close

विश्वविद्यालयकै लेटरप्याड दुरुपयोग गरी उपकुलपति मृत्युको झुटो हल्ला, साइबर अपराधको मुद्दा चलाइने

टेकपाना टेकपाना

साउन २४, २०७८ ८:१

विश्वविद्यालयकै लेटरप्याड दुरुपयोग गरी उपकुलपति मृत्युको झुटो हल्ला, साइबर अपराधको मुद्दा चलाइने

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहको मृत्यु भएको झुटो विज्ञप्ति निकाल्ने विरुद्ध साइबर अपराधको मुद्दा चलाइने भएको छ । सामाजिक सञ्जालमा आइतबार एक समूहले विश्वविद्यालयको लेटर प्याड, छाप र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्युको झुटो हल्ला फैलाएका थिए ।

उपकुलपति सिंह विरुद्धको उक्त विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममार्फत प्रसारित गरिएको थियो । विश्वविद्यालयको लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा कार्यरत उपकुलपति प्राडा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।’

विश्वविद्यालयले शनिबार नै विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘उपकुलपतिज्यूको विश्वविद्यालय सुधार योजनाबाट डराई लज्जास्पद, निकृष्ट, कुण्ठित एवम् पराजित मानसिकताद्वारा ग्रसित व्यक्तिहरूबाट भएको उक्त अपमानजनक कार्यको विश्वविद्यालय परिवार घोर भर्त्सना गर्दछ,’ विश्वविद्यालयको तर्फबाट रजिष्टार प्रा. डा नारायणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यमा संलग्न जोसुकैलाई छानविन गरी कानूनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु ।’

यसबाट सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम समेत भएको उपकुलपति सिंहले बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठन विगत लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनरत छन् । त्यसमा प्रध्यापकहरूको समेत समर्थन छ ।

आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएको भए पनि सफल हुन भने सकेको छैन । वार्ता गर्ने भन्दै एक साताअघि उपकुलपति प्रा.डा सिंहको निवास र गाडीमा समेत तोडफोड गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३