close

बिजुलीका पोलबाट इन्टरनेटका सामान चोरी गर्ने पक्राउ

टेकपाना टेकपाना

जेठ ४, २०७८ १३:१७

बिजुलीका पोलबाट इन्टरनेटका सामान चोरी गर्ने पक्राउ

काठमाडौं । बिजुलीका पोलहरुमा राखिएका इन्टरनेटका उपकरण चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चितवन प्रहरीले आइतबार माडीबाट दुई जनालाई चोरी आरोपमा पक्राउ गरेको हो ।

गएको शुक्रबार राति १० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं.१६ नवीन चौक र गाबिस चौकमा रहेको बिजुलीको पोलमा जडान गरिएका उपकरण चोरी भएका थिए । इन्टरनेट सेवाप्रदायक प्राइम नेटवर्क प्रालिका ४ थान डिक्स बक्स चोरी भएपछि प्राप्त उजुरीका आधारमा प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट चोरीमा जिल्ला चितवन माडी नगरपालिका २ बस्ने २० वर्षीय काशि चौधरी र २२ वर्षीय श्रीकृष्ण महतोको संलग्नता देखिएको चितवन प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज गिरिले सिसिटिभी फुटेजो आधारमा संलग्नको पहिचान गरिएको बताए । टेकपानासँगको कुराकानीमा उनले भने, ‘उनीहरुले पनि चोरी गरेको आरोप स्वीकार गरिसकेका छन् ।

बिक्री गर्ने नियतका साथ नै उनीहरुले डिक्सबक्स चोरी गरेको जस्तो बुझिन्छ ।’ चितवनमा अघिल्लो लकडाउनदेखि नै इन्टरनेट सेवाप्रदायकका सामानहरुको चोरी बढेको छ । प्राइम नेटवर्क प्रालीका प्रबन्ध निर्देशक शिव सुवेदीले यसबीचमा आफ्ना मात्रै ७० भन्दा बढी डिस्ट्रिब्युसन बक्स चोरी भएको बताए ।

‘‘सम्पत्ती चोरी हुँदा पुग्न जाने क्षति आफ्नो ठाउँमा छँदैछ । त्यसमाथि चोरीका घटना बढेपछि ती बक्सबाट वितरण गरिएका घरमा इन्टरनेट अवरुद्ध भइरहेको हुन्छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१