close

एन्ड्रोइड र आईफोनमा कुन उत्कृष्ट ? यस्तो छ पछिल्लो सर्वेक्षण

टेकपाना टेकपाना

साउन १०, २०७८ ११:५८

एन्ड्रोइड र आईफोनमा कुन उत्कृष्ट ? यस्तो छ पछिल्लो सर्वेक्षण

काठमाडौं । एक अध्ययनका अनुसार विश्वका मान्छेहरू आईफोनभन्दा एन्ड्रोइड बढी मन पराउँछन् । विश्वभर एन्ड्रोइड फोन र आईफोनको बीचमा ठूलो प्रतिस्पर्धा छ । यद्यपि एक अध्ययनका अनुसार एन्ड्रोइडले मोबाइल फोनको यो दौडमा आईफोनलाई पछि पारेको छ ।

इलेक्ट्रोनिक्स हबले एक सर्वेक्षणमार्फत विश्वभरबाट संकलन गरेको ३५०,००० ट्वीटलाई विश्लेषण गरेर हेर्दा विश्वका मान्छेहरूले एप्पलभन्दा एन्ड्रोइड बढी रुचाएको पाइएको हो ।

एप्पलले आईफोन सार्वजनिक गरेको १० महिनापछि नै गुगलले एन्ड्रोइड सार्वजनिक गरेपछि स्टिभ जब्सले एन्ड्रोइडलाई नष्ट गर्ने बताएका थिए ।

यद्यपि आजको दिनसम्म आइपुग्दा प्रयोगकर्ताको बीचमा एन्ड्रोइड लोकप्रिय बन्न पुगेको छ । हबले सर्वेक्षण गरेको १४२ वटा देशमध्येमा ७४ वटा देशका प्रयोगकर्ताले एन्ड्रोइड मन पराएको पाइयो भने ६५ वटा देशले एप्पल रुचाएका छन् ।

जबकि तीन वटा देश; बेलारुस, फिजी र पेरुबाट भने दुवै ब्राण्डका लागि बराबर जवाफ आएको थियो । एन्ड्रोइड र एप्पल दुवैको उत्पादन भएको राज्य अमेरिका पनि प्रयोगकर्ताले एन्ड्रोइड नै बढी रुचाएका छन् ।

संयुक्त राज्य अमेरिकाका १९ वटा राज्यहरूमा एप्पल रुचाइएको छ भने ३२ वटा राज्यमा एन्ड्रोइडलाई नै रुचाइएको छ । यद्यपि युरोपमा भने एप्पलले नै राज गरेको छ । युरोपका २० वटा देशले आईफोन रुचाएका छन् भने १७ वटा देशले एन्ड्रोइडको पक्षमा नै भोट गरेका छन्, जबकि बेलारुस तटस्थ बसेको छ ।

पश्चिमा युरोपको पाँचवटा ठूला बजारहरूमा तीनवटा; बेलायत, जर्मनी र स्पेन एन्ड्रोइडको पक्षमा छन् भने फ्रान्स र इटाली एप्पलको पक्षमा छन् ।

सेन्ट्रल युरोपका दुई राज्य चेक र स्लोभाकिया भने एप्पलकै पक्षमा उभिएका छन् । अफ्रिकाको कुरा गर्ने हो भने १७ वटा देशले एन्ड्रोइड मन पराएका छन् भने १५ वटा देशले एप्पल नै मन पराएका छन् । यद्यपि अफ्रिका प्रान्तमा विस्तारै चिनियाँ उत्पादन ह्वावेको पनि लोकप्रियता बढ्दै गएको देखिन्छ ।

मिडल इस्ट र सेन्ट्रल एसियामा हेर्ने हो भने आठ वटा देशका प्रयोगकर्ताले एन्ड्रोइड रुचाएका छन् जबकी छ वटा देशका प्रयोगकर्ताले एप्पल नै मन पराएका छन् । एसिया प्यासिफिकमा पनि १३ वटा देशले एन्ड्रोइडलाई मन पराएका छन् भने १२ वटा देशले एप्पललाई नै प्राथमिकता दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५