close

सिक्सजी प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिका कस्तो होला ?

टेकपाना टेकपाना

साउन १२, २०७८ ११:४२

सिक्सजी प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिका कस्तो होला ?

काठमाडौं । विश्वभरका मोबाइल सेवाप्रदायकहरू फाइभजी सार्वजनिक गर्ने र त्यसको विस्तारमा केन्द्रित हुने होडमा छन् । तीन वटा ठूला सेवाप्रदायकले अमेरिकामा राष्ट्रव्यापी फाइभजी कभरेज उपलब्ध गराइसकेका छन् । छिमेकी देश भारतमा समेत फाइभजी परीक्षण सुरूवात भइसकेकाे छ । नेपालमा पनि फाइभजी नेटवर्ककाे परीक्षण तयारी भइरहेकाे छ ।

फाइभजी ‘कम्प्याटिबल’ स्मार्टफोन एकपछि अर्को गर्दै सस्तो हुँदैछन् । यसरी अर्को पुस्ता (नेक्स्ट जेनेरेसन) को वायरलेस प्रविधि तीव्र रुपमा परिपक्व भइरहेको छ । यस्तोमा अब अर्कोभन्दा अर्को पुस्ताको (नेक्स्ट-नेक्स्ट-जेनेरेसन) वायरलेस प्रविधिको कुरा गरौं । हो, सिक्सजीको कुरा ।

हरेक वायरलेसको पुस्ता अन्त्य करिब एक दशकको अवधिमा हुने गरेको छ । त्यसैले सिक्सजी वास्तविकता हुने कुराका लागि अझ निकै लामो दूरी तय गर्न बाँकी छ । हुनसक्छ, सन् २०२९ सम्म हामीले यसको तैनाथको बारेमा केही संकेत पाउन सक्छौं ।

वायरलेस अनुसन्धानकर्ताले यसको सम्भाव्यताको बारेमा के सोचिरहेका छन्, भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । सिक्सजी विकास भइसकेपछि फाइभजी सँगसँगै नरहन पनि सक्छ ।

यसैबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा याेगदान पुर्‍याउन सक्छ भनेर दूरसञ्चार उद्योगकै पहिलो नमूनाका रुपमा ह्वाइट पेप सार्वजनिक भएकाे छ ।

चिनियाँ प्रविधि कम्पनी ओप्पोले ह्वाइटपेपर सार्वजनिक गर्दै अर्को पुस्ताको दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको हाे ।

सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधामाथि प्रारम्भिक अध्ययनका लागि हाल ओप्पोले प्रि-रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ ।

सिक्सजीले एआईसँग मानव अन्तर्क्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवाप्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने कम्पनीको विश्वास छ ।

ह्वाइट पेपरमा सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुने र तिनले विभिन्न प्रयोग चरणहरुमार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डेटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्ने उल्लेख छ ।

उदाहरणका लागि स्वचालित सवारीहरुमा सिक्सजी सञ्जालहरुले सवारीको अवस्थिति र वातावरण (समय र मोसम)का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्युनिकेशन कनेक्सनको छनोट गर्न सक्नेछन् ।

अन्य सवारी साधन तथा उपकरणका अनुभवको अधारमा सवारीले एआई अल्गोरिदम डाउनलोड गरी उपयोगमा ल्याउन सक्नेछन् । यसले सवारीले यात्रुलाई सर्वाधिक सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कार्यमा सघाउ मिल्ने छ ।

‘प्राविधिक विकास अग्रगामी हुनुपर्दछ । मोबाइल सञ्चार प्रविधि दशक लामो अवधिमा विकसित हुन्छन् र सन् २०३५ देखि व्यवसायिक उपयोगितामा आउने सञ्चार प्रविधिको आउँदो पिढीको मानकीकरण सन् २०२५मा सुरु हुने आशा गरिएको छ,’ ओप्पोका चिफ फाइभजी साइन्टिस्ट हेनरी ट्यांगले सन् २०३५ नियाल्दा बौद्धिक एजेन्ट्सले ठूलो परिमाणमा मानव संख्यालाई पछि पार्ने ओप्पोको अनुमान रहेकाे उल्लेख गरे ।

