२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियानमा डा. दोभान राई

काठमाडौं । डा. दोभान राई । एक व्यक्ति, अनेक परिचय । सफ्टवेयर इन्जिनियर, प्रोग्रामर, एआई तथा डेटा साइन्टिस्ट, अनुसन्धानविद्, क्रिएटिभ डिजाइनर, सोसलिस्ट फेमिनिस्ट, नागरिक अभियन्ता, कवि तथा स्तम्भकार । वास्तवमा उनीभित्र विविध क्षेत्रकाे विज्ञता छ ।

बाल्यकालदेखि नै दोभानलाई गणित र भाैतिक विज्ञानमा निकै रुचि थियो । सँगै उनी पेन्टिङ गर्न रूचाउँथिन्, अनि हस्तकला सामग्री (क्राफ्ट) मा पनि अघि सर्थिन् । स्वभावले यी दुई फरक कुरा थिए ।

कक्षा ९ पुगेपछि स्कुलमा प्रोगामिङ पढ्ने अवसर उनलाई जुर्‍यो ।  त्यसमा पनि उनकाे रूचि बढ्याे । अझ प्रोग्रामिङबाट कोडहरु लेखेर नै क्राफ्टहरु पनि कम्प्युटरमै बनाउन सकिन्छ भन्ने थाहा पाएपछि त उनले आफ्नो फरक रुचिका दुवै विषय अर्थात् गणितको लजिक र क्राफ्टको सिर्जनशीलतालाई जोड्ने बाटो पाइन् ।

उनी ल्याबको समय सकिएपछि पनि शिक्षकसँग अनुमति मागेर कम्प्युटर र प्रोग्रामिङमा अतिरिक्त समय खर्चन्थिन् ।

उच्च शिक्षाका लागि पुल्चाेक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना भइन् । इन्जिनियरिङ अध्ययनकै क्रममा दोस्रो जनआन्दोलन भयाे ।

राजनीति र समाजका कुरामा पनि रुचि थियो । तर इन्जिनियरिङलाई चटक्कै छाडेर अन्य क्षेत्रमा प्रवेश गरिहाल्ने अवस्था र दृढता उनमा भएन ।

प्रविधिलाई सधै मसिन र लजिकसँग मात्र जोड्न सिकाइने पुल्चाेक क्याम्पसमा दोभानलाई यस्तै कुराहरु खड्किरहन्थ्यो । तर बच्चा बेलादेखि नै फरक फरक कुराहरुमा रुचि राख्दै आएकी दोभानले यसलाई जोडेर काम गर्न जानेकी थिइन् ।

आफ्नो रुचिका दुई विषयलाई जोड्ने ध्याउन्नमा दोभानले शैक्षिक प्रविधि (एजुकेसन टेक्नोलोजी) को क्षेत्रबारे थाहा पाइन्  ।

४ वर्षसम्म पुल्चोकमा पढ्दा एजुकेसन टेक्नोलोजीबारे उनले थाहा नै पाइनन् । तर जब उनले यो क्षेत्र थाहा पाइन्, तब प्रविधि र शिक्षालाई जोडेर सामाजमा सकरात्मक असर पार्न सकिने बाटो पहिल्याइन् ।

‘स्नातक तहमा पढ्दा प्रविधिलाई अहिले जसरी विविध क्षेत्रसँग जोड्ने चलन नै थिएन । इन्जिनियरिङ भनेपछि कि त नेपाल टेलिकममा काम गर्ने, कि त कुनै बिलिङ सफ्टवेयर बनाउने भन्ने मात्र थाहा थियो,’ दोभान भन्छिन् ।

त्यसबेला उनी डिटुहकाईमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत थिइन् । डिजाइनिङ सिकेर उनले क्रिएटिभ डिजाइनरको रुपमा समेत काम गरिसकेकी थिइन् ।

एजुकेसन टेक्नोलोजीको बारेमा थाहा पाएपछि दोभान अमेरिकास्थित पोलिटेक्निक इन्स्टिच्युटको कम्युटर साइन्स विभागमा विद्यावारिधिका लागि भर्ना भइन् ।

त्यहाँ उनले एजुकेसन टेक्नोलोजी, डेटा, एआई तथा गेम डिजाइनिङमा केन्द्रित रहेर अध्ययन अनुसन्धान गरिन् । एआई र डेटालाई सम्मीश्रण गरेर शिक्षा र विद्यार्थीको मनोविज्ञानलाई  कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमाथि नै उनको अध्ययन केन्द्रित रह्यो ।

‘एजुकेसन टेक्नोलोजी भनेको एकदमै वृहत क्षेत्र हो,’ उनी भन्छिन्, ‘प्रविधिलाई लिएर हामीले शिक्षामा कसरी इन्टरभेन्सन गर्न सक्छौं, त्यस कुरामा यो केन्द्रत छ । यसमा अब एउटा सफ्टवेयर निर्माण गर्नेदेखि धेरै कुराहरु गर्न सकिन्छ । मेरो अध्ययनको विशेष क्षेत्र चाहिँ एआईसँग मिलाएर इन्टेलिजेन्ट ट्युटोरियल गर्नु हो, जसलाई हामी ‘अडाप्टिभ लर्निङ’ पनि भन्छौं ।’

