close

यस्तो छ नयाँ स्मार्टफोनको साथमा चार्जर नआउनुको वास्तविकता

टेकपाना टेकपाना

फागुन ३, २०७७ २१:१३

यस्तो छ नयाँ स्मार्टफोनको साथमा चार्जर नआउनुको वास्तविकता

काठमाडौं । एप्पल, साओमी र सामसङ जस्ता धेरै कम्पनीहरुले अब तपाईंलाई नयाँ स्मार्टफोन खरिद गर्दा साथमा चार्जर नदिने घोषणा गरिसकेका वा गर्दै छन् । अनि यी सबै कम्पनीहरुले त्यसको कारणमा दिने एउटै जवाफ हो वातावरण संरक्षण । 

तर यसले एउटा कुरा सोच्न बाध्य बनाउँछ कि चार्जर नदिदैँमा वातावरणको रक्षा हुन्छ ? सतही रुपमा हेर्दा हो जस्तो पनि लाग्छ ।

किनभने बिना चार्जर फोन मात्र सप्लाई गर्दा बक्सको आकार घट्छ । जसले प्लास्टिकजन्य तत्वहरुबाट हुने प्रदुषणलाई घटाइरहेको हुन्छ । 

सामसङको यही तर्कलाई आधार मानेर तपाईंले सामसङको नयाँ ग्यालेक्सी एस ट्वान्टी वान अल्ट्रा र एस ट्वान्टी अल्ट्राको बक्सलाई नै हेर्न सक्नुहुन्छ । जसमा एस ट्वान्टीको तुलनामा एस ट्वान्टी वानको बक्स निकै सानो छ ।

एस ट्वान्टी वानको आधा साइजको बक्सलाई हेर्दा यी कम्पनीहरुको सोच निकै राम्रो लाग्छ । तर कम्पनीहरुको यो निर्णयसँगै यसले अप्रत्यक्ष रुपमा अर्को असर पनि जन्माएको छ ।

सबैभन्दा पहिलो कुरा भनेको नयाँ फोनमा चार्जर आएन भने तपाईंले पुरानो चार्जरबाट काम चलाउन खोज्नुहुनेछ । जुन एकदमै सुस्त र कम पावरको हुनेछ ।

दोस्रो कुरा भनेको जब तपाईं पुरानो चार्जर प्रयोग गर्नुहुन्छ, त्यतिञ्जेल चार्जर र त्यसको केबल दुवै कमजोर भइसकेका हुन्छन् । जसले नयाँ फोनका लागि थप समय धान्न सक्दैन । 

के यी कम्पनीहरुले उसो भए पुरानो चार्जरमै प्रयोगकर्ताहरु भर पर्न सकुन् र थप अनावश्यक फोहोर मैलाले वातावरण प्रदुषित नहोस् भन्ने चाहेका हुन् त ?  तीन वर्ष पुरानो फोनको चार्जर त सायदै कसैले साचेर राखेका होलान् ।

न त तिनले तपाईंको थप एड्भान्स फ्ल्यागशिप मोडलको शक्तिशाली ब्याट्री चार्ज गर्न सक्छन् । यस्तो बेला तपाईंले पक्कै पनि प्याकेट सहित नयाँ चार्जर किन्नु नै हुन्छ ।

जसले अन्तत अघिल्लो पुस्ताको फोनलेभन्दा धेरै फोहोर मैला उत्पन्न गराउनेछ । त्यसमाथि एउटा छुट्टै चार्जरको बक्सभित्र कति प्लास्टिक, पेपर हुन्छन् भन्ने कुरा त तपाईलाई थाहै छ ।   

तर फोनहरुमा चार्जर नदिने निर्णयसँगै अब तपाईले थाहै नपाई इयरफोन पनि गुमाउँदै हुनुहुन्छ । सामसङले भर्खरै सार्वजनिक गरेको नयाँ स्मार्टफोन एस ट्वान्टी अल्ट्रामा हेडफोन ज्याक नै छैन ।

यूएसबीसी इयरफोन प्रयोग गर्नेहरु  पनि एकदमै कम छन् । अहिले वायरलेस इयरफोनको बजार एकदमै बढिरहेको छ ।

तपाईंले सामसङ एस ट्वान्टी वान अल्ट्राका लागि ग्यालेक्सी बड्स प्रो खरिद गर्न सक्नुहुन्छ । तर यी इयरफोनको मूल्य एकदमै धेरै छ ।

त्यसैले मान्छेहरु ईकमर्स साइटहरुमा जान्छन् र पाएसम्मको सस्तो यूएसबीसी इयरफोन किन्न खोज्छन् । नयाँ इयरफोन त पाइन्छ, तर त्यो स्मार्टफोन प्याकेजसँग आएको इयरफोन डिभाइस जस्तो स्तरीय हुँदैन ।

