close

तपाईं कतारमा हुनुहन्छ ? डिजिटल ठगीबाट यसरी बच्नुहोस्

टेकपाना टेकपाना

असार ९, २०७८ १५:४९

तपाईं कतारमा हुनुहन्छ ? डिजिटल ठगीबाट यसरी बच्नुहोस्

काठमाडौं । पछिल्लो समय प्रविधिको दुरूपयोग गर्दै ठगी गर्ने क्रम बढेको छ । विभिन्न माध्यममार्फत प्रयोगकर्तालाई ब्ल्याकमेल गरी गाेप्य डेटा संकलनदेखि बैंक खातामा पहुँच पुर्‍याउने गतिविधि बढिरहेकाे छ ।

त्यस्तै टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न वहानामा वैयक्तिक जानकारी संकलन गर्ने घटना पनि बढेकाे छ । प्रविधिमा मानिसकाे झुकाव बढ्दा यस्ता घटनाले प्रश्रय पाएका छन् ।

विश्वका विभिन्न देशमा अनलाइनबाट ठगी हुने घटना भइरहँदा कतारमा रहेका नेपालीहरूले पनि यस्ताे समस्या भाेगेका छन् । पछिल्लाे समय कतारस्थित नेपाली दुतावासमा यस्ता ठगीसम्बन्धी उजुरीहरु पर्ने गरेका छन् ।

हालै दुतावासले त्यस्ता सम्भावित घटनाबाट सुरक्षित रहन हरेक प्रयाेगकर्ताका लागि सचेत गराएकाे छ ।

दुतावासले व्यक्ति स्वयमले एटीएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बरजस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारवाही गर्न नसकिने भनी सम्बन्धित बैंकबाट जानकारी आएको समेत जनाएको छ ।

त्यस्तै कतारको प्रहरी, गृह मन्त्रालयलगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत एटीएम कार्ड, पिन कोड वा ओटीपी कोडलगायत वैयक्तिक विवरण नमाग्ने भन्दै दुतावासले ठगी गिराेहबाट बच्न अनुराेध गरेकाे छ ।

यदि त्यस्ता निकायलाई जानकारी आवश्यक परेको खण्डमा सम्बन्धित निकाय वा कार्यालयमा व्यक्ति स्वयम उपस्थित भई उपलब्ध गराउन आग्रह गरिएको छ ।

यसका साथै दुतावासले निम्न कुरा नगर्न आग्रह गरेको छ :

  • कुनै पनि व्यक्तिलाई आफ्नो बैंकको एटीएम कार्ड, पिन कोड आदिकाे जानकारी नदिने ।
  • कसैले फोन गरेर कतारका विभिन्न निकायको नाम लिई बैंक खाता एटीएम कार्ड वा सम्बन्धित अन्य जानकारी माग गरेमा जानकारी उपलब्ध नगराउने ।
  • यसप्रकारको टेलिफोन प्राप्त भएमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४ ७४४४ वा ६६८१५७५७ मा त्यसको सूचना दिने, साथै सम्बन्धित बैंकलाई समेत जानकारी दिने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६