close

एन्ड्रोइडभन्दा किन ढिलो सार्वजनिक हुन्छन् एप्पलका फिचरहरु ?

टेकपाना टेकपाना

जेठ २८, २०७८ १०:५०

एन्ड्रोइडभन्दा किन ढिलो सार्वजनिक हुन्छन् एप्पलका फिचरहरु ?

काठमाडाैं । जब एप्पलले आफ्ना प्रडक्टहरुका लागि नयाँ फिचर सार्वजनिक गर्छ, तब हरेक एन्ड्रोइड प्रयोगकर्ताहरुको एउटै तर्क हुन्छ, यो फिचर त एन्ड्रोइडमा पहिले नै आइसक्यो । आईफोनले सधैं एन्ड्रोइडमा आइसकेका फिचर कपी गर्छ । यस्तै अनेक टिप्पणी हुन थाल्छन् । वास्तवमा एप्पलले आखिर किन आफ्ना फिचर ढिलो सार्वजनिक गर्छ त ?

हरेक वर्षझैँ यस वर्षको जुन ८ मा पनि एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फ्रेन्स भयो । जसमा कम्पनीले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ फिचरहरु सार्वजनिक गर्‍यो । यस वर्ष एप्पलले आफ्ना प्रयोगकर्ताहरुको लागि आईओएस १५, आईप्याड ओएस १५ र म्याकओएस मोन्टेरे लगायतका अन्य थुप्रै फिचरहरु सार्वजनिक गरेको छ ।

यी फिचर आईक्लाउड डिभाइसहरुका लागि नयाँ भनेर सार्वजनिक गरिए पनि धेरैजसो फिचरहरु परिचित थिए । अर्थात् धेरैजसो फिचरहरु एन्ड्रोइड प्रयोगकर्ताले यसअघि नै प्रयोग गर्दै आइरहेका छन् । त्यसैले यो कुनै नयाँ कुरा होइन । हरेक पटक एप्पलका फिचरहरु अन्य ब्रान्डको भन्दा पछि नै आउने गर्छन् र केही फिचरहरु कपी गरेको जस्तो पनि देखिन्छ ।

यद्यपि हरेक पटक आफ्नो फिचर अन्यभन्दा राम्रो र भरपर्दो रहेको दाबी एप्पलको रहन्छ । आईओएस १४ भन्दा आईओएस १५ मा धेरै नयाँ फिचरहरु राखिएका छन् । तीमध्ये एउटा फिचर हो, लाइभ टेक्स्ट । जसमा इमेज रिकग्निसनको सुविधा छ । लाइभ टेक्स्टको प्रयोग गरेर एउटा तस्वीरको भरमा कुनै ठाउँ अथवा अन्य कुनै जानकारी सजिलै पाउन सकिन्छ ।

यसैगरी यही फिचरअन्तर्गत प्रयोगकर्ताले कुनै पनि तस्वीरमा भएका अक्षरलाई टेक्स्टमा रुपान्तरण गर्न सक्छन् । हातले लेखेको होस् वा प्रिन्टेड टेक्स्ट, कुनै पनि तस्वीरमा भएको टेक्स्टलाई लङ प्रेस गरेर (केही बेर दबाएर) कपी गरेर आफ्नो अनुकूलता अनुसार पेस्ट गर्न सकिन्छ ।

स्मरण रहोस्, गुगलले यो फिचर सन् २०१७ मा नै एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि गुगल लेन्स मार्फत बजारमा ल्याइसकेको छ । यद्यपि, लाइभ टेक्स्टमा भएको एउटा नयाँ सुविधा भनेको प्रयोगकर्ताले कुनै पनि तस्वीरमा भएको फोन नम्बरलाई सजिलै लङ प्रेस गरेर सोझै कल गर्न सक्नेछन् । जबकि गुगल लेन्समा भने कुनै पनि टेक्स्ट कपी गरेर पेस्ट गर्नुपर्ने हुन्छ ।

आईओएस १५ को फेस टाइममा स्पेसल अडियो, व्याकग्राउण्ड ब्लर, पोट्रेट मोड, माइक्रोफोन मोड लगायतको फिचरहरु पनि समावेश गरिएका छन् । यससँगै आईओएस १५ मा आएको अर्को फिचर भनेको शेयर प्ले हो । शेयर प्लेको प्रयोग गरेर प्रयोगकर्ताहरुले फेस टाइमको समयमा आफ्नो स्क्रिन शेयर गर्न सक्छन् । हामीले यसभन्दा अगाडि पनि गुगल मिट, जुम लगायतका एपहरुमा स्क्रिन शेयर फिचरको प्रयोग गर्दै आइरहेका छौं ।

तर आईओएस १५ को फेस टाइममा शेयर प्लेमार्फत प्रयोगकर्ताले सँगसँगै मोबाइमा भएका भिडियो हेर्न, गीत सुन्न र कुनै पनि टिभी शोहरु हेर्न सक्नेछन् । त्यसैगरी प्लेब्याक कन्ट्रोलको सहायोगमा फेस टाइममा भएका कुनै पनि व्यक्तिले गीत अथवा भिडियो पज गरेर फेरी प्ले गर्न सक्छन् । त्यसैगरी प्रयोगकर्ताले आफ्नो फेस टाइमको लिंक अरुलाई पनि शेयर गर्न सक्नेछन् । अन्य व्यक्ति उक्त लिंक मार्फत भिडियो कलमा  जोडिन सक्छन् । यसको अर्थ एन्ड्रोइड प्रयोगकर्ताहरुले पनि अब फेस टाइममा जोडिन पाउनेछन् ।