तपाईंले साउण्डको गुणस्तरसँग सम्झौता गर्नै पर्छ । त्यसमा पहिलेको जस्तो एकेजी साउण्ड अप्सन पनि हुँदैन । साथै त्यसको प्याकेट पनि ठूलो हुन्छ ।

जसले वातावरणमा अघिल्लो पुस्ताका फोनले भन्दा धेरै असर पुर्‍याउँछ । यसरी छुट्टै सामान किन्नुपर्दा अहिले फोहोर तीन गुणाले बढेको छ ।

 यो त एउटा सुरुवात मात्र हो । अबको केही वर्षमा अन्य धेरै कम्पनीहरुले निःशुल्क दिदैँ आइरहेको फोनको केस पनि उपलब्ध गराउन छाड्ने देखिन्छ ।

यदि उनीहरुले त्यसो गरे भने बजारमा स्मार्टफोन, चार्जर, इयरफोन र फोन केस गरी चारवटा फरक प्याकेट र डेलिभरी ट्रिप बन्न पुग्नेछ । आफैं सोच्नुहोस् त यो कत्तिको फाइदाजनक छ ? 

दीगो विकास राम्रो कुरा हो र हामीले हाम्रो पृथ्वी र मौसम परिवर्तनको समस्यालाई ख्याल गर्नु पर्छ । तर यी स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुले लिएको कदमप्रति तपाईं निश्चिन्त हुनुहुन्छ त ? 

वास्तवमा माथिका तमाम परिणाम हेर्दा यो पृथ्वीका लागि कुनै पनि हालतमा सही कदम होइन । दोस्रो कुरा यसमा देखिएको विरोधाभास ।

सामसङलाई नै हेरौं । एप्पल कम्पनीले इनब्युल्ट चार्जर नदिने घोषणा गरेको भोलिपल्ट नै सामसङले एप्पलको त्यस्तो कदमबाट पीडित प्रयोगकर्तालाई उक्साउन आफूले चार्जर दिने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

जसमा ग्यालेक्सी किन्दा चार्जर पाउनुहुन्छ भनेको थियो । साओमीले पनि लगत्तै त्यस्तै विज्ञापन गर्‍‍यो । उसले आफ्नो नयाँ एमआइ टेन टी प्रोमा चार्जर दिने बाचा गर्‍यो ।  

वास्तवमा जब एप्पलले आईफोन ट्वेल्भ सिरिजलाई चार्जर बिना बजारमा ल्याउने घोषणा गर्‍यो, तब त्यसको असफलतामा कुम बजाउन सामसङ तथा साओमी जस्ता कम्पनीहरु तयार भएर बसेका थिए । 

तर चार्जर बिना पनि आईफोन ट्वेल्भ राम्रो बिक्यो । तब यी कम्पनीहरुले पनि आफू पनि किन यो चार्जरलेस रणनीतिमा सिफ्ट नहुने भन्ने सोचे ।

सामसङले त आफ्नो पोस्ट पनि डिलिट गर्‍यो, कहिल्यै केही नभएको जस्तो गरी । यदि यी कम्पनीहरुले गरिरहेको काम उनीहरुलाई सही लाग्थ्यो भने पक्कै पनि यी कम्पनीहरुले अर्को नयाँ फोनमा आफ्नो बाचा बिर्सिएर एप्पलको रणनीति नक्कल गर्ने थिएनन् । 

एप्पलले सधैं अनावश्यक लागेका कुराहरुलाई त्यागेर चाहिने कुराहरुलाई मात्र समेटेर आफ्नो छुट्टै नाम स्थापित गरेको कुराबाट हामी अनविज्ञ छैनौं । एप्पलले आफ्नो फोनमा चार्जरको भार कहिल्यै पनि राख्दैन र यसको प्रतिस्पर्धाबाट उ बाहिर भएको कुरा स्पष्ट छ । 

चार्जर हटाउने कुरा आफैंमा विवादित भए पनि एप्पलले भने यसलाई सही ठान्दछ । तर एप्पलको पनि आफ्नै समस्या छ । वातावरणमाथिको प्रभावलाई कम गर्न चार्जर हटाएको उसको दाबी छ ।

तर उसका केही क्रियाकलाप भने उसको दाबीभन्दा विपरित छन् । किनभने तपाईंले आइफोन ट्वेल्भमा पाउने केवल पुरानो चार्जर ब्रिकसँग मिल्दैन ।

त्यसैले यदि तपाईं ट्वेल्भ सिरिजको नयाँ केबल प्रयोग गर्न चाहनुहुन्छ भने नयाँ ब्रिक किन्नै पर्छ ।एप्पल अहिले म्यागसेफ चार्जरको जोड साथ प्रचार गरिरहेको छ ।

