close

टेकपानामा आजको बहसः गाउँगाउँमा इन्टरनेट पुर्‍याउन किन ढिलाई ?

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १४:४२

टेकपानामा आजको बहसः गाउँगाउँमा इन्टरनेट पुर्‍याउन किन ढिलाई ?

काठमाडौं । टेकपाना मिडियाको आयोजनामा जारी ‘टेल्कोज पोलिसी डिबेट सिरिज’ अन्तर्गत शनिबार ग्रामीण दूरसञ्चार विकास कोषको प्रभावकारीता माथि बहस हुँदैछ । गाउँ गाउँसम्म इन्टरनेट तथा टेलिफोन सेवा पुर्‍याउन कोष तयार पारिएको भए पनि आम जनताले त्यसको लाभ लिन पाइरहेका छैनन् ।

यसै सन्दर्भमा शनिबारको बहस ‘ग्रामिण दूरसञ्चार विकास कोषको प्रभावकारी उपयोग’ विषयमा केन्द्रीत हुने भएको हो । कार्यक्रममा दूरसञ्चार नीति विज्ञ डा रोहन सामराजिभा, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडा, इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) का पूर्व अध्यक्ष विनय बोहोरा प्यानलिस्टको रुपमा रहने छन् ।

टेलिकम इन्जिनियर केशव ज्ञावालीले प्यानल छलफलमा मोडरेटरको भूमिका निभाउनेछन् । टेकपाना मिडियाले २०७७ चैत ३० देखि सुरु गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खला अन्तर्गत ४ वटा विषयमाथिको बहस सम्पन्न भइसकेको छ ।

जसमा उत्पादनमूलक क्षेत्रमा ब्रोडब्याण्डको प्रयोग, फाइभजीका लागि नेपालको तयारी र दूरसञ्चार पूर्वाधार सहप्रयोगको नेपाली मोडल रहेका थिए । कार्यक्रम टेकपानाको फेसबुक पेजबाट लाइभ प्रसारण हुनेछ ।

यस्ता छन् आजका प्यानलिस्ट

आजको कार्यक्रममा इन्टरनेट सेवाप्रदायक संघ नेपालको तर्फबाट पूर्व अध्यक्ष विनय बोहोराले बहस गर्नेछन् । सन् १९९४ मा डा अम्बेडकर इन्स्टिच्युट अफ टेक्नोलोजीबाट कम्प्युटर ईन्जिनियरिङ गरेका बोहोरा इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका सञ्चालक तथा प्रबन्ध निर्देशक हुन् ।

विनय बोहोरा, पूर्व अध्यक्ष, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)

उनलाई भायनेट मार्फत नेपालमै पहिलो पटक पूर्णत एफटीटीएच प्रविधिमा आधारित इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जस छ । उनको कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत सुदूरपश्चिमका केही पहाडी जिल्लामा इन्टरनेट सेवा विस्तारको काम समेत गरिरहेको छ।

नेपाल टेलिकम अन्तर्गत सञ्चालित ग्रामीण दूरसञ्चार विकास कोष परियोजना प्रमुख विनिता श्रेष्ठ कार्यक्रमकी अर्की प्यानलिस्ट हुन् । स्विचिङ इन्जिनियरका रुपमा २५ बर्ष अघि नेपाल टेलिकम प्रवेश गरेकी उनी विगत ४ महिना यता कम्पनीकै ग्रामीण दूरसञ्चार विकास कोष परिचालन परियोजनाको निर्देशकको रुपमा छिन् ।

विनिता श्रेष्ठ, नेपाल टेलिकम

त्यसअघि टेलिकमको चिफ कमर्सियल अफिसरका रुपमा कार्यरत श्रेष्ठसँग १४ वर्ष सपोर्ट सिस्टममा रहेर काम गरेको अनुभव छ । जहाँ उनले देशैभरका सबै जिल्लामा १५ हजार इन्टरनेट डायल अप पुर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

टेलिकमका सबै सेवाहरुको एकीकृत बिलिङ प्रणाली तयार गर्ने कार्यलाई समेत नेतृत्व दिएकी उनीसँग डेटा म्यानेजरका रुपमा टेलिकमको इन्टरनेसनल नेटवर्क, ब्याकबोन नेटवर्क र सेक्युरिटी सिस्टममा पनि काम गरेको अनुभव पनि छ ।

डिजिटल पोलिसी रिसर्च सम्बन्धी दक्षिण एसियाली संस्था लर्न एसियाका अध्यक्ष तथा सीईओ रोहन सामाराजिभा प्यानलमा विज्ञको रुपमा सहभागी हुनेछन् । सन् १९९८ मा श्रीलंकाको दूरसञ्चार नियमन आयोगका प्रबन्ध निर्देशक रहिसेका उनले सिमोन फ्रासर युनिभर्सिटीबाट पब्लिक पोलिसीमा पीएचडी पुरा गरेका छन् ।

डा रोहन सामराजिभा, दूरसञ्चार नीति विज्ञ

दूरसञ्चार क्षेत्रको नीतिगत सुधारका विज्ञ सामराजिभा आईसीटी एजेन्सी श्रीलंकाको अध्यक्ष, रिसर्च आईसीटी अफ्रिकाको बोर्ड सदस्य,, प्यासिफिक आईसीटी रिसोर्स सेन्टरको परामर्शदाता, आईसीटी एजेन्सी श्रीलंकाको निर्देशकसँगै टेक्निकल युनिभर्सिटी अफ डेल्फका भिजिटिंग प्रोफेसर र ओहियो स्टेट युनिभर्सिटीको एसोसियट प्रोफोसर समेत रहिसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडा आजको बहसका लागि अर्का वक्ताको रुपमा रहनेछन् । करिब साढे १९ वर्षदेखि नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत उनले काठमाडौं विश्वविद्यालयबाट इलेक्टिकल एण्ड इलेक्ट्रोनिक्स विषयमा पीएचडी गरेका छन् ।

डा सुरेन्द्रलाल हाडा, निर्देशक नेपाल दूरसञ्चार प्राधिकरण

सिटी युनिभर्सिटी अफ लण्डनका अप्टिक्स एन्ड अप्टिकल साइन्सेस रिसर्च स्कलर उनले युनिभर्सिटी अफ वेस्टइन्डिजबाट टेलिकम इन्जिनियरिङमा एमएस, बंग्लादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरङ र काठमाडौं युनिभर्सिटीबाट प्रोजेक्ट म्यानेजमेन्टमा एमबीए  समेत गरेका छन् । 

अहिले उनी नियामक दूरसञ्चार प्राधिकरणमा पूर्वाधार महाशाखा प्रमुखको रुपमा कार्यरत छन् । जसअन्तर्गत पूर्वाधार विकास शाखा, ग्रामीण दूरसञ्चार विकास शाखा र प्रविधि अनुसन्धान तथा विकास शाखा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१