close

नेटफ्लिक्सको आधिपत्य तोड्न अमेजन सफल होला ?

टेकपाना टेकपाना

असार ७, २०७८ ११:२५

नेटफ्लिक्सको आधिपत्य तोड्न अमेजन सफल होला ?

काठमाडौं । अमेजनले ८.४५ अर्ब डलरमा हलिउड स्टुडियो एमजीएम अधिग्रहण गरेपछि विश्वका ठूला भिडिओ-अन-डिमान्ड कम्पनीहरूबीचको युद्ध चरम सीमामा पुगेको छ ।

६ महिनाको छलफलपछि गत मे २६ मा अमेजनले एमजीएम खरिद गरेको थियो । पछिल्लो समय एमजीएम ठूला आर्थिक कठिनाइका कारण कमजोर बनेको थियो । फलस्वरुप यसको मार्केट भ्यालुसमेत खस्केकाे गयो ।

तर अमेजनले भिडिओ-अन-डिमान्डको बजारमा आक्रामक उपस्थिति जनाउन ८.४५ अर्ब डलर अर्थात् १० खर्ब २० कराेडभन्दा बढी रूपैयाँ खर्चेर एमजीएमकाे स्वामित्व खरिद गर्‍याे । अमेजनले नेटफ्लिक्सलाई चुनौती दिन महत्वाकांक्षी योजनाका साथ एमजीएमकाे बजार मूल्यभन्दा बढी रकम खर्चेकाे थियाे ।

हाल अमेजनको प्राइम भिडिओ सेवामा लगभग २० कराेड प्रयोगकर्ताहरू छन् भने प्रतिस्पर्धी नेटफ्लिक्सका २० कराेड ८० लाख प्रयोगकर्ता छन् । नेटफ्लिक्सकाे सिंहासनमा धावा दिन अमेजनले एकपछि अर्काे कदम चालिरहेकाे छ । यसबाट भिडिओ-अन-डिमान्डको बजार अर्को उचाइमा पुग्ने विश्वास गरिएको छ ।

एमजीएमले ४ हजारभन्दा बढी फिल्म र १७ हजार घण्टाभन्दा बढीकाे टेलिभिजन शाे निर्माण गरिसकेकाे छ ।

साथै अमेजनले प्राइम भिडिओका लागि विशेष शो र फिल्महरू सिर्जना गर्न आफ्नै अमेजन स्टुडियोमा समेत भारी लगानी गरिरहेकाे छ । यो अधिग्रहणपछि डिज्नी र नेटफ्लिक्ससँग ठूलो मात्रामा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६