close

कोभिड-१९ सँग लड्न राष्ट्रिय आविष्कार केन्द्र र ब्रिटिश कलेजको संयुक्त अभियान

टेकपाना टेकपाना

जेठ २४, २०७८ १६:१७

कोभिड-१९ सँग लड्न राष्ट्रिय आविष्कार केन्द्र र ब्रिटिश कलेजको संयुक्त अभियान


काठमाडौं । द ब्रिटिश कलेज र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्तरुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्था मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जाशील बनाउन र राहत कार्यलाई अझ सुदृढ पार्न संयुक्त परियोजना अगाडि बढाउने भएका हुन् ।

कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, ‘आविष्कार केन्द्रसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । ब्रिटिश कलेजले लामो समयदेखि यस्ता प्रकारका साझेदारी र सामाजिक कार्य गर्दै आएको छ । हामी विश्वास गर्दछाैं कि कोभिड-१९ विरूद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्नेछ । आउने दिनमा पनि यी प्रकारका साझेदारी र सीएसआर गर्दै जानेछौं ।’

याे अभियानले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ । यो संकटको समयमा आममानिसलाई आवश्यक सेवा प्रदान गरिने बताइएको छ ।

यसका लागि कलेजले आविष्कार केन्द्रलाई अनुदान दिनेछ । यो उद्देश्य प्राप्तिका लागि केन्द्रले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ । यसक्रममा संयुक्त रुपमा कलेज र आविष्कार केन्द्रले कोभिड-१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाउने बताइएको छ ।

कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमका बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेलाई सहयोग पुर्‍याउन सुरक्षात्मक उपकरण विकास गर्ने र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउनेछ ।

वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्न सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पुर्‍याइनेछ । कलेजको इनोभेसन हब र इन्क्युबेशन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्राेजेक्टमा अनुसन्धान हुनेछ ।

आविष्कार केन्द्रका अधिकारीहरूद्वारा निरीक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन् । यसले महामारीका बीच कसरी संकटको सामना गर्ने भनेर सोच विकास गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३