काठमाडौं । रोकिएका स्नातक तहको परीक्षा साउनभित्र सम्पन्न गर्ने गरी त्रिविले समय तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।
वार्षिक परीक्षा प्रणालीअन्तर्गत चार वर्षे र तीन वर्षे स्नातक तह द्वितीय वर्षको मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवम् प्राइभेट परीक्षा वैशाख १३ गतेपछि स्थगित गरिएको थियो ।
परीक्षाको समय आउनै लाग्दासमेत विद्यार्थीले भने अनलाइन माध्यमबाट परीक्षा फारम भर्न समस्या भोगेका छन् । विश्वविद्यालयको वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले यस्तो समस्या भोगेको पाइएको छ ।
इन्टरनेटको सहज पहुँच नहुने, यसकाे प्रयाेगबारे ज्ञानकाे अभाव, बैंक खातामा इन्ट्री गर्न समस्या एवं कतिपय विद्यार्थी आफू अध्ययन गर्ने क्याम्पसबाट धेरै टाढासमेत भएका कारण विद्यार्थीलाई परीक्षामा आबद्ध गराउन समस्या परेको जनाइएको छ ।
भौतिक रूपमा परीक्षा फाराम भर्न समस्या भएपछि त्रिविले स्नातक तहको प्रथम वर्षका विद्यार्थीलाई जेठ ९ गतेदेखि अनलाइनबाट परीक्षा भर्न आह्वान गरेको थियो ।
कतिपय विद्यार्थीले भौतिक रूपमा नै क्याम्पसमा पुगेर परीक्षा फाराम भर्ने र त्यसलाई क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा पठाउने गरेका थिए ।