close

संक्रमितलाई आईसीयू, अक्सिजन र एम्बुलेन्स खोज्न सघाउँदै ‘कोभिड कनेक्ट नेपाल’

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १३:३०

संक्रमितलाई आईसीयू, अक्सिजन र एम्बुलेन्स खोज्न सघाउँदै ‘कोभिड कनेक्ट नेपाल’

काठमाडौं । अहिले काेभिड-१९ नयाँ भेरियन्ट नेपालमा पनि तीव्र रूपमा फैलिरहेकाे छ । छिमेकी मुलुक भारतमा कोभिड महामारीका अवस्थामा अस्पतालका शैय्या, अक्सिजन र एम्बुलेन्सको कमीले मानव संकटको ठूलै विपत्ति आइलाग्यो ।

नेपालमा पनि पछिल्लाे समय संक्रमितहरूले उचित उपचार नपाउँदा ज्यान गुमाउनु परिहरेकाे अवस्था छ । स्वास्थ पूर्वाधार र संरचना कमजोर भएको नेपालजस्तो मुलुकमा काेभिड-१९ ले भयावह रूप लिनसक्ने चेतावनी विज्ञहरूले दिइरहेका छन् ।

यसैबीच विभिन्न क्षेत्रमा लागिरहेका स्वतन्त्र युवाहरुले एउटा समूह बनाएर भारतमा जस्तो भयावह अवस्था आउन नदिन अनलाइन सपोर्ट सिस्टम कोभिड कनेक्ट नेपाल बनाएर भोल्युन्टियरी सेवा दिन थालेका छन् ।

‘कोभिड कनेक्ट नेपाल’ मार्फत अहिले यी युवाहरुले देशभरका कोभिड संक्रमितहरुलाई आवश्यक शैय्या, आईसीयू, अक्सिजन, भेन्टिलेटर बेड र एम्बुलेन्ससँग जोडिदिने काम गरिरहेका छन् ।

यी अत्यावश्यक कुरा नपाइरहेका कोभिड संक्रमित तथा संक्रमितहरुको आफन्तले कोभिड कनेक्ट नेपालको वेबसाइट, फेसबुक पेज वा वेबसाइटमा उल्लेख गरिएका हटलाइन नम्बरहरुमा सम्पर्क गरी आवश्यक सेवाहरु खोज्न वा सहजीकरणका लागि सहयोग लिन सक्छन् ।

सहयोगका लागि संक्रमितका आफन्तहरुबाट रिक्वेस्ट आएपछि टिमका भोल्युन्टियरहरुले उनीहरुको रिक्वेस्ट र अस्पतालको प्रेस्क्रिप्सनलाई भेरिफाइड गर्दछ ।

‘हामीसँग स्वास्थकर्मी, बायोमेडिकल इन्जिनियरलगायत विभिन्न भोल्युन्टियरहरु गरी सय जनाकाे टिम छ,’ कोभिड कनेक्ट नेपाल इनिसिएटिभ्सकी सदस्य ईडा रिजालले भनिन् ।

उनी अगाडि भन्छिन्, ‘हामीलाई वेबसाइट, साेसल मिडिया र हटलाइन नम्बरजस्ता प्लेटफर्मबाट रिक्वेस्ट आउँछन् । रिक्वेस्ट आइसकेपछि हामीसँग ४० जनाभन्दा धेरै भोल्युन्टियर सपोर्ट टिममै हुनुहुन्छ । उहाँहरुले ती रिक्वेस्टलाई भेरिफाइड गर्नुहुन्छ ।  यसपछि हामी हाम्रो डेटामा रहेका सेवाहरु उहाँहरुलाई रेकमेन्ड गर्छौं ।’

प्लेटफर्मले आईसीयू, अक्सिजनजस्ता महत्वपूर्ण सेवाहरु चिकित्सकको रेकमेन्डेसन बाहेकको अवस्थामा उपलब्ध नगराउने गरेको उनी बताउँछिन् ।

‘हामीसँग भएका चिकित्सकहरुले बिरामीहरुलाई परामर्श दिनुहुन्छ र उहाँहरुलाई कस्तो सेवाको आवश्यकता छ, यसअनुसार हामी वेबसाइटमा अपडेट गरिदिन्छौं  । आवश्यक नभएको खण्डमा घरमै बसी आराम गर्न चिकित्सकले सल्लाह दिनुहुन्छ । तर गाह्रो अवस्था नै छ भने डाक्टरहरुले हामीलाई पठाइदिनुहोस् भन्नुहुन्छ र हामी वेबसाइटमार्फत बेडहरु खोज्ने काम गर्छौं,’ रिजालले भनिन् ।

उनका अनुसार आईसीयू र भेन्टिलेटरको केसमा चाहिँ चिकित्सकको रेकोमेन्डेसन चाहिन्छ । ‘आईसीयू खोज्नुहोस् भनेर डाक्टरले भन्छ भने हामी कुन अस्पताल र चिकित्सकले रेफर गरेको हो भनेर सबै इन्फर्मेसन लिएर अपडेट गर्छौं ।

हामीसँग भएका ६० जना भोल्युन्टियरले नेपालको कुन ठाउँको कुन अस्पतालमा कति बेड छन्, भनेर हरेक घण्टा हेरिरहेका हुन्छन् । उनीहरुले नै ल्याएको भेरिफाइड डेटाको आधारमा हामी यति वटा बेड यहाँ खाली छ भनेर अस्पतालसम्म जोडिदिने काम गर्छौं,’ उनले भनिन् ।

उपत्यकाबाहिर सहजीकरणका लागि कोभिड कनेक्टको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि भोल्युटियर टिम छ । जसले स्थानीय ठाउँहरुमा बिरामी र अस्पतालहरुलाई जोड्ने काम गरिरहेका छन् ।

साथै समूहसँग कहाँ के कति अक्सिजन उत्पादन भइरहेको छ भन्ने आफ्नो डेटाबेस पनि भएका कारण अस्पताललाई चाहिएको अवस्थामा जोडिदिने काम भइरहेकाे छ ।

अहिले काेराेना संक्रमितकाे संख्या तीव्र रूपमा बढिरहँदा नेपालमा पनि बेड, अक्सिजन, आईसीयूको माग बढिरहेको छ ।

यस्ताे अवस्थामा सुरू भएकाे काेभिड कनेक्ट नेपाल अभियानले तत्काल सेवा चाहने संक्रमितका लागि सहजीकरण गरिरहेकाे छ । आठ जनाबाट सुरू भएकाे याे अभियानमा अहिले एक सय जनाभन्दा बढी आवद्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१