close

फाेनबाट केही मिनेटमै बिना धिताे ऋण लिन पाइने

टेकपाना टेकपाना

फागुन ९, २०७७ १६:२७

फाेनबाट केही मिनेटमै बिना धिताे ऋण लिन पाइने

काठमाडौं । फोनबाट ऋण लिने सुविधाप्रति सेवाग्राहीकाे आकर्षण देखिएको छ । हाल फोन लोनको सुविधा तीन वटा वाणिज्य बैंकले दिएका छन् । यसअन्तर्गत नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् ।

नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत हालसम्म एक हजारले ऋण लिएका छन् । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको छ ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ ।

बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन् । बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ ।

यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झट हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रियाबिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।  बैंकहरूले यस प्रकारकाे ऋण अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिरहेका छन् ।

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा बताउँछन् ।

उनले भने, ‘एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गरेका हाैं । जसलाई बैंकहरूले एडप्ट गरिदिनुभयो । यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१