एप्पलले यसपटक अन डिभाइस भोइस रिकग्निसनको व्यवस्था पनि गरेको छ । जुन अफलाइनमा पनि प्रयोग गर्न सकिन्छ । यो सुविधा गुगलले गुगल असिस्टेन्ट मार्फत सन् २०१६ देखि नै दिँदै आएको छ । त्यस्तै, आईओएस १५ मा फोटो मेमोरिज फिचर पनि ल्याइएको छ, जुन दुरुस्तै गुगलको मेमोरिज फिचरसँग मेल खान जान्छ भने यो पटक एप्पलले आफ्नो एप्पल म्यापमा पनि थुप्रै परिवर्तन गरेको छ । जहाँ थ्रीडी मोडेल ल्यान्डमार्कको प्रयोग गरिएको छ ।

सरसर्ती हेर्दा एप्पलले सार्वजनिक गरेका नयाँ भनिएका फिचरहरु कहीँ कतै हामीले हाम्रा एन्ड्रोइड फोनहरुमा प्रयोग गरिसकेका हुन्छौँ । यस्तोमा यो प्रश्न सधैँ आउने गर्छ कि आखिर एप्पलले किन आफ्ना फिचरहरु अरु ब्रान्डभन्दा ढिलो सार्वजनिक गर्छ ? यसको सबैभन्दा सजिलो जवाफ हो, एप्पलको डिभाइस इकोसिस्टम ।

एप्पलका इनोभेसन विशेष गरी उसको डिभाइसको इकोसिस्टममा केन्द्रित हुने गर्दछन् । एप्पलका सबै डिभाइस एक अर्कासँग कनेक्टेड हुन्छन् । यसले एप्पल डिभाइस प्रयोग गर्न सजिलो मात्र बनाउदैन, यसले प्रयोगकर्तालाई एप्पल डिभाइस इकोसिस्टमलाई सजिलै ब्रेक गर्न पनि दिदैन । जस्तै कुनै प्रयोगकर्तालाई एअरपड एकदमै मन पर्छ भने उसले आईफोन बिना त्यो एअरपड प्रयोग गर्न सक्दैन ।

आईफोनसँग एअरपड वा आई मेसेज, म्याकबुकसँगै एअरड्रप । यी सबै एकअर्कासँग जोडिएका छन् । त्यति मात्र होइन, एप्पलका हरेक डिभाइसका फिचर पनि एक अर्कासँग जोडिएका छन् । उदाहरणको लागि आईओएस १५ मा एप्पलले नोटिफिकेसनको लागि एउटा नयाँ फिचर ल्याएको छ, “फोकस मोड” । हुन त अरु एन्ड्रोइड फोनहरुमा पनि नोटिफिकेसनका लागि थुप्रै राम्रा फिचरहरु प्रयोगमा ल्याइएका छन् ।

आईओएस १५ को फोकस मोडमा प्रयोगकर्तालाई प्राप्त हुने नोटिफिकेसनहरु कन्ट्रोल गर्ने सुविधा छ । अब आईफोनमा चार ओटा नयाँ मोडहरु हुनेछन्ः डु नट डिस्टर्ब, पर्सनल, वर्क र स्लिप मोड । यदि प्रयोगकर्ताले आफ्नो फोकोस मोड वर्कमा सेट गरेको छ भने उसले आफ्नो काम सँग सम्बन्धित नोटिफिकेसनहरु मात्र प्राप्त गर्नेछन् । यो फिचर अन्य एन्ड्रोइड फोनहरुमा पनि छ । तर एप्पलको विशेषता भनेको आईफोनमा सेट गरिएको उक्त फिचर अन्य आईक्लाउड डिभाइसहरुमा पनि एक्टिभेट हुनेछ ।

यसको अर्थ यदि प्रयोगकर्ताले आईफोनमा वर्क मोड सेट गरेको छ भने उसले अरु आईक्लाउड डिभाइसहरुमा पनि आफ्नो कामसँग सम्बन्धित नोटिफिकेसन मात्र प्राप्त गर्नेछन् । त्यसैगरी आईमेसेजमा पनि कामसँग सम्बन्धित मेसेजहरु मात्र आउनेछन् ।

एप्पलले यस पटक आईमेसेजलाई एप्पल न्युजसँग जोडेको छ । यदि कसैले प्रयोगकर्तालाई आईमेसेजमा कुनै समाचार वा लेखहरुको लिंक पठाउँछ भने त्यस्तो न्युज एपको फर यू सेक्शनमा हेर्न सकिन्छ । त्यसैगरी आईप्याडमा भएको कुनै पनि फाइल सजिलै म्याकमा ड्रयाग गरेर शेयर गर्न सकिने फिचर पनि एप्पलले यो पटक ल्याएको छ ।

एन्ड्रोइडमा भने यी फिचरहरु देख्न पाइदैन । यसर्थ एप्पलका फिचर ढिला सार्वजनिक भए पनि यसका फिचरहरु आईक्लाउड इकोसिस्टमको लागि एकदमै लाभदायी हुने गर्दछन् । जसले गर्दा एप्पल प्रयोगकर्ताहरुका लागि यी फिचरहरु पखाईको विषय हुने गर्दछन् । 

मरकेज ब्राउन्लीको भिडियोबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१