close

चिप अभाव २ वर्षसम्म कायम रहने इन्टेल प्रमुखको चेतावनी

टेकपाना टेकपाना

साउन १५, २०७८ १०:१५

चिप अभाव २ वर्षसम्म कायम रहने इन्टेल प्रमुखको चेतावनी

काठमाडौं । पछिल्लो समय विश्व बजारमा सेमिकण्डक्टर चिपको अभाव बढ्दै गएको छ । कोभिड–१९ को पहिलो लहरबाट सुरु भएको लकडाउनसँगै बजारमा चिपको माग भारी मात्रामा बढेको छ ।

वर्क फर्म होमका साथै विभिन्न डिजिटल डिभाइसको बढ्दो प्रयोगले निम्त्याएको चिपको माग धान्न हाल बजारमा उपलब्ध कम्पनीहरू असक्षम भइरहेका छन् । कुनै समय जसरी पेट्रोलियम पदार्थलाई सबैभन्दा बहुमूल्य वस्तुको रुपमा लिइन्थ्यो, त्यसरी नै अहिले सेमिकण्डक्टर चिपको महत्व बढ्दै गएको छ ।

यसैबीच विश्वको ठुलो सेमिकण्डक्टर चिप निर्माता कम्पनी इन्टेलका प्रमुख प्याट ग्लेसिंगरले थप दुई वर्षसम्म चिपको अभाव कायम रहने बताएका छन् । उनले यसको सबैभन्दा ठुलो असर सन् २०२१ को दास्रो अर्धवार्षिकमा देखिने समेत अनुमान गरेका छन् ।

‘सेमिकण्डक्टर चिपमा यस्तो खालको अवस्था सिर्जना हुनुमा कोभिड–१९ को समयमा बढ्दो डिभाइसको उपयोग हो,’ उनले भने, ‘तर त्यो भन्दा पनि अमेरिका र चीनबीच कायम व्यापारिक द्धन्दले पनि यस्तो अवस्था सिर्जना गरेको हो ।’

उनले अमेरिकाले चीनसँगको सम्बन्धलाई विस्तारै सुधार्दै लैजानु पर्ने समेत बताएका छन् । नयाँ कम्पनी स्थापना गरी चिप उत्पादन गर्न थप दुई वर्ष लाग्ने भएकाले अहिलेको अवस्थामा तत्कालै बजारको माग धान्न नसक्ने समेत उनले उल्लेख गरे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१