close

नेपालमै किनेको फोनको समेत देखिँदैन आईएमईआई दर्ता, के त्यस्तो मोबाइल पनि बन्द हुन्छ ?

टेकपाना टेकपाना

असार ३१, २०७८ १५:२३

नेपालमै किनेको फोनको समेत देखिँदैन आईएमईआई दर्ता, के त्यस्तो मोबाइल पनि बन्द हुन्छ ?

काठमाडौं । ललितपुर निवासी राजकुमार नेम्कुलले तीन दिनअघि मात्रै नजिकको मोबाइल पसलबाट साओमीको रेडमी नाइन खरिद गरेका थिए । १ साउनबाट आईएमईआई नम्बर दर्ता नभएका मोबाइल फोनहरू ब्लक गर्ने उद्देश्यका साथ एमडीएमएस कार्यान्वयनमा आउन लागेको खबर सुनेका उनले आफ्नो फोन नेपालमै किनेका कारण दर्ता भइसकेको हुनुपर्ने उनको विश्वास थियो ।

यद्यपि उनले ढुक्क हुने सोचका साथ आफ्नो मोबाइलको आईएमईआई नम्बर नियामकको वेबसाइटमा चेक गर्दा सफ्टवेयरले दर्ता नभएको भनेपछि उनी दुविधामा परे ।

‘भर्खरै किनेको नयाँ फोन भएकाले दर्ता गराउनुपर्दैन होला भन्नेमा म ढुक्क थिएँ, तर दर्ता नै नभएको देखेपछि के गर्ने, कसो गर्ने भयो,’ उनले टेकपानासँगको कुराकानीमा भने, ‘अब मेरो मोबाइल चल्ने हो कि होइन भन्ने दुविधा उत्पन्न भएको छ ।’

उनले आफ्नो परिवारको अन्य सदस्यहरूको मोबाइलको आईएमईआई समेत चेक गर्दा दर्ता भएको देखिएन । ‘हामीले चलाइरहेका सबै मोबाइल नेपालमै किनिएका हुन्,’ उनले भने, ‘तर कुनै पनि मोबाइल दर्ता भएको देखिएन ।’

त्यस्तै, अर्का मोबाइल प्रयोगकर्ता प्रिन्स अर्यालले आफूसँग मोबाइल खरिद गर्दाको भ्याट बिलसमेत रहेको, तर आईएमईआई दर्तामा नदेखिएको बताए । यी त प्रतिनिधि उदाहरण मात्र हन् । यस किसिमको दुविधा नेम्कुल र अर्यालको मात्र नभएर, अन्य थुप्रै प्रयोगकर्तामा समेत रहेको हामीले पाएका छौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने घोषणा गरेसँगै मोबाइलको आईएमईआई दर्ताको विषयलाई लिएर अनेक प्रश्नहरू उब्जिरहेका छन् । कति प्रयोगकर्ताहरूमा नेपालमै किनेको फोन पनि प्राधिकरणको सफ्टवेयरमा दर्ता नदेखिए पछि दुविधा र चिन्ता हुनु स्वभाविक पनि हो ।

यस्तोमा दर्ता नभएको आफ्नो फोन ब्लक हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ । तर एक्कासी आएको यो विषय सोचे जति जटिल भने नभएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले बताए ।

‘पुराना मोबाइलहरू समेत दर्ता नभएको खण्डमा ब्लक हुने भन्ने किसिमको भ्रम धेरै जनामा रहेको पाइन्छ, तर वास्ताविकता त्यसो होइन,” उनले भने, ‘नेपालमै आधिकारिक रुपमा किनेको मोबाइलको हकमा दर्ता नदेखिए पनि केही फरक पर्दैन । किनभने हामीसँग मोबाइल सेवाप्रदायकहरूबाट संकलित डेटा छन्  र ती विस्तारै कम्पाइल हुने क्रममा छन् । यसले गर्दा वैधानिक रुपमा खरिद भएका मोबाइलमा कुनै किसिमको समस्या आउँदैन । नआत्तिएर ढुक्कसँग प्रयोग गरे हुन्छ ।’

यसको अर्थ साउन १ गतेभन्दा अगाडि नेपालका कुनै पनि मोबाइल नम्बर प्रयोग भएका मोबाइल दर्ता गराउनु पर्ने छैन । त्यसैले नेपालमै खरिद गरेका मोबाइल पुनः दर्ता गर्नुपर्ने झन्झट लिइरहनु परेन ।

यद्यपि निर्देशक अर्यालका अनुसार साउन १ गतेपछि भने सम्पूर्ण मोबाइल आयातसम्बन्धी गतिविधिहरू भने प्राधिकरणको नियन्त्रणमा हुने छन् । यसको अर्थ त्यस उपरान्त आयात हुने हरेक मोबाइलको आईएमईआई प्राधिकरणको सिस्टममा दर्ता गराउनुपर्ने छ ।

उनका अनुसार धेरैजसो प्रयोगकर्ताले हाल अवैध तरिकाले आएका मोबाइल नै प्रयोग गरिरहेका हुन सक्छन् । त्यसबाहेक धेरैजसोले वैधानिक रुपमा आयात गर्ने आधिकारिक आयातकर्ताबाटै मोबाइल खरिद गरेका हुनसक्छन् । आजको दिनसम्म जे जस्तो भए पनि अब भने यी सबै गतिविधिहरूमा सरकारको निगरानी र नियन्त्रण हुने अर्यालको भनाइ छ ।

अब सिस्टम आफैंले यस विषयलाई मनिटर गर्ने हुँदा अवैध गतिविधि नहुने निर्देशक अर्यालले बताए ।  त्यस्तै यो नियमलाई व्यवस्थित बनाउनका लागि सम्पूर्ण आधिकारिक बिक्रेता र वितरकसँग सहकार्य गरेर मोबाइल दर्ता गराउने कामलाई तीव्रता दिइने प्राधिकरणले जनाएको छ ।

नियामकले विस्तारै यसका लागि आवश्यक सम्पूर्ण प्राविधिक सिस्टम विकास गरिरहेको छ ।  मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यस क्षेत्रलाई थप व्यवस्थित बनाउने भन्दै प्राधिकरणले यो प्रणाली लागू गर्न लागेको हो । 

याे पनि पढ्नुहाेस् : यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१