close

पूर्वाधार सहप्रयोगमा नीतिगत बहस, घट्ला त इन्टरनेटको मूल्य ?

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १३:२०

पूर्वाधार सहप्रयोगमा नीतिगत बहस, घट्ला त इन्टरनेटको मूल्य ?

काठमाडौं । दूरसञ्चार पूर्वाधारमा अनावश्यक रुपमा भइरहेको दोहोरो लगानीलाई कम गरी दूरसञ्चार सेवा सस्तो बनाउने सरकारी प्रयासमा साथ दिन टेकपानाले विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ । दूरसञ्चार नीतिगत बहसको तेस्रो श्रृङ्खलामा शनिबार ‘पूर्वाधार सहप्रयोगः नेपाली मोडल’ विषयक प्यानल छलफल हुने भएको हो ।

शनिबार दिउँसो ४ बजेदेखि भर्चुअल रुपमा सुरु हुने कार्यक्रम टेकपानाको आधिकारिक फेसबुक पेजबाट लाइभ प्रसारण समेत हुनेछ । जसमा दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धि अन्तर्राष्ट्रिय अभ्यास, सरकारको तयारी, नेपालका लागि उपयुक्त हुने मोडालिटी आदि विषयमा गहन छलफल हुनेछ ।

त्यसो त सरकारले दूरसञ्चार पुर्वाधारका लागि छुट्टै कम्पनी ल्याउने तयारी थालिसकेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चारका पूर्वाधार सम्बन्धी नियमावली, २०७७ को मस्यौदा तयार पारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइसकेको छ ।

वातावरणीय संरक्षण र सहरी सौन्दर्यका लागि समेत दूरसञ्चार पूर्वाधारको निर्माण तथा प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तयार पारिएको नियमावलीले पूर्वाधार सहप्रयोग अनिवार्य गर्ने प्रस्ताव गरेको छ । कुनै सेवा प्रदायकले सहप्रयोगका लागि अनुरोध गरेको खण्डमा अर्को सेवाप्रदायकले निषेध तथा ढिलाई गर्न नपाउने बाध्यकारी व्यवस्था समेत त्यसमा राखिएको छ ।

यसरी दूरसञ्चारका पूर्वाधारहरु सहप्रयोग गर्दा सेवा प्रदायकले ‘पहिले आउनेलाई प्राथमिकता’ दिनुपर्नेछ । जसले प्रतिश्पर्धाको वातावरण समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ । नियमावली मस्यौदा अनुसार पुर्वाधार कम्पनी खडा भएको खण्डमा इन्टरनेट सेवाको मूल्य हालको तुलानामा ५० प्रतिशतसम्म कम हुने सेवाप्रदायककै सेवा प्रदायकहरुकै भनाई छ ।

पूर्वाधारमा लगानी गर्नु नपर्ने अवस्थामा इन्टरनेट विस्तारमा समेत सहजता हुनेछ । यसले सेवा प्रदायकले सेवाग्राहीलाई प्रतिस्पर्धी तथा सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न सफल हुनेछन् ।

यस्ता छन् कार्यक्रमका वक्ता

कार्यक्रममा नियामाक नेपाल दूरसञ्चार प्राधिकरण, सेवा प्रदायकका प्रतिनिधी, अन्तर्राष्ट्रिय दूरसञ्चार पूर्वाधार विज्ञ सहितको सहभागीता रहने छ । नियामक प्राधिकरणबाट उप–निर्देशक अच्युतानन्द मिश्र सहभागी हुनेछन् ।

उनी विगत ११ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् । प्राधिकरणले तयार पारेको दूरसञ्चार पूर्वाधार नियामावलीको मस्यौदामा समेत काम गरेका उनले आज नितिगत रुपमा प्राधिकरणको तयारीको विषयमा चर्चा गर्नेछन् ।

