close

नेपालीले बनाएको चल्ला उत्पादन गर्ने ‘पोथी’ मसिन अब विदेशमा बिक्री हुँदै

टेकपाना टेकपाना

चैत १७, २०७७ १६:४५

नेपालीले बनाएको चल्ला उत्पादन गर्ने ‘पोथी’ मसिन अब विदेशमा बिक्री हुँदै

काठमाडौं । कैलाली टीकापुरका सुमन पौडेल र विजय राज शाहीले निर्माण गरेको अण्डा कोरलेर चल्ला उत्पादन गर्ने ह्याचिङ मसिन पोथी अब थप अत्याधुनिक बनेको छ ।

मसिनलाई थप हाई टेक बनाएर दक्षिण एसियाली मुलुक बङ्गलादेश, भुटान र भारतका भू-भागमा निर्यात गर्ने तयारीमा कम्पनी रहेको २६ वर्षीय इलेक्ट्रिकल इन्जिनियर सुमन पौडेलले बताएका छन् ।

काइचो ग्रुप र पाथिभरा सेन्सर साेलुसन उद्याेगको सहकार्यमा पौडेलले डिजाइन गरेको पोथी मसिन एपबाट सञ्चालन गर्न सकिने ह्याचरी मसिन हो । कम्पनीले दक्षिण एसियामा उक्त मसिनलाई निर्यात गर्ने उद्देश्यले अहिले थप अत्याधुनिक प्रविधि थप गरेको उनी बताउँछन् ।

मसिनको अपरेसन, के कसरी काम गरिरहेको छ भन्नेजस्ता कुरा त पहिलेबाट नै हेर्न सम्भव थियो । तर अब मसिनमा कुनै समस्या आएको खण्डमा त्यसको अलर्ट कम्पनीको आफ्नो सर्भरमा आउनसक्ने भएको छ ।

‘अब कुनै पनि मसिनमा सानो समस्या आयो भने पनि कुन लोकेसनको कुन मसिनमा कस्तो समस्या आयो यी सबै कुराको अलर्ट हाम्रो सिस्टममा आउँछ,’ सुमन भन्छन्, ‘हामीले बनाएको राडरले त्यसलाई डिटेक्ट गर्दछ र हामी स्थानीय प्राविधिकलाई समस्याको समाधान गर्ने तरिका सिकाउन वा सम्झाउन सक्छौं । यसरी विदेशमा निर्यात गरेको मसिनलाई पनि देशमै बसेर मोनिटर गर्न सक्छौं ।’

‘ढाकाबाट यसको व्यापार सुरु गर्ने उद्देश्य छ,’ सुमनले भने, ‘हाम्रा साथी सर्कलबाटै कुराकानी पनि भइरहेको छ । बाहिर पठाउन मसिन रिकोग्नाइज गरी सर्टिफाइड गर्दैछौं ।’

यो नौलो किसिमको प्रविधि भएको सुमन दाबी गर्छन् । भारत वा चीनबाट आयात हुने ह्याचरी मसिनमा पोथीको जस्तो फिचर हुने उनको भनाइ छ ।

साथै बिजुली प्रयोग हुने मसिनहरुमा बिजुली आधाभन्दा कम खपत गर्ने क्षमता अभिवृद्धि गरिएको समेत उनले जानकारी दिए ।

हालसम्म पोथी मसिनको ठूला-साना गरी ८४ युनिट बिक्री भइसकेको उनले जानकारी दिए । यी मसिनहरु सामान्य बिजुलीमा चल्नेदेखि अत्याधुनिकसम्म छन् । जसको मूल्य ८० हजार नेपाली रुपैयाँ देखि ३२ लाख रुपैयाँसम्म पर्ने उनी बताउँछन् ।

यसबीच सुमनले पोथी मसिनमा विभिन्न भेरियन्ट पनि निर्माण गरिसकेका छन् । पोथी स्मार्ट बिजुली कम खपत गर्ने तथा चल्ला अधिक उत्पादन गर्न सक्ने क्षमता भएको मसिन हो । बिजुली गएको खण्डमा पनि यो तीनदेखि पाँच घण्टासम्म चलिरहन्छ । यसमा ५२८ देखि ३२ सयसम्म चल्ला उत्पादन गर्ने क्षमता छ ।

यस्तै अर्को पोथी दुर्गम ब्याट्रीबाट चल्ने मसिन हो । विद्युत नभएका वा नपुगेका ठाउँमा यसको प्रयोग गर्न सकिन्छ । यसमा १४० देखि एक हजार अण्डा निकाल्ने क्षमता छ । यो घरायसी प्रयोजनका लागि समेत प्रयोग हुनसक्छ ।

पोथी ठिमाहा बिजुली र ब्याट्री दुवैबाट चल्नसक्ने मसिन हो । यसमा पनि ५२८ देखि ३२ सयसम्म अण्डा कोरल्ने क्षमता छ ।

पोथी सस्तो सामान्य मसिन हो जसमा ७० देखि तीन सय वटा अण्डा कोरल्न सक्ने क्षमता छ ।

अन्तिममा पोथी भविष्य ठूलो ह्याचरी मसिन हो, जसमा धेरै अण्डा कोरल्न सक्ने क्षमता छ । यसमा अधिकांश फिचरहरु स्वचालित छन् ।

सुमन पाैडेल

यसमा तापक्रम, आद्रता, अक्सिजन, अण्डाको रोटेसन, अण्डाको चेन्जिङ समय, आपतकालीन अलर्ट, एसएमएस अलर्ट जस्ता ३० भन्दा धेरै सुविधा छन् । यसमा १२ सयभन्दा धेरै अण्डा कोरल्न सक्ने क्षमता छ ।

यी मसिनबाट कुखुरा, हाँस, टर्की, कालिज, बटाई, तित्रा, फेन्सीजस्ता पंक्षीहरुको अण्डा कोरलेर चल्ला निकाल्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३