close

मान्छे जस्तै रोबोट बनाउँदै एलन मस्क

टेकपाना टेकपाना

भदौ ५, २०७८ २१:१८

मान्छे जस्तै रोबोट बनाउँदै एलन मस्क

काठमाडाैं । विद्युतीय कार निर्माता टेस्लाले मानवीय स्वरुपको रोबोट बनाउने भएको छ । खतरापूर्ण, दोहोरिरहने र बोरिङ कामका लागि यो रोबोट निर्माण गर्न लागिएको टेल्साका संस्थापक एलन मस्कले बताएका छन् ।

‘टेस्ला बोट’ नाम दिइएको उक्त रोबोट मानवीय स्वरुपको हुने उनले जनाएका छन् । साथै यस रोबोटले अर्थव्यवस्थामा गहिरो प्रभाव पार्नसक्ने दाबी मस्कको छ ।

रोबोटलाई शारीरिक काम गराउने/नगराउने विषयमा भने पछि निर्णय लिइने जनाइएकाे छ ।

मस्कले प्रविधिको उपयोग हुँदै गर्दा निकट भविष्यमा धेरै मानिसहरुको रोजगारी गुम्नसक्ने चेतावनी पनि दिएका छन् । जसका कारण मानिसका लागि आय श्रोतको नयाँ विकल्प टड्कारो देखिन्छ ।

यद्यपि अहिले नै यो रोबोटले काम नगर्ने मस्कले जनाएका छन् ।

मानवीय स्वरुपको रोबोट निकै नै आकर्षणको विषय बनेको छ । तर यस्तो रोबोट बनाउनु अति नै कठिन र चुनाैतीपूर्ण कार्य हो । आर्टिफिसियल इन्टेलिजेन्सको द्रुततर विकास भइरहे पनि क्षमताका हिसाबले भने अझै पनि पूर्ण प्रविधिकाे विकास भइसकेको छैन ।

अर्काेतिर रोबोटका धेरै सीमितता छन् । रोबोटिक्स एप्लिकेसनहरुलाई सामान्य वातावरणमा गरिने र आधारभूत कामका लागि अनुमति दिइएको छैन ।

यसअघि टेल्साले थुप्रै सवारीसाधन निर्माण गरिसकेको छ । जसमा स्वतः चल्ने सवारीसाधन (सेल्फ-ड्राइभिङ) पनि छन् । तीनै उत्पादनहरुलाई विस्तार गर्दै रोबोट निर्माणको काम गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीद्वारा निर्मित सवारीसाधनमा जस्तै, रोबोटमा पनि उस्तै कम्प्युटर चिपको प्रयोग गरी ८ क्यामेराहरु चलाइने छ । मस्कका अनुसार, रोबोटको उचाई ५ फिट ८ इन्च, तौल १२५ पाउण्ड र गति ५ माइल प्रतिघण्टा हुनेछ ।

टेल्साले रोबोटलाई एक हातमा पाँच औंला दिएर सुरु गर्ने भनिएको भएपनि परिवर्तन हुनसक्ने सम्भावना छ । टेल्साको परिचय विद्युतीय कार कम्पनी मात्रमा सीमित नराख्नका लागि मानवीय स्वरुपको राेबाेट बनाउन प्रयास गरिएको कम्पनीले जनाएको छ ।

टेस्लाका कर्मचारीहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विशेष प्रस्तुती दिइसकेको र यो विद्युतीय कर र मानवीय स्वरुपको रोबोट विकासका लागि महत्वपूर्ण भएको कम्पनीले जनाएको छ । रोबोटमा डिस्टोपियन साइन्स-फिक्सन चलचित्रमा समेत प्रयोग नभएका फिचरहरु समावेश गरिएको कम्पनीले दावी गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१