close

फोरजी र फाइभजीलाई प्रभावकारी बनाउन ९०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी रिफार्म गरिँदै

टेकपाना टेकपाना

असार १६, २०७८ १७:४५

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्ने भएको छ । सेवाप्रदायकलाई ९०० मेगाहर्ज ब्याण्डमा उपलब्ध गराइएको फ्रिक्वेन्सी विभिन्न ब्लकमा रहेकाले त्यसलाई व्यवस्थित गर्ने तयारी प्राधिकरणले गरको हो ।

हाल ९०० मेगहार्ज ब्याण्ड फ्रिक्वेन्सी एनसेल, नेपाल टेलिकम, स्मार्ट टेलिकम, यूटीएल र नेपाल स्याटेलाइट टेलिकमसँग उपलब्ध छ । त्यसमध्ये नेपाल टेलिकम, स्मार्ट टेलिकम र एनसेलले छुट्टा छुट्टै समयमा यो फ्रिक्वेन्सी प्राप्त गरेका छन् । यसरी समय–समयमा फ्रिक्वेन्सी प्राप्त गर्दा फरक-फरक ब्लक बन्न पुगेको छ ।

‘त्यसैले विभिन्न ब्लकमा रहेको फ्रिक्वेन्सीलाई व्यवस्थित गर्न प्राधिकरणले फ्रिक्वेन्सी रिफार्मको तयारी गरिरहेको हो,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भन्छन्, ‘यसका लागि प्राधिकरणले समिति नै गठन गरेर अध्ययन अघि बढाइसकेको छ । त्यतिमात्रै नभएर यो विषयमा सेवाप्रदायकसँग छलफल भइसकेको छ ।’

उक्त छलफलपछि सेवाप्रदायकलाई पत्र पठाएर थपा रायसमेत माग गरिएको स्थापितले उल्लेख गरे । उनका अनुसार सेवाप्रदायकलाई रायका लागि १५ दिनको समय दिइएको छ । अबको केही दिनमा उक्त समयसीमा दिनमा म्याद सकिँदै छ । उनीहरुबाट आएको रायका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

फ्रिक्वेन्सी रिर्फामिङ भएसँगै सेवाप्रदायकले एउटै ब्लकमा फ्रिक्वेन्सी प्राप्त गर्नेछन् । जसले गर्दा प्रदायकलाई फोरजी र फाइभजी प्रविधि विस्तारमा समेत सहयोग पुग्ने स्थापित बताउँछन् । उनका अनुसार रिर्फामिङ गरेसँगै सेवाप्रदायकले ९०० मेगाहर्ज ब्याण्डको अधिकतम फ्रिक्वन्सी सदुपयोग गर्न पाउने छन् । जसले गर्दा हाल उपलब्ध फोरजी सेवाको गुणस्तर विस्तार गर्न र आउँदो फाइभजी प्रविधिमा समेत यसले सहयोग पुग्नेछ ।

हाल ९०० मेगाहर्ज ब्याण्डमा नेपाल टेलिकम र एनसेलले ९.६ मेगाहर्ज प्रयोग गरिरहेका छन् । भने स्मार्ट टेलिकमले ५ मेगाहर्ज प्रयोग गरिरहेको छ । त्यसैगरि यूटिएलले ५ मेगाहर्ज तथा नेपाल स्याटेलाइटले ४.४ मेगाहर्ज प्रयोग गरिरहेको छ । तर, स्मार्ट, नेपाल टेलिकम र एनसेलको फ्रिक्वेन्सी रेन्ज भने फरक-फरक स्थानमा रहेको छ ।

यसअघि प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी पनि रिफार्मिङ गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १५:११