close

दूरसञ्चार उपकरण आयात ह्वात्तै बढ्यो, चैतसम्म २६ अर्ब बढीको उपकरण भित्रियो

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १७:३७

दूरसञ्चार उपकरण आयात ह्वात्तै बढ्यो, चैतसम्म २६ अर्ब बढीको उपकरण भित्रियो

काठमाडौं । दूरसञ्चार क्षेत्रमा प्रयोग हुने उपकरण तथा पार्टपूर्जाको आयात उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म २६ अर्ब ५८ करोड रुपैयाँको दूरसञ्चार उपकरण तथा पार्टपूर्जा आयात भएको हो ।

यो अघिल्लो आर्थिक बर्ष २०७६/७७ को चैतको तुलनामा ४८.४ प्रतिशतले बढी हो । उक्त अवधिमा १७ अर्ब ९० करोड रुपैयाँको उपकरण आयात भएको केन्द्रीय बैंकको तथ्यांक छ ।

दूरसञ्चार उपकरणको आयात बढ्दा नेपालमा धेरै भित्रिने वस्तुहरुको सूचीमध्ये यो सातौं स्थानमा रहेको छ । त्यस्तै कुल आयातमा दूरसञ्चार उपकरणको हिस्सा २.४ प्रतिशत देखिएको छ ।

दूरसञ्चार सेवा प्रदायकहरुले पछिल्लो समय सेवा विस्तारलाई तीव्रता दिँदा पनि उपकरण आयात बढेको हो । त्यस्तै देशैभर ब्रोडब्यान्ड विस्तार र सूचना महामार्ग निर्माणको काम समेत जारी रहँदा यससँग सम्बन्धित उपकरण आयात बढेको देखिन्छ ।

सँगै कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनको समयमा समग्र दूरसञ्चार सेवाको खपत बढ्दा क्षमता विस्तारका लागि समेत दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात बढेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४