नयाँ आईफोनलाई वायरलेस तरिकाले म्यागसेफबाट स्नापअन अट्याचमेन्टको माध्यमबाट चार्ज गर्न सकिने एप्पल बताउँछ । आईफोन थर्टिनपछि यसरी चार्ज गर्नुपर्ने समय आउला जस्तो पनि देखिन्छ । किनभने त्यतिखेरसम्म एप्पलको फोनमा चार्ज गर्न फिजिकल पोर्ट नहुन पनि सक्छ ।  

तर म्यागसेफ र वायरलेस चार्जिङ दुवै वातावरणमैत्री अवधारण विपरीत छन् । किनभने तपाईंले म्यागसेफ प्रयोग गर्दा यसलाई छुट्टै प्याकेजिङमा किन्ने मात्र होइन, तपाईंको फोनलाई चाहिने सही र पर्याप्त स्पिडमा पनि यो उपलब्ध हुने छैन ।

अर्को कुरा भनेको वायरलेस चार्जिङ आफैंमा प्रभावकारी हुँदैन । किनभने तपाईंको डिभाइसमा पावर धेरै तहहुँदै पास हुन्छ, परम्परागत चार्जरमा जस्तै सोझै एउटा तारबाट होइन । तपाईंको फोन र चार्जरबीच विद्युतीय चुम्बकीय क्षेत्र निर्माण हुनु पर्दछ ।  

यसरी उर्जा प्रसार गर्दा धेरै ऊर्जा तापको रुपमा नष्ट हुन्छ । वायरलेस प्रतिविधिबाट फोन चार्ज गर्दा पहिले भन्दा ४७ प्रतिशत धेरै ऊर्जा खपत हुने डिबगर डट कमका एरिक बताउँछन् ।

कतिपय वायरलेस चार्जरले त डिभाइस चार्जर नगरी पावर मात्र सिपिङ गरेको पनि पाइन्छ । २४ घण्टा केही चार्ज नगरी ऊर्जा मात्र खेर गइरहेको हुन्छ । 

म्यागसेफको कुरा गर्दा यो पनि वायरलेस चार्जर जस्तै छ । यसमा चुम्बक छ । तर वायरयुक्त चार्जरको तुलनामा यो पनि राम्रो छैन । 

कम्पनीहरु हरित प्रिय हुन चाहन्छन् । त्यो राम्रो कुरा हो । तर याद राख्नुहोस्, उनीहरु त्यो समय र त्यति मात्रै हरित हुन चाहन्छन्, जतिमा उनीहरुले फाइदा देख्छन् ।

व्यवसाय यसरी नै चल्छ । कम्पनीहरुले हामीले बक्सको साइज यति सानो बनायौं र यति कार्बन फुटप्रिन्ट घटायौं भनेको सुन्दा राम्रो लाग्छ ।

तर उनीहरुले आफ्नो मात्र कार्बन फुटप्रिन्ट घटाएका हुन् । तर उनीहरुको कार्बन फुटप्रिन्टको भार उपभोक्तामा परेको छ ।

कम्पनीहरुका लागि यो भन्दा राम्रो वातावरणमैत्री कदम चार्जरलाई परित्याग गर्नुको साटो चार्जर राम्रो बनाउनुमा हुन्छ । यसक‍ा लागि राम्रो सामग्रीको प्रयोग गरिनु पर्छ । 

ग्यालियम नाइट्रेडमा बनेका चार्जर हामीले देख्न थालिसकेका छौं । यो एकदमै प्रभावकारी भएका कारण यसले थोरै सामग्री प्रयोग गरेर धेरै आउटपूट दिन सक्छ ।

साथै यो ठूला साना जुनसुकै चार्जिङ ब्रिकमा अट्छ । ग्यालियम नाइट्रेडले एकदमै कम ऊर्जा नास गर्दछ । यी चार्जरहरु ऊर्जाको हिसावले सामान्य सिलिकन चार्जरभन्दा २५ प्रतिशत धेरै प्रभावकारी हुन्छन् ।

यसको अर्थ यी चार्जर अहिले कम्पनीहरुले ल्याइरहेका वायरलेस चार्जरभन्दा ७० प्रतिशत धेरै प्रभावकारी हुन्छन् । ग्यालियम चार्जरमा ताप कम हुन्छ र यसको आयू पनि धेरै हुन्छ ।

यसैबीच एउटा शुभ समाचार पनि आएको छ । साओमीले चाइना फोनका लागि चार्जर हटाउने घोषणा गरे पनि एमआई इलाभेनको अन्तर्राष्ट्रिय भर्सनमा चार्जर ल्याउने घोषणा गरेको छ ।

त्यो पनि ५५ वाटको ग्यालियम नाइट्रेड चार्जर । साओमीको यो अन्तिम चार्जर ब्रिक भए पनि अब मानिसहरुले एउटा गुणस्तरिय ब्रिक प्रयोग गर्न पाउने भएका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३