।

अर्को उदाहरणको लागि अनलाइन ड्राइभिङ्गको वेबसाइटमा पनि त्रुटि नै त्रुटिहरु छ । जब अनलाइन ड्राइभिङ्गको नयाँ आवेदन खुल्ने बित्तिकै सर्भर डाउन हुने, वेबसाइट नचल्ने आदि समस्या आइरहेको हुन्छ ।

हुनत कुनै पनि सिस्टम पूर्णरुपमा उत्कृष्ट हुँदैन। तैपनि यति धेरै सामान्यदेखि जटिल समस्याहरु जुन थोरै मात्रै समय र ध्यान दिएको भय सजिलै बच्न सकिन्थ्यो, त्यसबारेमा भने सराेकारवालाले ध्यान दिएकाे भए राम्राे हुने थियाे ।

आशा गरौं कि अब आउने नयाँ कार्यक्रमहरुमा यस्ता कुरामा ध्यान पुगाेस् । नागरिक एपको नयाँ भर्जन धेरै परीक्षणहरु गरेर मात्र सार्वजनिक हाेस् । र सबै त्रुटि हटेर निर्धक्कले सेवा लिन पाइयोस् ।

(लेखक सफ्टवेयर इन्जिनियर हुन् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३