उनी अगाडि भन्छिन्, ‘यसमा एउटा विद्यार्थीको गतिविधि र ढाँचालाई मसिनले अध्ययन गरेर उसलाई सुहाउँदो पद्धतिबाट सिकाउने रेकमेन्डेसन दिन्छ । उसलाई कस्तो समस्याहरु समाधान गर्न दिने, कुन ठाउँमा फोकस गराउने, कुन शैलीबाट सिकाउने, यी सबै कुराहरु हुन्छन् । र यसमा एआईको प्रयोग हुन्छ । यो एकदमै प्रभावकारी सिकाई विधि हो,’ उनी प्रस्ट्याउँछिन् ।

एजुकेसनल गेम डिजाइनिङमा पनि उनले अनुसन्धान गरिन् । विद्यार्थीलाई सिकाई र मनोरञ्जन दुवै प्रदान गरिने हुँदा शैक्षिक सिकाईलाई यसले इङगेजिङ बनाउने उनी बताउँछिन् ।

‘गेम र एआईलाई मिलाएर कसरी इङगेजिङ बनाउने र त्यसैमा सिकाईलाई  विद्यार्थीसँग इन्डिभिजुअलाइज कसरी गर्न सकिन्छ भन्ने विषयमा मेरो एजुकेसनल गेमिङको अनुसन्धान केन्द्रित थियो ।’

विद्यावारिधि अध्ययन गर्ने क्रममा नेपाल फर्किएर उनी शैक्षिक प्रविधिमै काम गर्दै आइरहेको ओले नेपालमा आवद्ध भइन् । तर अमेरिकाबाट फर्किएयता उनले एआई र डेटामा आधारित रहेर काम गर्न पाएकी छैनन् ।

नेपालमा शैक्षिक प्रविधिका कामहरु धेरथोर भइरहेका छन् । तर ती सबै सामान्य इन्टरयाक्टिभ सफ्टवेयरहरुमा केन्द्रित छन् । बच्चाहरुलाई अन्तरक्रिया गरी सिकाउने विधिमा आधारित छन् । 

एआई, डेटा तथा गेमिङ लाई शैक्षिक प्रविधिसँग जोड्ने कुरा नेपालका लागि अहिले पनि धेरै टाढाको विषय रहेको उनी बताउँछिन् । यस्तो एड्भान्स प्रविधिका लागि नेपालमा हालसम्म इकोसिस्टम बनिनसकेको उनको भनाई छ ।

ओलेमा आवद्ध भएपछि दोभानले कन्टेन्ट डिजाइन, विभिन्न शैक्षिक सफ्टवेयर तथा सामुदायिक विद्यालयहरुका लागि पाठ्क्रममा आधारित सफ्टवेयरहरु बनाइन् । तर त्यो उनको अध्ययन र दक्षता भन्दा निकै सामान्य कामहरु थिए ।

‘ओलेमा जोडिएपछि मैले एकदमै सामान्य प्रविधिमा काम गरेँ । चाहेको भए म हाई इण्ड प्रविधिमा पनि काम गर्न सक्थे । तर यहाँ त्यस्तो इकोसिस्टम अहिलेसम्म बनिसकेको छैन । एआई र डेटाका प्रविधि हाई एण्ड भए पनि नेपालमा सामान्य प्रविधिकै पहुँच र प्रभाव धेरै हुने भएको कारण म शैक्षिक प्रविधिको ग्राउण्ड लेभलमै आएर काम गरिरहेकी छु ।

अहिलेका लागि मेरो फोकस भनेको सामान्य नै भए पनि शैक्षिक प्रविधिको आउटरिच विस्तार गरेर इकोसिस्टम निर्माणमा काम गर्नु हो,’ दोभान भन्छिन् ।

ओले नेपालपछि दोभानले एआईमाथि अनुसन्धान गर्ने संस्था नामीमा साइन्टिस्ट तथा एजुकेसन कोअर्डिनेटरको रुपमा काम गरिन् । त्यहाँ रहेर पनि उनले विभिन्न शैक्षिक प्रविधिका कामहरु गरिन् ।

पछिल्लो समय डा. दोभान राई जीस अर्थात् ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लेनरी स्टडिजमा संलग्न छिन् । यहाँ उनी एआई एण्ड इमर्जिङ टेक्नोलोजी फर सस्टेनेबल फ्युचर ग्रुपको कोअर्डिनेट गर्छिन् ।

जसमा एआई र अन्य प्रविधिको प्रयोग गरी समाजका समग्र पक्षको दिगो विकासका लागि के कस्तो कामहरु गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान हुन्छ ।

हाल जीसमा रहेर उनी अध्ययन, अनुसन्धान, शैक्षिक क्रियाकलाप, वेबिनार सिरिजहरु, इन्टरयाक्टिभ मल्टिमिडिया सफ्टवेयर तथा एनिमेसन भिडियो बनाउने कामहरु संलग्न छिन् ।

