close

फाइभजीमा नेपालको अध्ययन, अनुसन्धान र विकास

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १८:५४

फाइभजीमा नेपालको अध्ययन, अनुसन्धान र विकास

सी मणि चौलागाईं, प्राविधिक सदस्य, नेपाल दूरसञ्चार प्राधिकरण बोर्ड

फाइभजी अहिले विश्वव्यापी रुपमा विस्तार भइरहेको छ । हाल विश्वका ४८ देशका ११५ सेवा प्रदायकले फाइभजी सेवा सञ्चालनमा ल्याएका छन् ।

सन् २०२५ सम्म विश्वको कुल जनसंख्याको एक तिहाई  भागको पुहुँचमा फाइभजी पुगिसक्ने अनुमान गरिएको छ । नेपालको हकमा हामीले पछिल्लो १८–२० महिनादेखि यसमा काम गरिरहेका छौं ।

नियामक निकायको रुपमा नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरेको छ । जसमा मन्त्रालयका प्रतिनिधिका साथै प्राधिकरणका प्राविधिक प्रतिनिधि, सेवाप्रदायकका प्रतिनिधि, भेण्डरका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

प्राधिकरणको प्राविधिक बोर्ड सदस्य हैसियतले म त्यसको अध्यक्ष छु । फोरमले फाइभजी फ्रिक्वेन्सी पहिचानको काम सम्पन्न गरेको छ । हामीले तीन-चार महिना अघिमात्रै अध्ययन सकेर प्राधिकरणको बोर्डमा प्रस्तुत गरेका थियौं ।

त्यहाँबाट पारित भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको  राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुगेको छ । उक्त समितिले सेवा प्रदायकलाई फाइभजी परीक्षण गर्न दिने निर्णय गरिसकेको छ ।

कार्यक्रमको विस्तृत भिडियो

अब फ्रिक्वेन्सी निर्धारणको काम मात्रै बाँकी छ । उक्त निर्णय पनि अबको केही समय पश्चात हुनेछ । त्यसपश्चात नेपाल टेलिकमले फाइभजी परीक्षण गर्नेछ र परीक्षणको काम सन् २०२१ को अन्त्यसम्म सकिन्छ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

बाँकी हामीले फाइभजीको विषयमा विश्वको अनुभवलाई नै आधार मानेर छलफल गरेका छौं । यसका लागि हामीले आईटीयू, लगायत अन्तर्राष्ट्रिय अध्ययनलाई आधार बनाएर काम गरिरहेका छौं ।

साथै, फाइभजीका लागि आवश्यक ब्याडविथ, नेटवर्क लगायतका प्राविधिक पक्षको विषयमा पनि हामीले काम सकिसकेका छौं । सँगसँगै फाइभजीका लागि इकोसिस्टमसँगै सहज नीतिगत व्यवस्था आवश्यक पर्छ भन्ने हामीलाई लागेको छ ।

त्यही अनुसारको काम हामले गरिरहेका छौं । सेवा प्रदायसकसँग भएको फ्रिक्वेन्सीलाई रिफार्मिङ गर्ने काम पनि भइरहेको छ ।

हामीले ब्याण्डविथको लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि गरिरहेका छौं । इन्फरमेसन सुपर हाइवे निर्माणको काम पनि भइरहेको छ ।

जसमा दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा भएको रकम प्रयोगमा ल्याएको छ । हामीले हाइवेमा अप्टिकल फाइबर विच्छ्याउने काम गरिरहेका छौं ।

यसले आगामी दिनमा फाइभजी विस्तारमा पनि ठूलो मद्दत गर्नेछ । हामीले एज लेयरमा पनि काम गरिरहेका छौं ।

त्यस्तै, एक्सेस नेटर्वकका लागि फाइभजी तथा फोरजीका लागि आवश्यक बढी भन्दा बढी फ्रिक्वेन्सी प्रदान गरिरहेका छौं । हामीले सबै ब्याण्डलाई प्रविधि तटस्थता गर्ने काम गरिरहेको छौं ।

हामीले फाइभजीमा आवश्यक सम्पूर्ण कदम चालिसकेका छौं । यो निर्णको प्रक्रियामा भएकाले सबै कुरा भन्नसक्ने अवस्थामा भएन ।

तर, जुन खालको निर्णय भएका छन्, ती सबै अन्तर्राष्ट्रिय अध्ययन र आईटीयूको मापदण्डसँग मिलाएर गरेका छौं । भोलिका दिनमा फाइभजीका लागि उपलब्ध हुने फ्रिक्वेन्सी पनि पूर्ण रुपमा प्रविधि तटस्थतामा आधारित हुने छ । 

आईएसएम ब्याण्डको हकमा हामीले केही ब्याण्ड उपलब्ध गराएका छौं । कतिपय ब्याण्ड नियमनमै छैनन् ।

हामीले आईटीयूको सुझाव अनुसार फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी तय गरेका छौं । हामीसँग फाइभजीका लागि पर्याप्त फ्रिक्वेन्सी उपलब्ध छ ।

त्यसको शुल्कको शूल्कको विषयमा विचार गर्नुपर्ने माग सेवाप्रदायकबाट आएको छ । त्यो हामी पक्कै पनि हेर्नेछौं ।

नियामकको रुपमा हामीले फ्रिक्वेन्सीको नियमन र सेवा प्रदायकलाई सहजता प्रदान गर्ने हो । तर, फोरजीबाट फाइभजीमा कसरी जाने भन्ने कुरा पूर्ण रुपमा बजारले निर्धारण गर्ने विषय हो ।

हामीलाई थाहा छ, फोरजी अबको १० देखी १५ वर्षको समय अवधिका लागि रहन सक्ला । तर सधैं रहन्छ भन्ने हुँदैन । त्यसैले फाइभजीमा जानुपर्ने नै हुन्छ ।

तर, त्यसका लागि बजार तयार हुनुपर्ने आवश्यकता छ । प्राधिकरणको बुझाई के छ भने फाइभजी सुरुमा सहरी क्षेत्रबाट गाउँतिर विस्तार हुँदै जान्छ भन्ने हो ।

फाइभजीमा एउटा थिंकट्याङको आवश्यकता छ । नियामकको हिसाबले यसको अनुसन्धान र विकासलाई हाम्रो वार्षिक कार्यक्रमको रुपमा राख्ने नै छौं ।

फाइभजी नेटवर्कका लागि टेकपानाले पनि एउटा छुट्टै नेटवर्क बनाउन सक्छ । त्रिविको पुल्चोक इन्जिनियरिङलाई पनि यसमा सहयोग गरिरहेका छौं ।

हाम्रो दूरसञ्चार नीतिले सबै सेवाप्रदायकलाई समान व्यवहार गर्ने भनेको छ । ठिकै छ, नेपाल टेलिकमले हालका लागि पाएको छ ।

उ अघि बढोस् । तर, अन्य सेवा प्रदायकले पनि माग गरेको खण्डमा पाउन सक्छन् । यो विषय हाल फ्रिक्वेन्सी समिति र प्राधिकरण बोर्ड दुवै ठाउँमा छलफलमा रहेको छ ।

टेकपाना मिडियाले शनिबार ‘फाइभजी र नेपालको तयारी’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य (प्राविधिक) ले व्यक्त गरेको विचारको सम्पादित अंश

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१