close

आफैं गुड्ने गाडीदेखि रेस्क्यु ड्रोनसम्मका प्रोजेक्ट हेर्न पाइने

टेकपाना टेकपाना

फागुन २१, २०७७ १४:४०

आफैं गुड्ने गाडीदेखि रेस्क्यु ड्रोनसम्मका प्रोजेक्ट हेर्न पाइने

काठमाडौं । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले काठमाडाैंमा आईओटी प्रदर्शनी गर्ने भएको छ ।

फागुन २८ गतेदेखि ४ दिनसम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि अटोनोमस भेहिकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएको छ ।

स्मार्ट सवारी नेपालमा कलेजस्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका निर्देशक अमृत थापाले बताए ।

प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका मोड्युल सफ्टवेरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञासुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्टवेरिका कलेजका स्ट्राटेजिक हेड मनोज श्रेष्ठ बताउँछन् ।

बेलयातको कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको यस कलेजले बिआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हबमै विद्यार्थीहरुले तयार गरेको बताइएको छ ।

कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको बताइएको छ ।

आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई ५ लाख रुपैयाँसम्म अनुदान दिने अध्यक्ष श्रेष्ठले बताए ।

५ हजारले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१