close

काठमाडौं उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा, परीक्षणमा असफल भए सबै सेवाप्रदायक

टेकपाना टेकपाना

साउन १०, २०७८ १७:४८

काठमाडौं उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा, परीक्षणमा असफल भए सबै सेवाप्रदायक

काठमाडौं । मोबाइल सेवाको गुणस्तर मापदण्ड पुरा गर्न सबै टेलिकम कम्पनी असफल भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षणमा काठमाडौं उपत्यकामै टेलिफोन सेवाप्रदायक कम्पनीहरूले गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको देखिएको छ ।

प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न सेवाप्रदायकको मोबाइल कलको गुणस्तर परीक्षण गरेको थियो ।

काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकीसहित कुल २० स्थान, ललितपुरको टेकु, कुपण्डोल, बालकुमारीसहित ६ स्थान र भक्तपुरको बालकोट, कौशलटार, पेप्सिकोलासहित ४ स्थानका साथै जिल्लाका रिङराेडभित्रका मुख्य तथा सहायक मार्गमा ४० सेकण्डका दरले मोबाइल कलको गुणस्तर परीक्षण भएको थियो ।

सेवाप्रदायकको आफ्नै नेटवर्कभित्र भएको लोकल कल परीक्षणमा सबै कम्पनी तोकिएको मापदण्ड पुरा गर्न असफल भएका हुन् । प्राधिकरणका अनुसार गत चैत महिनादेखि जेठ महिनासम्म नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नेटवर्कको गुणस्तर परीक्षण गरिएको थियो ।

ड्राइभ टेस्ट (यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवाप्रदायकको गुणस्तर मापन एकै साथ गरिन्छ) मार्फत गरिएको साे परीक्षणमा गुणस्तरीय सेवा प्रदान गर्न सबै कम्पनी असफल भएका हुन् ।

हरेक सेवाप्रदायकले कुनै एक स्थानमा उपलब्ध गराएको नेटवर्क (फोरजी, थ्रीजी र टुजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी कलको परीक्षण गरिएको थियो ।

त्यसरी भएको परीक्षणमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीन कम्पनी मापदण्ड पुरा गर्न असफल देखिएका छन् । तर, आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरमा भने सबै सेवाप्रदायक सफल भएका छन् ।

निर्धारित मापदण्डअनुसार कल हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । तर नेपाल टेलिकमको ९.३४ सेकेन्ड रहेको छ । स्मार्टको १०.२७ सेकेन्ड र एनसेलको ५.२७ सेकेन्ड देखिएको छ ।

त्यस्तै फोनकल स्थापना हुने दर ९९ प्रतिशत वा त्योभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९०.५१, स्मार्टको ८४.४७ प्रतिशत, एनसेलको ९४.४३ प्रतिशत रहेको छ ।

तर, आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरमा भने सबै सेवा प्रदायक परीक्षण्मा सफल भएका छन् । प्राधिकरणका अनुसार आफैं फोनकल विच्छेद हुने दर २ प्रतिशत वा त्योभन्दा कम हुनु पर्नेछ ।

उपत्यकामा भएको परीक्षणमा आफै फोनकल विच्छेद हुने दरमा नेपाल टेलिकमको ०.८७, एनसेलको ०.२ र स्मार्टको ०.४५ प्रतिशतमात्रै रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१