‘आउँदो पुस्ताको प्रविधि, सिक्सजीले मानव आवश्यकता मात्र नभई हरेक प्रकारका इन्टेलिजेन्स र तिनका विभिन्न अन्तर्क्रियात्मक आवश्यकताको पूर्ति गर्न सक्षम हुनुपर्ने देखिन्छ । यही उद्देश्यका साथ हामीले आफ्ना सुरुवाती प्राविधिक अध्ययन तथा प्रणालीगत डिजाइन अघि बढाएका छौं,’ उनले भने ।

विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि युजर प्लेन (यूपी) गरी दुई आयममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरुपमा उपभोग गर्न सकिने गति तथा ढिलाइजस्ता नेटवर्क पर्फरमेन्सका लागि हुनेछ ।

त्यसैगरी सीपीको सम्बन्ध नेटवर्क कन्फिगरेशनसँग हुनेछ । यसको जिम्मेवारी भनेको चलायमान अवस्थामा विभिन्न अवस्था, अवस्थिति तथा नेटवर्क नोड्स मातहत पनि स्थिर नेटवर्क अपरेसन प्रदान गर्नु हुन्छ । यूपीलाई सहरी ट्राफिकमा तीव्र गतिमा अगाडि बढिरहेको सवरी मान्ने हो भने, सीपीलाई रोड ट्राफिक नियन्त्रकका रुपमा लिन सकिन्छ ।

स्मार्ट उपकरणका विद्यमान, सीमित गणना शक्ति र सञ्चय क्षमताका कारण तिनलाई ठूलो परिमाणका सामान्यीकृत एआई अल्गोरिदममा काम गर्न गाह्रो हुन्छ । फलतः यी उपकरणमा चल्नसक्ने विशेष एआईले अधिकांश प्रयोगकर्ताका ठूला डेटाको माग सम्बोधन गर्न असमर्थ छन् ।

तथापि सिक्सजी सञ्जालमातहत एआई डोमेनले परम्परागत बेस स्टेशन, डेटाबेस, एआई मोडल रिपोजिटरी र एप्लिकेशन सर्भरजस्ता बहुआयामिक भूमिका निभाउन सक्छन् ।

प्रस्तावित नेटवर्कअन्तर्गत सिक्सजी उपकरणलाई एआई डोमेन मातहत उपकरणको अवस्थिति र मागका आधारमा विनियोजन गरिने छ । यसपश्चात उपयुक्त सञ्चार कनेक्सनमार्फत सम्बन्धित कार्य सम्पादनका लागि ती एआई डोमेनले सबैभन्दा उपयुक्त एआई अल्गोरिदम र आवश्यक प्रक्रियाको चयन र छनोट गर्छ ।

फोरजी र फाइभजीभन्दा फरक तवरले उपकरणको महत्वपूर्ण भूमिकाका साथै सिक्सजीमा निर्णय लिने सञ्जाल अर्गानिक तवरमै उपकरण तथा सञ्जालमै एकिकृत गरिएको हुन्छ ।

भविष्यमा विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पुर्‍याउने सोचका साथ ओप्पोले सिक्सजी प्रविधिअन्तर्गत पूर्वअनुसन्धान कार्य जारी राख्ने जनाएकाे छ ।

फाइभजीको लोकप्रियताका लागि प्रमुख योगदानकर्ताका रुपमा ओप्पोले आफ्ना साझेदार संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै ठूलो परिमाणमा फाइभजीको व्यवसायीकरणलाई बढावा दिने कार्यलाई पनि निरन्तरता दिने उल्लेख गरेकाे छ ।

कम्पनीको मूल उद्देश्य सबैलाई फाइदा पुग्ने हेतुले सञ्चार प्रविधिमा क्रान्तिकारी परिर्वतन ल्याउँदै इन्टरनेट अफ एक्स्पिरियन्सको विकासमा अग्रगामी नेतृत्वदायी भूमिका निभाउने रहने जानकारी दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१