close

चीनको शक्तिशाली रकेट पृथ्वीमा खस्दा किन भइरहेको छ विवाद ?

टेकपाना टेकपाना

बैशाख २८, २०७८ १५:५६

चीनको शक्तिशाली रकेट पृथ्वीमा खस्दा किन भइरहेको छ विवाद ?

काठमाडौं । चीनले गत महिना आफ्नो सबैभन्दा शक्तिशाली रकेट प्रयोग गरी स्थायी अन्तरिक्ष केन्द्रको पहिलो टुक्रा पृथ्वी कक्षमा प्रक्षेपण गर्‍यो । तर उक्त रकेट अनियन्त्रित भएर पृथ्वीमा पुन: प्रवेश गरेपछि यसले विश्वकै ध्यान खिच्यो ।

‘लङ मार्च फाइभबी’ नामको सो रकेटले गत अप्रिल २९ मा स्थायी अन्तरिक्ष केन्द्राको सानो टुक्रालाई सफलतापूर्वक पृथ्वी कक्षमा छोडेको थियो । तर सो टुक्राको प्रक्षेपणपछि रकेट एकाएक अनियन्त्रित भएर पृथ्वीको प्रवेश केन्द्रतिर उन्मुख हुन थाल्यो ।

अन्तराष्ट्रिय जगतले यो पृथ्वीको सतहमा छिर्ने, तर कुन स्थानमा झर्ने पक्का नहुने चेतावनी दिन थाल्यो । त्यसले २०२० को मे मा पहिलो लङ मार्च फाइभ बीको पाटपूर्जा आईभोरी कोस्टमा झर्दा भौतिक क्षतिको दु:खत घटनाको सबैलाई झझल्को पनि दियो । त्यसैले धेरैजना त्रसित बने ।

तर गत आइतबार दश दिनपछि रकेटको पाटपूर्जा हिन्द महासागरभित्र खस्यो । तैपनि चीनलाई सुख मिलेन । रकेटको पुन: प्रवेशको समय र त्यसको खस्ने स्थानलाई लिएर पारदर्शी नभएको भन्दै चीन आलोचनाको घेराभित्र फस्यो । 

चीनले के भन्यो त ?

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन सीएनएसएले रकेटको पुन: प्रवेशको विषयमा आइतबार (रकेट खसेको दिन) सम्म केही पनि बोलेन । जुन स्वभाविक अन्तर्राष्ट्रिय अभ्यासको विपरित हो । किनभने रकेट पृथ्वी सतहमा खस्नुभन्दा अगाडि नै प्रक्षेपण गर्ने मुलुकले यसको प्रारम्भिक सार्वजनिक घोषणा गर्नुपर्छ ।

चीनको यही मौनताको र गैरजिम्मेवारी रवैयाका कारण अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु लङ मार्च फाइभबीको अन्तिम  गन्तव्यलाई लिएर ठूलो आवाज उठाएको म्याक्युरी विश्वविद्यालयमा एस्ट्रोफिजिक्सका प्राध्यापक रिचर्ड डी ग्रिज्स बताउँछन् ।

धेरै मुलुकमा सम्भावित प्रभावित क्षेत्रलाई लिएर ठूलो तनावको स्थिति उत्पन्न भएको थियो । पछि रकेट भारत र माल्दिभ्स नजिकको हिन्द महासागरमा खसेको थियो । यसबारे सीएनएसएले कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गर्‍यो ।

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता ह्या चुनियिङले गत सोमबार विदेशी मिडियाहरुसँग बोल्दै आफूहरुले ‘अन्तराष्ट्रिय सहकार्यात्मक मेकानिज्म’बाट रिइन्ट्री प्रेडिक्सनको परिणाम अरुसँग शेयर गरिसकेको बताइन् ।

तर माल्दिभ्स र भारतलाई यसबारे जानकारी गराएको वा नगराएको बारेमा बुझ्दा उनले परिणाम शेयर कहिले गरेको भनेर ठोस उत्तर दिन सकिनन् ।

चीनले त्यस्तो जोखिमपूर्ण परिस्थितिमा पनि जनजीवनमाथिको खतरा घटाउने तथा पारदर्शिता बढाउनुपर्ने दायित्वको मापदण्डलाई पुरा गर्न असफल रहेको नासाले आरोप लगायो । 

अल्प ज्ञान

चिनियाँ वैज्ञानिकलाई नै रकेटको डिजाइन (नष्ट हुने वा सुरक्षित रहने) विषयमा अल्प ज्ञान भएको बताइन्छ ।

उक्त चिनियाँ रकेटमा एउटा मात्र कोर स्टेज थियो, जबकि अन्य रकेटमा दुई वा कुनैमा तीन वटासम्म स्टेज हुन्छन् । चीनले रकेट डिजाइन गर्दा शक्तिमा मात्र केन्द्रित गरेको प्राध्यापक ग्रिज्स बताउँछन् ।

‘चीनको रकेट डिजाइनले सबै कुरालाई छोडेर शक्तिलाई मात्र प्राथमिकतामा राखेको देखिन्छ, ताकि पृथ्वी कक्षमा भारीभर्कम पेलोड पुर्‍याउन पर्याप्त शक्ति खर्चन सकियोस्,’ ग्रिज्स भन्छन् ।

त्यसो त अन्तरिक्षबाट खसेको कुनै पनि रकेटको पाटठपूर्जाले पृथ्वीमा आएर मानव वा धनजनको क्षति गर्ने सम्भावना एकदमै कम हुन्छ । किनभने अधिकांश पूर्जा त पृथ्वीको वायुमण्डलमा छिर्दै गर्दा जलेर नै नष्ट हुन्छन् ।

यद्यपि केही बलियो सोलिड पार्ट भने उस्तै रहन्छ । हालै पृथ्वीमा खसेको यो रकेटले कुनै पनि क्षति गरेको खबर बाहिर आएका छैनन् ।

पछिल्लो दुई वर्षमा खसेको चीनका दुईवटा लङ मार्च फाइभबी रकेट पृथ्वीमा पुन: प्रवेश गर्दा पूर्णरुपमा जलेर नष्ट भएको रेकर्ड छैन । तर चिनियाँ मिडिया भने रकेट प्रक्षेपण गर्दा पाटपूर्जा पृथ्वीमा प्रवेश गर्ने कुरालाई सामान्यीकरण गर्नतिर लागेको छ ।

आगामी वर्षको मे र अगस्टमा चीनको ल मार्च फाइभबीले अर्को दुईवटा स्पेस स्टेसन मोड्युल्सलाई प्रक्षेपण गर्ने बताइएको छ । अन्य मिसनमा भने चीनले सानो लङ मार्च सेभेन र टु एफ रकेट प्रक्षेपण गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१