close

अनुमतिबिनै फ्रिक्वेन्सी उपयोग गर्न सकिने

टेकपाना टेकपाना

फागुन २८, २०७७ ८:५२

अनुमतिबिनै फ्रिक्वेन्सी उपयोग गर्न सकिने

काठमाडाैं । घरायसी प्रयोजनमा उपयोगी हुने निश्चित ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग गर्नसक्ने व्यवस्था गरिने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीमित क्षेत्रभित्र प्रयोग गर्न सकिने त्यस्तो फ्रिक्वेन्सीलाई सेवा प्रदायकले अनुमति नलिएरै प्रयोग गर्नसक्ने गरी तयारी थालेको हो ।

दूरसञ्चार सञ्जालको विकास एवं विस्तारका लागि आवश्यक पर्ने ‘अनलाइसन्स्ड (अनुमति लिनु नपर्ने) फ्रिक्वेन्सीका लागि प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गरेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

“अनुमति नलिएरै प्रयोग गर्न सकिने ब्यान्डको पहिचान गरेर प्राधिकरणले समितिलाई सिफारिस गरेको छ,” उनले भने, “समितिको स्वीकृतिपछि त्यस्तो फ्रिक्वेन्सी प्रयोग गर्न प्राधिकरणको स्वीकृति अनिवार्य हुने छैन ।”

प्राधिकरणले तत्काल ५.१ गिगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई अनलाइन्सेन्स्ड बनाउने गरी सिफारिस गरेको हो । खासगरी घरभित्र प्रयोग हुने वाईफाईको गुणस्तर सुधारका लागि यो ब्यान्ड उपयोगी हुने भएकाले सिफारिस गरिएको अर्यालले जानकारी दिए ।

घरभित्रको ‘कनेक्टिभिटी’लाई अवरोधमुक्त बनाउन पनि यो फ्रिक्वेन्सी सहयोगी हुनेछ । यसबाहेक ग्रामीण क्षेत्रमा टीभी ह्वाइट स्पेसको व्यवस्थाका लागि पनि माथिल्लो तहका यस्ता फ्रिक्वेन्सी उपयोग गर्न सकिन्छ ।

यस्तो व्यवस्थाबाट प्रयोगकर्ताले गुणस्तरीय सेवा प्रयोग गर्न पाउने र सेवा प्रदायकलाई पनि सेवा विस्तारमा झन् सजिलो हुने अर्याल बताउनुहुन्छ । सरकारले कार्यान्वयन गरिरहेको डिजिटल नेपाल फ्रेमवर्कको सफल कार्यान्वयनका लागि पनि यो व्यवस्थाले सहयोग पुग्ने उनकाे भनाइ छ ।

प्रवक्ता अर्यालका अनुसार २.४ र ५.८ गिगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी पनि अनुमति नलिई प्रयोग गर्न सक्ने व्यवस्था छ तर अधिक उपयोग हुनसक्ने अन्य ब्यान्डका फ्रिक्वेन्सीलाई पनि अनुमति नलिई प्रयोग गर्न पाउने व्यवस्था प्राधिकरणले गर्न लागेको हो ।

फ्रिक्वेन्सीलाई सीमित स्रोत मानिन्छ । त्यसैले पनि यसको वितरण सीमित मात्र हुने गर्छ । पछिल्लो समय नेपालमा बोलकबोलका आधारमा यस्तो फ्रिक्वेन्सीको मूल्य निर्धारण गरेर वितरण गर्न थालिएको छ । सीमित स्रोत भएकाले पनि प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई स्वीकृति लिएर मात्र यसको प्रयोग गर्न दिँदै आएको छ ।

यद्यपि केही ब्यान्डमा अनुमति नलिई दिन सकिने अध्ययन गरेर प्राधिकरणलाई समितिलाई सुझाव दिएको हो । अनुमति नलिए पनि सेवा प्रदायकलाई निश्चित मात्र फ्रिक्वेन्सी उपलब्ध गराइने अर्यालले बताए ।

प्राधिकरणले यसबाहेक पछिल्लो समय विकसित प्रविधिलाई आवश्यक फ्रिक्वेन्सी पनि दिनेगरी प्रक्रिया अगाडि बढाएको जनाएको छ । आमनागरिकको गुणस्तरीय एवं सहज जीवन जिउने वातावरण तयार गर्न नवीनतम प्रविधि तथा सेवाका लागि फ्रिक्वेन्सी उपलब्ध गराइने प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्ग्स (आईओटी), मेसिन टु मेसिन कम्युनिकेसन्सका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो ।

गाेरखापत्रबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१