close

नेपालमा १ खर्ब १८ अर्ब लगानीमा मोबाइल डेटा नेटवर्क बनाउँदै चाइना मोबाइल

टेकपाना टेकपाना

असार ८, २०७८ ९:२९

नेपालमा १ खर्ब १८ अर्ब लगानीमा मोबाइल डेटा नेटवर्क बनाउँदै चाइना मोबाइल

काठमाडौं । चाइना मोबाइलले नेपालमा एक अर्ब अमेरिकी डलर अर्थात करिब एक खर्ब १८ अर्ब २७ करोड रुपैयाँ लगानीमा मोबाइल डेटा नेटवर्क बनाउने भएको छ । युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (अङट्याड) ले सोमबार सार्वजनिक गरेको वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१ मा चाइना मोबाइलको उक्त परियोजना उल्लेख गरिएको हो ।

प्रतिवेदन अनुसार चीनको एकल कम्पनीले नै भारी मात्रामा लगानी नेपाल भित्र्याउन सुरु गरिसकेको उल्लेख छ । तर नेपाल सरकारका सम्बन्धित निकायहरुमा यो लगानीको विषयमा कुनै प्रक्रिया वा छलफल भने अगाडि नबढेको बुझिएको छ ।

उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले लगानीको योजना बनाएर प्रस्ताव ल्याउन बाँकी रहेको हुनसक्ने अनुमान गरे । ‘लगानीको आकारको हिसाबले यो लगानी बोर्ड भएर आउने विषय हो,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘यद्यपी, उद्योग स्थापनाको प्रक्रिया भने यही विभाग भएर अगाडि बढ्नुपर्ने हुन्छ ।

अहिलेसम्म त्यस विषयमा कुनै किसिमको छलफल भएको जानकारी मलाई छैन । सायद यो विषय पाइपलाइनमै हुनसक्छ ।’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत-सीईओ शुशील भट्टले समेत यो लगानीको विषयमा अनविज्ञता प्रकट गरेका छन् ।

अङट्याडको वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१

उद्योग विभाग र लगानी बोर्डबाट स्वीकृतिको प्रक्रिया अगाडि बढेपछि मात्रै त्यो विषय आफूकहाँ आउने नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलले बताए । त्यसो त चाइना मोबाइलले समेत आधिकारिक रुपमा यस विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

यद्यपी सन् २०१७ मा चाइना मोबाइलले प्रकाशन गरेको सस्टिनेबिलिटी रिपोर्ट ‘कनेक्टिङ दि न्यु एरा’मा विश्वलाई कनेक्ट गराउने पूर्वाधार परियोजनालाई कम्पनीले ‘प्रो एक्टिभ’ भएर प्रवर्द्धन गर्ने उल्लेख गरेको थियो । जसमा नेपाल, म्यानमार, पाकिस्तान र कार्जिकिस्तानलाई जोड्ने क्रश बोर्डर अप्टिकल फाइबर केबल जोड्ने विषय समेटिएको छ ।

त्यस्तै ‘बेल्ट एन्ड रोड इनिसियटिभ्स’मा संलग्न देश तथा क्षेत्रमा २९ वटा इन्फरमेसन स्टेसन (इन्टरनेट सर्भिस एक्सेस प्वाइन्ट-पीओपी) स्थापनाका साथै इन्टरनेसनल कम्युनिकेसन एन्ड इन्फरमेसन एक्सचेञ्जमा सहजीकरण गर्ने प्रतिवद्धता जनाइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६