त्यस्तै नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य अर्का प्यानलिस्टको रुपमा आजको कार्यक्रममा सहभागी हुँदैछन् ।  दूरसञ्चार पुर्वाधार र ब्याकबोनमा लामो अनुभवसहितको ज्ञान राख्ने उनले क्यानडाको युनिभर्सिटी अफ ग्वेल्फबाट विद्यावारिधी गरेका छन् ।

आचार्य सन् १९९५ मा नेपाल टेलिकममा इन्जिनियरको रुपमा प्रवेश गरेका थिए । टेलिकम अन्तर्गतका ग्रामीण परियोजनामा गहिरो अनुभव रहेका आचार्य हाल कम्पनीकै ब्याकबोन ट्रान्समिसन निर्देशनालयमा कार्यरत छन् ।

उनले सेवा प्रदायकको रुपमा टेलिकमको तयारी, पूर्वाधार कम्पनीको आवश्यक्ता लगायतको विषयमा आफ्नो विज्ञता तथा अनुभव साँट्नेछन् । इन्टरनेट सेवाप्रदायकहरुको तर्फबाट आइस्पानका पूर्व अध्यक्ष अध्यक्ष दिलिप अग्रवालले बहसमा सहभागीता जनाउनेछन् ।

उनी नेपालकै अग्रणी इन्टरनेट कम्पनी वल्र्डलिंक कम्युनिकेसनका अध्यक्ष समेत हुन् । २५ वर्ष अघि नेपालमै पहिलोपटक निजी क्षेत्रबाट इन्टरनेट सेवा सुरु गर्ने श्रेय समेत अग्रवाललाई नै जान्छ ।

सार्वजनिक स्थलहरुमा निःशुल्क इन्टरनेट प्रदान गर्ने, नेपालमै पहिलोपटक इन्टरनेट सेवामा विदेशी लगानी भित्र्याउने, देशका प्रमुख स्थानमा डेटा सेन्टर निर्माण गर्नेजस्ता नवीनतम परियोजनालाई उनले नेतृत्व प्रदान गर्दै आएका छन् ।

यो बहसमा उनले इन्टरनेट सेवा प्रदायकका लागि पूवार्धार कम्पनीको महत्व र यसले इन्टरनेट सेवामा पार्ने प्रभावको विषयमा सेवाप्रदायकहरुको दृष्टिकोण प्रस्तुत गर्नेछन् । त्यस्तै आजको बहसमा दूरसञ्चार पूर्वाधार विज्ञ बेनोइट फेल्टनले अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको अनुभव व्यक्त गर्नेछन् ।

डिफ्रेन्ट एनालिससका सीईओ तथा संस्थापक समेत रहेका उनी नेक्स्ट जेनरेसन एक्सेस अर्थात आगामी पुस्ताको नेटवर्क, फाईभजी लगायतको क्षेत्रका विज्ञ हुन् । उनीसँग फिक्स नेटवर्कको विजनेस मोडल, त्यसका लागि आवश्यक प्रविधि, लिन सकिने अवसर र त्यसका लागि बजार रणनीति तयार गर्ने कामको अनुभव समेत रहेको छ ।

फेल्टनले फाइबर नेटर्वकका लागि आवश्यक नीति निर्माणमा पनि काम गरिसकेका छन् । उनको यो अनुभव नेपालको दूरसञ्चार क्षेत्र र आगामी पूर्वाधार कम्पनी निर्माणका लागि सरकारले चाल्ने कदममा पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।

टेलिकम इन्जिनियर केशव ज्ञवाली कार्यक्रमको मोडरेटरको रुपमा रहनेछन् । व्यवस्थापन सिद्धान्तमा डिग्रीसमेत लिएका ज्ञवालीले सन १९९४ मा नेपाल टेलिकमबाट आफ्नो करियर सुरु गरेका थिए ।

त्यसपछि लामो समय यूटीएलमा काम गरेका उनले सन् २०१६ देखि एभान्ट ग्रेड सोलुसनको निर्देशकको रुपमा काम गर्दै आएका छन् । दूरसञ्चारसँग सम्बन्धित उहाँका अनेकौ अध्ययन प्रतिवेदन प्रकाशित छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१