‘बिजनेस, रोजगारी सृजनालाई प्रविधिसँग जोड्ने काम भयो । तर सामाजिक विज्ञानसँग प्रविधिलाई जोडेर हामीले कहिल्यै परिभाषित गरेनौं,’ दोभान भन्छिन्, ‘यहाँ सामाजिक विज्ञानको मान्छेलाई प्रविधिमा चासो छैन । न त प्रविधिका मान्छेलाई सामाज विज्ञानको चासो छ ।

प्रविधि मात्र प्रविधि र रोजगारी सृजनाका लागि मात्र होइन भनेर बुझाउनु छ । विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ सबै कुरालाई प्रविधिले नै परिभाषित गरिरहेको समयमा हरेक क्षेत्रमा प्रविधि पुर्‍याउनु आवश्यक छ ।’

आफ्नो पहिले देखिकै सपना र उद्देश्य मिल्ने भएकै कारण दोभान जीसमा जोडिन पुगेकी हुन् ।

जीस एउटा रिसर्च इन्स्टिच्युट हो । इमर्जिङ प्रविधि, शिक्षा, युवा नेतृत्व, नीति निर्माण, प्राकृतिक संसाधन तथा वातावरण, क्लाइमेट चेन्ज, प्रकोप व्यवस्थापन, लैङ्गिकता र समानताजस्ता अहिले विश्वमा उठिरहेका सम्पूर्ण मूलभूत मुद्दालाई प्रविधिसँग जोडेर यहाँ अध्ययन अनुसन्धान भइरहेकाे छ ।

‘जीसमार्फत हामी कम्प्रिहेन्सिभ होलिस्टिक तरिकाले लान खोजिरहेका छौं । प्रविधिका लागि प्रविधि मात्रै हाेइन । राेजगारी सिर्जनाका लागि मात्रै पनि हाेइन । समग्र उद्देश्यसँगै अगाडि बढ्नुपर्छ भनेर हामी अगाडी बढिरहेका हौं,’ उनले भनिन् ।

एआई तथा डेटा माइनिङका लागि ठूलो सम्भाव्यता बोकेको शैक्षिक क्षेत्रमा यसको विकासका लागि काम गर्न अहिले दोभान उपयुक्त वातावरणको पर्खाइमा छिन् । कोभिडका कारण केही पूर्वाधार तयार बनेकोमा उनी आशावादी छिन् ।

यसलाई तीव्र गतिमा लग्न नीति निर्माण तहमा लविङ छुट्टै उर्जा र सांगठानिक स्वरुप नभएको कारण नेपालमा ‘एजुकेसनल डेटा माइनिङ ग्रुप’  पनि सुरु गर्ने उनको उद्देश्य छ ।

‘यस्तो बेला म इकोसिस्टमलाई नै हेरिरहेको छु । कहाँ एजुकेसन अप्रोचमा जाने, कता डिस्कोर्स चलाउने र कता प्रोजेक्ट गर्ने भनेर हेरिरहेकी हुन्छु,’ उनी भन्छिन् ।

बरु यो इकोसिस्टम तयारका लागि उपत्यकाबाहिर जस्तो पनि शैक्षिक प्रविधिको परियोजनामा आफू सहयोग गर्न र खटिन हरपल तत्पर रहेको उनी सुनाउँछिन् ।

अमेरिकी विश्वविद्यालयमा एआई र डेटा साइन्समा विद्यावारिधि गरेकी दोभानले नेपालमा अहिले आफ्नो क्षमताअनुसारको काम गरिरहेकी छैनन् । त्यसमाथि प्रविधि क्षेत्रमा महिलामाथि हेपाहा दृष्टिकोण राखिने कुरा नौलो हाेइन ।

जटिल प्रविधिमा काम गर्न नसकेर यस्ता सामान्य प्रविधितिर काम गरेको आरोप उनीमाथि नआएका होइनन् ।

प्रशिक्षण गर्ने र सिकाउनेको तुलनामा अनुसन्धान गरी प्रकाशन गर्ने विज्ञहरूकाे नाम र शान हुन्छ । अन्तर्राष्ट्रिय पहिचान मिल्छ । तर धेरै विषयमा रुचि हुने मानिसहरुको लागि यही नै हो दुविधा ।

अहिले दोभानसँग दुईटा विकल्प छ । एउटा एकदमै प्राविधिक कुरामा जटिल विषयमा अध्ययन अनुसन्धान गरेर नाम र ख्याति कमाउने र अर्को सामान्य प्रविधिमा काम गरी देशका विभिन्न ठाउँमा पहुँच बढाउने ।

जसमा उनकको मुख्य प्राथमिकता र उद्देश्य भनेकै पहुँच विस्तार गर्नु हो । देशमै पहुँच विस्तार भएपछि इकोसिस्टम तयार भएर आफ्नो विज्ञताको क्षेत्र र पर्सनलाइज्ड लर्निङ प्लेटफर्ममा काम गर्न सक्ने उनको विश्वास छ । यसका लागि केन्द्रमा भएका संसाधनयुक्त व्यक्ति र संस्थाहरुले सामूहिक प्रयास गर्नुपर्ने उनी बताउँछिन् । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team